19th October | 2018 | Friday | 9:14:58 PM

कृषि विकासमा सूचना प्रविधिको भुमिका

चन्द्रकान्त खनाल   POSTED ON : Saturday, 08 July, 2017 (7:05:07 PM)

कृषि विकासमा सूचना प्रविधिको भुमिका

रुपन्देही । कृषि क्षेत्रको विकासको लागि सूचना तथा  सञ्चारको महत्वपूर्ण भूमिका रहने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । नेपाल सरकार कृषि विकास मन्त्रालय, जलवायु प्रकोप समुत्थान निर्माण परियोजानको आयोजनामा भैरहवामा भएको सरोकारवालावीचको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले स–सानो सूचनाको कारण कृषि तथा पशु क्षेत्रमा किसानहरुलाई राहत मिल्ने भन्दै यसको पहुँच अझ विस्तारमा जोड दिएका हुन् । 

कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले किसानहरुलाई संभावित जोखिम न्यूनीकरणको लागि जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालयले किसान कल सेन्टर, मोवाईल एप्स, कृषि मौसम सल्लाह बुलेटिन प्रकाशन तथा प्रसारण गर्दै आएको भन्दै यसको अधिकतम प्रयोग गर्न किसानलाई आग्रह गरे । उनले भने–‘स–सानो कुराहरु कृषि मौसम सल्लाह बुलेटिनमा आएको हुन्छ, त्यो अनुरुपम किसान अगाडी बढेमा ठूलो क्षति हुनबाट समेत बच्न सकिन्छ ।’

यस्तै कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मत्स्य जोन रुपन्देहीका प्रमुख महबुक अलीले अव किसानहरुले जग्गाको साईज बढाउन भन्दा पनि उत्पादन बढाउनमा बढि ध्यान दिनुपर्ने धारणा राखे । जसको लागि सूचना सञ्चारको अधिकतम प्रयोग गरि किसानको क्षमता अभिवृद्धिको लागि जिल्ला कृषि विकास तथा पशु कार्यालयले लागिपरेको उनको भनाई थियो । कार्यक्रममा जलवायु प्रकोप समुत्थान  निर्माण परियोजना काठमाण्डौका बरिष्ठ पशु चिकित्सक डा. अनन्त कोईराला, कृषि सूचना तथा सञ्चार विज्ञ परामर्स दाता सुरेन्द्र गौतमले परियोजनाको काम, किसानलाई दिने राहत तथा अनुदान फाईदाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै किसानको जिज्ञासको समाधान गरेका थिए । 


Views: 140