16th December | 2018 | Sunday | 6:09:49 PM

सहकारीलाई कृषिमा केन्द्रित हुन ऐनले रोकेको भए सम्बोधन गर्न सरकार तयार : प्रधानमन्त्री

हिमालय टाइम्स   POSTED ON : Thursday, 16 August, 2018 (7:13:36 PM)

सहकारीलाई कृषिमा केन्द्रित हुन ऐनले रोकेको भए सम्बोधन गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुलाई आफ्ना गतिबिधी कृषिमा केन्द्रीत गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सहकारी महासंघको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्या निर्भर भएकोले यो क्षेत्रलाई आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने बताए । “सहकारीले कृषिमा आधुनिकीकरणका लागि खेती प्रणालीलाई ठुला–ठुला प्लटमा लैजानु पर्छ ”प्रधानमन्त्री ओलीले भने “कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ । यो कुरा सहकारीको प्राथमिकतामा हुनुपर्दछ । ”

प्रधानमन्त्री ओलीले सहकारीहरु ऋण तथा बचतमा मात्र केन्द्रीत हुुनु नहुने बताए । “सहकारीहरुले उपभोग्य बस्तु, निर्यात जन्य बस्तुको उत्पादनमा जोड दिनु पर्दछ”प्रधानमन्त्री ओलीले भने ।

किसानलाई आधुनिक खेतीतर्फ प्रोत्साहन गर्नका लागि सहकारीले सस्तो व्याजमा ऋण उपलब्ध गराउनु पर्ने र त्यसकालागि सरकारले सहकारीहरुलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “वर्तमान सरकार सहकारी मैत्री छ । सहकारीले भोगेको कानुनी अप्ठ्यारा हलगर्न सरकार तयार छ”  प्रधानमन्त्री ओलीले भने “कुन ऐनले कहाँ कहाँ अफ्ठ्यारो पारेको छ । लेखेर ल्याउनुहोस् । त्यसलाई सम्बोधन गर्न सरकार तयार छ ।”

  सरकारले लागु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई सफल पार्न पनि सहकारीहरुको ठुलो भूमिका हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।  प्रधानमन्त्री ओलीले परियोजना मार्फत १ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई सुपर जोन र ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई जोनको रुपमा विकास गरिएको बताए । प्रधानमन्त्री ओलीले भने “चक्लाबन्दी भएको जग्गालाई भाडामा लिएर एउटै प्लट बनाएर ठुलो मात्रामा खेतीगर्ने काम सहकारीहरुले गर्नुपर्दछ । ”

महासंघका अध्यक्ष केशव वडालले प्रस्तावित सहकारी ऐनमा भएका केही प्रावधानहरु सच्याउन माग गर्दै प्रधानमन्त्री ओलीलाई एक ध्यानाकर्षण पत्र पेश गरेका छन् । 



Views: 45