15th December | 2018 | Saturday | 10:03:03 PM

कृषि विकास र विस्तारमा भारतले सघाउने

लेखनाथ पोखरेल   POSTED ON : Sunday, 19 August, 2018 (7:07:04 PM)

कृषि विकास र विस्तारमा भारतले सघाउने

काठमाडौं । भारतले नेपालको कृषि क्षेत्रको विकास र विस्तारमा सघाउने भएको छ । शनिबार सम्पन्न नेपाल–भारत संयुक्त कृषि कार्य समूहको सातौं बैठकमा भारतीय पक्षले नेपालको कृषि तथा पशुपक्षी क्षेत्र, कृषि अनुसन्धान तथा विकास, प्रांगारिक कृषि प्रवद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीमा सहकार्यलगायत विभिन्न आधा दर्जनभन्दा बढी क्षेत्रमा सहकार्य र सहजीकरण गर्ने सहमति जनाएको हो । 

रासायनिक मल आयात तथा ढुवानी, खाद्य परीक्षण प्रयोगशालाको प्रमाणपत्रको मान्यता, बिरुवाजन्य, पशुजन्य तथा खाद्यवस्तुको क्वारेन्टाइन परीक्षणको लागि नाका थप्ने र भारतीय क्वारेन्टाइन आदेशमा नेपाली कृषि वस्तु समावेश गर्नुका साथै पशुपक्षी विकासका लागि नमुना परियोजना सञ्चालन गर्ने विषयमा पनि सहमति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले हिमालय टाइम्सलाई बताए । 

समूहको दिल्लीमा सम्पन्न छैठौं बैठकमा भएको सहमतिअनुसार भारततर्फ कृषिवस्तु निर्यात गर्न नेपाल भारत सीमामा पर्ने जनकपुरको भिट्टामोड र धनगढीको गौरीफन्टामा क्वारेन्टाइन पोस्ट स्थापना कार्य सुरु भएको भारतीय पक्षले जानकारी दिएकोे उनले बताए । नेपालमा प्रांगारिक खेती प्रवद्र्धनका लागि भारतका तर्फबाट सहयोग गर्न तयार पारिएको विस्तृत खाकामा नेपाल तर्फबाट पेस भएको सुझाव समेटेर भारतीय पक्षबाट अन्तिम रूप दिई छिट्टै नेपाली पक्षलाई उपलब्ध गराउने भएको छ । 

त्यस्तै, नेपालका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको खाद्य स्वच्छता मानक प्राधिकरणबीच प्रयोगशाला परीक्षण प्रतिवेदनलाई मान्यतासम्बन्धी सहमतिपत्रको मस्यौदामा नेपालका तर्फबाट उठाइएको विषयसमेत समावेश गरी मस्यौदालाई अन्तिम रूप दिने पनि सहमति भएको छ । 

नेपालमा तेस्रो मुलुकबाट आयात हुने रासायनिक मलको सुलभ ढुवानीका लागि हाल उपलब्ध रक्सौल नाकाको अतिरिक्त जोगवनी तथा नेपालगन्ज रोड नाकासमेत उपलब्ध गराउन पनि भारत सहमत भएको छ । नेपालका तर्फबाट कृषिमा उच्चस्तरको शिक्षाका लागि वैज्ञानिक र विद्वान् विनिमय कार्यक्रममा भएको प्रस्तावमा भारतले  सहयोग गर्ने  भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्री तथा कृषि मन्त्रीबीच भएको वार्ताको निरन्तरतास्वरूप नेपालले पहिचान गरेको नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय कृषि विज्ञान अनुसन्धान प्रतिष्ठानलाई मान्यताप्राप्त विश्वविद्यालय बनाउने प्रस्तावलाई मूर्तरूप दिन भारतले आगामी अक्टोबर २०१८ भित्रै विज्ञ टोली पठाउने भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिकहरूको क्षमता अभिवृद्धिका साथै आणविक, जैविक प्रविधि,  जलवायु प्रतिरोधी प्रविधिजस्ता अनुसन्धानका लागि भारतीयविज्ञले नेपालका अनुसन्धान केन्द्रमा तालिम प्रदान गर्ने र नेपाली वैज्ञानिकलाई भारतका विश्वविद्यालय र कृषि अनुसन्धान केन्द्रमा पठाउन, खोरेत रोगको खोप र बिउ भाइरसको लागि प्राविधिक सहयोगका लागि रहेको इमर्जेन्सी सेन्टर फर ट्रान्सवाउन्ड्री डिजिज (इसिटिएडी) को कार्य थप प्रभावकारी बनाउने पनि सहमति भएको छ ।

नेपालमा प्रांगारिक खेतीको प्रवद्र्धनका लागि निकट भविष्यमा नै भारतले नेपालका कृषि प्राविधिक तथा व्यवसायीको दुई समूहलाई प्रांगारिक खेतीसम्बन्धी तालिम उपलब्ध गराउने भएको छ भने नेपालमा भारतबाट आयात हुने रासायनिक मलको समयमा उपलब्धता तथा ढुवानीमा रहेका विद्यमान समस्या समाधानका लागि विशाखापट्टनम बन्दरगाहको प्रयोगको सुनिश्चितता तथा मल ढुवानीका लागि रेलवे ¥याक पनि उपलब्ध गराउने भएको छ । रासायनिक मल सुनौली जोगवनी र रुपैडिहा नाकाबाट आयातको व्यवस्था, मल र यसको प्याकेजिङका सामग्रीलगायतका विषयमा लाग्ने गरेको करमा छुटका साथै भारतमा उत्पादित मलखाद नेपाललाई उपलब्ध गराउन भारतीय पक्षले आफ्ना मन्त्रालय तथा विभागमा सहजीकरण गर्ने भएको छ । खाद्य वस्तुको  निरीक्षण, परीक्षण र प्रमाणीकरण प्रणालीमा संयुक्त मान्यता सम्झौतालाई आगामी १५ दिनभित्रमा अन्तिम रूप दिई सम्झौता प्रक्रिया अघि बढाउने सहमति भएको छ । 

नेपाल संघीय प्रणालीमा गइसकेको अवस्थामा संघीय प्रणालीअनुरूप स्थापित कृषि र पशुसँग सम्बन्धित कार्यालयको सुदृढीकरण तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि नेपालले विस्तृत कार्ययोजना भारत सरकारमा पेस गर्ने भएको छ । बैठकले भारतको नयाँदिल्लीमा सम्पन्न भएको छैठौं बैठकको समीक्षासमेत गरेको थियो ।  बैठकमा संयुक्त कार्य समूहको इतिहास तथा विभिन्न समयमा नेपाल तथा भारतका प्रधानमन्त्रीहरूको राजकीय भ्रमणमा भएका कृषि क्षेत्रसँगसम्बन्धित सम्झौता र हस्ताक्षरका विषयमा जानकारी आदानप्रदान गरिएको थियो । बैठकको नेतृत्व नेपालबाट सहसचिव डा योगेन्द्रकुमार कार्की र भारतबाट कृषि एवं किसान कल्याण मन्त्रालयका सहसचिव निराजा अदिदमले गरेका थिए । 


Views: 54