19th December | 2018 | Wednesday | 1:54:53 AM

भर्मीकम्पोस्टिंग तथा कौसी खेती व्यवस्थापन तालिम सम्पन्न

  POSTED ON : Thursday, 29 November, 2018 (5:15:37 PM)

भर्मीकम्पोस्टिंग तथा कौसी खेती व्यवस्थापन तालिम सम्पन्न


हिमालय टाइम्स

काठमाडौं । सेवा नेपालले काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न चार स्थानमा घरेलु फोहोर व्यवस्थापन तथा कौसी खेती सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

गत असोज र कार्तिकमा शंखमुल, सिनामंगल, पुरानो बानेश्वर तथा बालुवाटार गरी चार स्थानमा कुल १२५ जना महिलालाई तालिम प्रदान गरिएको हो । संस्थाकी अध्यक्ष कल्याणी शाहले दैनिक रुपमा घरबाट निस्कने फोहोरको व्यवस्थापन गर्ने उपायका रुपमा भर्मीकम्पोस्टिंग विधिबाट गड्यौले मल उत्पादन गर्ने तालिम प्रदान गरिएको जानकारी दिइन् ।

दैनिकजसो बढ्दो तरकारीको मूल्य र बजारमा ब्याप्त विषादीयुक्त तरकारीका कारण जनस्वास्थ्यमा असर परिरहेको सन्दर्भमा घरका छत तथा खाली जमिनमा तरकारी एवं फलफुल उत्पादन सम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो । काठमाडौं महानगरका सम्बन्धित वडा एवं स्थानीय महिला समुहहरुसँगको संयोजनमा तालिम संचालन गरिएको हो ।

तालिमका दौरान महिलाहरुलाई भर्मी कम्पोस्टिंग गर्न गड्यौला तथा कौसी खेती गर्न आवश्यक विउ–विजन एवं अन्य सामग्री प्रदान गरिएको छ । भर्मीकम्पोस्ट एवं दिगो सहरी सरसफाईका जानकार श्रीराम घिमिरे प्रशिक्षक रहेको तालिममा इ.एम. कम्पोस्टिंग तथा कौसी खेती गर्दा देखिने समस्याहरु तथा चुनौतीबारे प्रशिक्षार्थीहरुलाई ज्ञान प्रदान गरिएको थियो । तालिम पश्चात प्रशिक्षार्थीहरुले घरमा भर्मीकम्पोस्टिंग तथा कम्पोस्टिंग विधिबाट फोहोरको व्यवस्थापन गरि मल उत्पादन गर्ने तथा घरमा खाली जग्गा एवं कौसीको उपयोग गरि तरकारी एवं फलफुल उत्पादन गर्ने अपेक्षा राखिएको आयोजकको भनाइ छ ।

दैनिक रुपमा आवश्यक तरकारी घरमै उत्पादन गर्ने र फोहोरको घरमै व्यवस्थापन गर्दा  स्वस्थ तरकारीको उपभोग बढ्ने र दैनिक खर्चसमेत कम हुन गई महिलाहरुमा स्वस्थ जीवनशैलीको विकास हुनेमा आफू आशावादी रहेको संस्थाकी अध्यक्ष शाहले बताइन् । आगामी दिनमा समाजमा रहेका प्रयोगविहीन सार्वजनिक स्थानहरुको पहिचान गरि त्यस्ता स्थानहरुमा संयुक्त तरकारी एवं फलफुल बगैंचा विकास गर्ने तथा सो क्षेत्रको फोहोर समेत व्यवस्थापन गर्ने खालका कार्यक्रम संचालन गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ ।


Views: 29