21st August | 2018 | Tuesday | 3:27:21 PM

कृषिबाटै आत्मनिर्भर बन्दै याङवरक

रमेश भारती   POSTED ON : Sunday, 03 December, 2017 (11:36:28 AM)

कृषिबाटै आत्मनिर्भर बन्दै याङवरक

पाँचथर । पाँचथरको पूर्वी भेगमा पर्ने याङवरक गाउँपालिका कृषिबाटै आत्मनिर्भर बन्दै गएको छ । यो गाउँपालिकामा उत्पादन हुने अदुवा, टमाटर, आलु, काउली, किवी, अलैंची, अम्रिसो, कफी र चियालगायत नगदेवाली उत्पादन गरेर कृषक निर्भर हुँदै गएका छन् ।

 याङवरकका सबै किसानले अहिले मौसमी खेती गर्ने गरेका छन् । याङवरक गाउँपालिका वडा नम्बर ६ का सन्तोष लिम्बु ४ वर्ष ओमनमा काम गरी स्वदेश फर्किएर कृषितर्फ लागेका छन् । उनले  २० रोपनीमा अलैंची र ७ रोपनीमा किवी खेती गरेका छन् । थोरै जग्गा भए पनि विदेशमा जति परिश्रम ग¥यो भने राम्रो कमाइ हुने उनको भनाइ छ । अहिले लिम्बुले अलैंची वार्षिक १ सय ७० केजी र एक हजार केजी किबी उत्पादन गर्ने गरेका छन् तर बजार नपाएर किवी कुहिने गरेको छ । 

सोही गाउँपालिका धनबहादुर भारतीले पनि अदुवा, किवी, अलैंची र आलुखेतीबाट वार्षिक ३ लाखभन्दा बढी कमाउने गरेको बताए । तर पनि उत्पादित बस्तुले उचित मूल्य नपाएको उनको गुनासो छ । उनी भन्छन्, ‘सरकारले बजारको व्यवस्थापन गरिदिए कृषिबाट कमाउन जीविकोपार्जन गर्न सकिन्छ ।’ पाँचथरका याङवरक गाउँपालिका, हिलिहाङ गाउँपालिका फत्लालुङ, गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा अलैंची, अम्रिसो, अदुवा, कफी, चिया, किवीलगायतका नगदेवालीबाट धेरै कृषक अत्मनिर्भर बन्दै गएका छन् । जिल्ला कृषि कार्यालयले खासै सहयोग नगरेको उनीहरूको गुनासो छ । सरकारले वार्षिक कृषिमा धेरै लगानी गरे पनि पनि कृषिमा संलग्न कृषकले सरकारी सुविधा कम नै पाउने गरेका छन् । धेरै वर्ष स्थानीय तह जनप्रतिनिधिविहीन रहेका कारण कृषकका समस्या सुन्ने निकाय नभएको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए । 

उनले भने, ‘अब गाउँपालिकाले नै कृषिमा लगानी गरेर उत्पादित बस्तुको बजार खोज्ने काम गर्नेछ । कृषिलाई ग्रामीण भेगबाट नै व्यवस्थित गर्नुपर्छ ।’ यस्तै, हिलिहाङ गाउँपालिकाका अध्यक्ष भवानी लिम्बुले कृषि पेसालाई व्यवस्थित ग¥यो भने धेरै युवाले कृषि पेसाबाट रोजगारी पाउने बताए । पाँचथरमा नगदेबालीसँगै पशुपालन गर्ने कृषक बढ्दै गएको छ । यहाँका धेरै गाउँपालिकामा गाई, बाख्रा, भेडा, र भैंसी पाल्ने गरिएको छ । यस क्षेत्रमा पछिल्लो समय केरा, लिची र उँखु खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । पाँचथरका ग्रामीण भेगमा अहिले वैदेशिक रोजगारीबाट फर्किएर धेरै युवा कृषि पेसामा लागेका छन् । पाँचथर गोपेटरका छिरिङ शेर्पा  ७ वर्ष साउदी बसेर फर्किएपछि कुखुरा र गाईपालनतिर लागेको बताउँछन् । शेर्पाले अहिले १४ वटा गाई र ५ सयभन्दा बढी कुखुरापालन गरेका छन् । 

पाँचथरको एउटै गाउँपालिकामा कृषिबाट करोडौंको टमाटर, अदुवा, आलुलगायतका बस्तु उत्पादन हुने गरेको छ  तर, कृषकबाट उत्पादन भएका बस्तुले राम्रो बजार नपाउँदा त्यत्तिकै खेर जाने गरेको छ । गत आर्थिक वर्षमा पाँचथरबाट १७ करोडको तरकारी निर्यात भएको कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।