21st August | 2018 | Tuesday | 3:27:27 PM

अर्गानिक खोज्दै उपभोक्ता

  POSTED ON : Sunday, 23 July, 2017 (6:20:25 PM)

अर्गानिक खोज्दै उपभोक्ता

हिमालय टाइम्स 

काठमाडौं । लगनखेलका भाइकृष्ण श्रेष्ठ साताको दुईपटक धापाखेलस्थित तरकारी फार्ममा पुग्छन् । त्यहाँ उनी सिजन अनुसारका तरकारी किन्छन् । छ महिनालाई पुग्ने आलु, लसुनप्याजसमेत यो पटक उनले त्यही फार्मबाट किनेर ल्याए । 

गाईवस्तुको मलमात्रै हालेर तरकारी उत्पादन गर्नु यो फार्मको विशेषता हो । बजारमा पाइने तरकारीमा मानव स्वास्थ्यमा असर गर्ने विषादीको प्रयोग धेरै भएको थाहा पाएपछि भाइकृष्ण तरकारी किन्न त्यहाँ जान थालेको तीन वर्ष भयो । उनले भने, ‘यहाँको तरकारी खान थालेपछि फुड प्वाइजनको समस्या भएको छैन ।’ यहाँको उत्पादन धेरै दिनसम्म टिक्ने अनुभव पनि उनको छ । 

भोजपुरबाट १० वर्षअघि उपत्यका भित्रिएका मोजेस मगर अर्गानिक तरकारी उत्पादन गर्छन् । कुनै पनि विषादी र रासायनिक मल प्रयोग नगरी उत्पादन गरेको तरकारीको माग दिन दिनै बढ्दै गएको उनी बताउँछन् । फार्ममै आउने उपभोक्तासँगै पसलहरूले समेत अर्डर दिने गरेका छन् । स्वास्थ्यमा सजग हुने उपभोक्ताहरू अर्गानिक उत्पादनतर्फ आकर्षित हुन थालेका छन् । तरकारीमा मानव स्वास्थ्यलाई असर गर्ने विषादी र तरकारी राम्रो देखाउन अनेक रसायनहरू अत्यधिक प्रयोग हुन थालेपछि त्यसको विकल्पमा उपभोक्ता अर्गानिक तरकारी खोज्न थालेका हुन् 

काठमाडौंको बलम्बुमा खाली जमिन लिजमा लिएर पाँच वर्षदेखि तरकारी उत्पादन गर्दै आएका सतीश कार्की पनि अर्गानिक तरकारी उत्पादक किसान हुन् । धेरै उपभोक्ता कुनै पनि विषादी, औषधि वा रसायन र रासायनिक मल प्रयोग नगरेको तरकारी खोज्दै पुग्छन् । उनले १० रोपनी जग्गामा गोलभेडा खेतीसँगै सिजन अनुसारका तरकारी खेती गर्दै आएका छन् । ‘अब त पसलहरूले समेत औषधि नहालेको भन्दै खोज्न थालेका छन्’ उनले भने । सतिशलाई खुद्रा बेच्नेले समेत औषधि नहालेको तरकारी बेच्न सजिलो हुने अनुभव सुनाएका छन् । उपभोक्ताले खानपिनप्रति केही चासो दिन थालेको सतीशको अनुभव छ । उनी अर्गानिक उत्पादन सजिलै चिन्न सकिने बताउँछन् । स्वादबाट समेत फरक छुट्याउन सकिन्छ । 

अर्गानिक तरकारी उब्जनी गर्न रात दिन नभनी मिहिनेत गरिरहेका अर्का किसान हुन् हरिबोल रिजाल । दक्षिण ललितपुर लेलेबाट १० वर्षअघि चापागाउँ बसाइँ सरेका उनले तरकारी बेचेर मनग्य आम्दानी गरेका छन् । उनी गौरवका साथ भन्छन्, ‘घर बनाएँ, छोराछोरी पढाएँ ।’ उनले पाँच लाख रुपियाँ ऋण लिएर अर्गानिक तरकारी उत्पादनको काम सुरु गरेका थिए । उनी वर्षेनी १० लाख रुपैयाँ बराबरको च्याउ उत्पादन गर्छन् । सिजनका तरकारी, मकै र भटमास पनि उत्पादन गर्छन् । उनी आफ्नो उत्पादन विद्यालय, होटेल, अस्पताल लगायतमा पु¥याउँछन् । कुनै पनि विषादी र रसायन प्रयोग नभएको ताजा तरकारी उनका उत्पादनको विशेषता हो । धेरै उपभोक्ता उनको बारीमै पुग्छन् ।