18th October | 2018 | Thursday | 1:25:49 PM

छतछतमा तरकारी

विनु लुइँटेल   POSTED ON : Sunday, 12 August, 2018 (6:52:45 PM)

छतछतमा तरकारी

काठमाडौं । बालाजुकी रमा पराजुलीले आफ्नो घरबाट कुहिने फोहोर बाहिर नलगेको एक वर्ष भयो । आफ्नो घरबाट निस्कने फोहोरबाट उनले तरकारी किन्ने पैसामात्र जोगाएकी छैनन् परिवारलाई स्वस्थ तरकारी पनि खुवाएकी छन् । 

काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापन गर्न नसक्दा हप्तौंसम्म सडकपेटीमै फोहोर थुप्रिएको देखिन्छ । आफ्नो घरबाट निस्कने कुहिने फोहोर घरमै व्यवस्थापन गर्ने हो भने आफैँलाई फाइदा हुने रमा बताउँछिन् । एक वर्षअघि १५ दिनसम्म फोहोर लिन नगरपालिकाको गाडी नआएपछि घरको कुहिने फोहोर आफैँ व्यवस्थापन गर्न थालिन् ।  

रमाले फोहोरबाट मल बनाएर घरको छतमा विभिन्न तरकारीहरू फलाएकी छन् । घरको फोहोरमा प्रयोग भएको छ । छतमा सिमी, धनिया, स्कुस, लसुन, काउली, भटमास, प्याज लगायत विभिन्न तरकारीहरू छन् । रमा भन्छिन् ‘हप्तौंसम्म फोहोर लिन नआउँदा अरू सडक पेटीमा फोहोर फाल्न जान्छन् तर म त्यही फोहोरलाई मल बनाउन लाग्छु ।’ उनले कुहिने र नकुहिने फोहोर राख्न चारवटा डस्टबिन राखेकी छन् । दुईवटा डस्टबिनमा मल बनाउन माटो राखिएको छ ।  

माटो राखिएको डस्टबिनमा घरको भन्साकोठाबाट निस्कने सबै प्रकारको कुनै फोहोर मलका लागि माटोमा मिलाउँछिन् । हप्ता–दश दिनमै मल बन्छ । यही मल उनी छलकै तरकारीबारीमा प्रयोग गर्छिन् । जलाउन मिल्ने नकुहिने फोहोर लाई जलाउने र र नमिल्ने जति फोहोरको गाडीमा पठाउने गरेको रमा बताउँछिन् । रमाले भनिन्, ‘मेरो घरको १४ कोठाको कुहिने फोहोर कहिल्यै  बाहिर जाँदैन, सबै मल बनाउन प्रयोग हुन्छ ।’ मल बनाउन थालेपछि हप्तौसम्म फोहोर लिन नआए पनि चिन्ता हुँदैन । राति फोहोर बोकेर सडकतिर धाउन जानु पर्दैन । प्रांगारिक मल भएपछि छतमा फलेको स्वस्थ तरकारी खान पाएको रमा बताउँछिन् ।  

रमाले जस्तै विनिता ढकालले पनि फोहोरबाट फाइदा लिएकी छन् । कौशलटारकी विनिताले आफ्ना दुई सन्तानलाई तरकारी खेतीबाटै पढाइरहेकी छन् । पति रोजगारीका लागि विदेश गएपछि कामको खोजीमा विनिता धेरै भौंतारिइन् । आखिर उनले घर नजिकैको जमिन भाडामा लिएर तरकारी खेती सुरु गरिन् । उनले वरिपरिका घरबाट फोहोर जम्मा गरेर मल बनाइन् र तरकारी खेतीमा प्रयोग गरिन् । उनले बारीमा खाल्डो बनाएर कम्पोस्ट मल बनाउने गरेकी छन् । बिनिता भन्छिन्, ‘जमिन छँदैछ । वरिपरिका घरबाट कुहिने फोहोरबाट मल बनाउने गरेकी छु । मलको प्रयोगले तरकारी खेतीबाट राम्रै फाइदा गरेकी छु ।’ 

अहिले तरकारी बेचेरै मासिक ४० हजारसम्म आम्दानी गर्ने गरेको विनिता बताउँछिन् । विनिताको काम देखेर वरिपरिका धेरैले घरमै मल बनाएर छतमा  तरकारी रोप्न थाले । धेरैले आफ्नो घरको छत, बरन्डा र बगैँचामा तरकारी र फलफुल रोपेका छन् । 

आफ्नो घरवरिपरिको खाली जमिन, घरको छत र खाली बरन्डामा पनि रोजगारीको अवसर लुकेको हुन्छ तर खोज्न सक्नुपर्ने चक्रपथ सरसफाइ अभियानका अभियन्ता हरिहर पौडेल बताउँछन् । सफा र सुन्दर शहर बनाउने जिम्मा सरकारको मात्र नभई हरेक सर्वसाधारणको पनि हो भन्ने सबैले बुझ्न जरुरी रहेको उनी बताउँछन् । 


Views: 16