23rd July | 2018 | Monday | 6:20:19 AM

कृषिमा परिवर्तनको खाँचो

नारायणप्रसाद निरौला   POSTED ON : Monday, 02 July, 2018 (1:04:25 PM)

कृषिमा परिवर्तनको खाँचो

शुक्रबार औपचारिक र अनौपचारिकरूपमा देशभर धान दिवस मनाइयो । धान दिवसको अवसरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरको खरिपाटी, रक्षामन्त्री ईश्वर पोखरेल बूढानीलकण्ठ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखामा रोपाइँ कार्यक्रममा सहभागी भए । त्यसैगरी पोखराको पामेमा पर्यटकलाई दही चिउरा खुवाइयो र स्थानीय तथा पर्यटकले संयुक्तरूपमा धान दिवस मनाए । सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन मिडियामा सर्लक्क परेका युवायुवती जो जीवनमा कहिल्यै पनि धान नरोपेकाहरू हिलो खेल्दै रमाइलो गरी असार १५ मनाएका दृश्यहरू देखिए । 

राष्ट्रिय जनगणना २०६८ को आकडामा ७४ प्रतिशत मानिसले कृषि पेशा अँगालेका छन् । यही तथ्यांकलाई आधार मान्दा नेपालमा १ चौथाइ मात्र जनता कृषि पेशाभन्दा बाहिर छन् । तर, विद्यमान अवस्थालाई हेर्ने हो भने गाउँका प्रायः उब्जाउशील जमिन बाँझो रही घना जंगलमा परिणत हुँदैछन् । सरकारले सार्वजनिक गरेको पछिल्लो वनको तथ्यांकमा वनले ढाकेको क्षेत्रफल कुल क्षेत्रफलको ४४.७४ प्रतिशत पुगेको छ । यसको कारण पहाडी क्षेत्रका उब्जाउशील जग्गा वनमा परिणत हुनु नै हो । 

असार १५ का दिन राष्ट्रिय धान तथा कृषि दिवस मनाइरहँदा सात हजार एक सय युवा सन् २०१९ भित्र कृषिलगायत अन्य क्षेत्रमा मजदुरीका लागि दक्षिण कोरिया जाँदैछन् । यो क्रम सन् २००७ देखि यता आजसम्म अनवरतरूपमा जारी छ । प्रत्येक वर्ष यसरी नै युवा पंक्ति कोरियालगायत अन्य देशमा जान्छन् । आफ्नो घर गाउँको जग्गालाई बाँझो राखेर अर्थोपार्जनको लोभमा त्यसतर्फ पलायन हुनु पक्कै पनि उनीहरूको रहर होइन । यतिमात्र नभएर उनीहरूका थुप्रै बाध्यता र अफ्ठ्यारा छन् । आफ्ना पितापुर्खाको थातथलो चटक्क छोडी अर्काको देशमा अरूको अरनखटनमा काम गर्दा हुने पीडाको त कुरै नगरौँ । विदेश पलायनपछि हुने तनाव, घरयासी कुरामा आउने खटपटी र त्यसले निम्त्याउन सक्ने चुनौती बढ्दो क्रममा छन् । यसको जिम्मेवारी रेमिट्यान्स लिने सरकारले व्यहोरेको छैन् । बरु उल्टै सकेसम्म बढी युवा लैजाऊ भनेर अन्य देशसँग पनि अनुरोध गरिरहेका समाचार बेलाबखत सार्वजनिक हुने गरेको पाइन्छ । 

यता देशमा धान दिवस मनाउने भनी शहरका केही युवायुवतीले आफू निकटस्थ राजनीतिक दलका शीर्षस्थ नेताको पछि लागी एकदिने कृषि मेलामा सहभागी भई उत्सव मनाएका छन् । जसले कृषिको अर्थ बुझेका छैनन् तिनले यस्ता उत्सव मनाउनुको कुनै अर्थ हुँदैन । यसरी मेलामा सहभागी हुनेमध्ये केही कृषि पेशामै आबद्ध परिवारका सदस्य पनि छन् तर ती आफ्नै घर जाँदा एउटा सिन्को पनि भाँच्दैनन्, उनीहरू नै नेताका पछि लागेर यो सेलिब्रेसन गरिरहेका छन् भने घरमा बूढा बाआमा काममा खटिरहेका छन् । उनीहरूलाई कृषि महोत्सव, धान दिवस र राष्ट्रिय कृषि पुरस्कारजस्ता कुरा थाहा छैन । कृषि पेशामा निरन्तर आबद्ध हुनेहरूलाई जानकारी नदिई सरकारले मनाउने गरेको राष्ट्रिय धान दिवसले कृषि पेशामा कतिको प्रभाव पार्ला यो समसामयिक प्रश्न हो । विगत २०७० सालदेखि विभिन्न नाराका साथ मनाउँदै आइएको राष्ट्रिय धान दिवसको लेखाजोख गरी उपलब्धिको आँकडा सरकारले राखेकै होला ।  

नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको प्रमुख भूमिका रहेको छ । कुल भू–भागको १७.९७ प्रतिशत भू–भाग कृषियोग्य रहेको छ भने ७४ प्रतिशत जनता कृषि व्यवसायमा आबद्ध छन् । केन्द्रीय विभागले विसं २०१८ सालदेखि कृषि गणना लिने गरेको छ । विभागका अनुसार हाल देशमा  ३८ लाख ३१ हजार कृषक छन्, राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसंख्याको ७४ प्रतिशत जनता कृषिमा निर्भर छन्, त्यसैगरी छैटौं कृषि गणनाले  कृषियोग्य भूमिको क्षेत्रफल ०.४ प्रतिशतले घटेको देखाएको छ । 

यता परम्परागत खेतीले जीविकोपार्जन गर्न नसकेका कारण युवा कृषकले टहरा र टनेल बनाई नगदे खेती गरेका छन् भने बुढापाका कृषकका जग्गा बाँझै बस्न थालेका छन् । गाउँमा युवायुवतीको संख्या न्यून छ । भएका बूढापाका काम गर्न सक्ने अवस्थामा छैनन् । कृषि क्षेत्रको विकासका लागि नेपाल सरकारले सर्वप्रथम १० वर्षे कृषि विकास योजना वि.सं. १९७३ मा लागू गरेको थियो । पहिलो कृषि विकास योजना कार्यान्वयन भएको समयदेखि हालसम्मको समयावधिलाई हिसाब गर्ने हो भने कृषि क्षेत्रको विकासका लागि १०२ वर्ष पार भइसकेको छ । तर, यति लामो समयावधि पार गर्दासमेत कृषि क्षेत्रमा कुनै ठोस परिवर्तन आएको छैन । आज कृषि व्यवसायलाई जसले अँगालेका छन् उनीहरूलाई बिहान बेलुका हातमुख जोर्न धौधौ हुने अवस्था छ । सामान्य जीविकोपार्जनका लागि अन्य कुनै पेशा अँगाल्न उनीहरू बाध्य छन् । 

देशको प्रमुख आयस्रोत मानिने कृषि व्यवसायलाई स्थान र हावापानीअनुकूल बनाई राष्ट्रिय योजनाअनुरूप सञ्चालन गर्न सकिएको छैन । खेती प्रणाली परम्परागतरूपमा सञ्चालन भइरहेको छ । नेपालका कृषियोग्य भूमि विशेषत ः तराईमा छन् । मोरङ झापा, सुनसरी, सर्लाही र सिराह देशका सबैभन्दा बढी खाद्यन्न उत्पादन हुने जिल्ला मानिन्छन् भने सबैभन्दा कम खाद्यन्न उत्पादन हुने जिल्लामा क्रमशः मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला पर्छन् । सबैभन्दा बढी खेती हुने जिल्लामा र सबैभन्दा कम खेती हुने जिल्लाको हावापानी एकै खालको त छैन तर खेती प्रणाली र खेती गरिने खाद्यन्न भने एकै किसिमका छन् । जसले कृषि क्षेत्रमा सरकारले कृषि क्षेत्रको उन्नयनका लागि कतिको ध्यान दिइरहेको छ भन्ने कुरा स्पष्ट हुन्छ । 

विद्यमान अवस्थामा कृषि पेशालाई सकारात्मकरूपमा विकास गर्न सकिएको छैन् । अझसम्म पनि कृषि व्यावसायलाई हेय दृष्टिले नै हेर्ने गरिन्छ । ठूला नेता र सुकिला मुकिलाहरूले वर्षमा एकदिन हिलोमा पसेर नेपालको कृषि व्यवसायलाई सम्मानित र विकासित बनाउने सपना देखी धान दिवस मनाइनु सेलिब्रेसन मात्र हो । यस्ता आदर्शको माध्यमबाट समाजमा सेलिब्रेसनको प्रचारप्रसार हुनुबाहेक अन्य कुनै ठोस परणाम आउनेवाला छैन । 

असार १५ को अवसरमा आफ्ना राजनीतिक अगुवाका अघिपछि लागेर धान दिवस मनाउनेहरू राष्ट्रका महान् सहिदहरूको सपना पूरा गर्न पार्टीमा आबद्ध भएको भनी बेलाबेलामा बताउने गर्छन् । यस्तो बताउनेहरूले आफ्ना पार्टीका सहिदका सपना पूरा गर्नुभन्दा पहिला आफ्ना कृषक पितापूर्खाका सपनालाई पूरा गर्नुपर्छ । अनि मात्र सहिदका सपना पूरा हुनसक्छन् । तसर्थ प्रत्येक पार्टी पदाधिकारीदेखि सदस्यले कम्तीमा वर्षमा १५ दिन कृषि पेशामा आबद्ध हुर्नैपर्ने नियम बनाई कार्यान्वयन गर्नुपर्छ । त्यसैगरि सरकारले कृषकलाई हावापानी अनुकुल बीउविजनको व्यवस्था गरी कार्यान्वयन गर्नुपर्छ । असार १५ मा हिलोमा पसेका पूर्वप्रधानमन्त्री, वहालवाला मन्त्रीले यसबारेमा गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।