18th August | 2019 | Sunday | 2:58:06 AM

मौसम, कृषि र पानी

डा. ऋषि राम शर्मा   POSTED ON : असार १५, २०७६ (१२:१५ PM)

मौसम, कृषि र पानी

यस वर्षको मनसुन १० दिन ढिलो गरी यही आसार ५ गते नेपाल प्रवेश गरेको छ । नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुन्छ । समान्यतयाः मनसुन अवधि जुन १० देखि २३ सेप्टेम्वर बीचको १०५ दिन हो । नेपालमा पूर्वीय वायु सक्रिय भएसँगै मनसुन प्रवेशको परिस्थिति सृजना हुन्छ र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त बादलले पार्ने वर्षासँगै मनसुन प्रवेश भएको मानिन्छ । 

मनसुन अवधिमा समेत हरेक दिन वर्षा हुने होइन । मनसुन सक्रिय रहँदा नेपालमा वर्षा हुने र निस्क्रिय हुँदा खडेरी पर्ने अवस्था हुन्छ । आकासे पानीको भरमा हुने खेतीलाई यस्तो विषम मौसमी अवस्थाले नकारात्मक असर पार्छ । मनसुनमा कहिलेकाहीँ केही दिनसम्म वायुको न्यूनचापीय अवस्थाको सृजना हुन गएमा बंगालको खाडी लगायत अरेबियन सागरबाट समेत जलवाष्पयुक्त बादलका कारण नेपालमा अत्यधिक वर्षा हुने गर्छ । केही वर्षयताका मौसम तथ्यांक अध्ययन गर्दा नेपालमा अत्यधिक वर्षा हुने दिनहरूमा वृद्धि भएको पाइन्छ । तापक्रम वृद्धि भएसँगै वायुमण्डलमा संग्रह भएको अत्यधिक तापशक्तिका कारण यस्तो विषम मौसमी अवस्था हुने विश्वास गरिएको छ । 

चौबीस घण्टामा आधा मिटरभन्दा बढी मात्रामा वर्षा हुने दिनहरू अब सामान्य जस्तै हुन थालेका छन् । जसको परिणाम बाढी, डुबानका घटनाहरूमा पनि वृद्धि भएका छन् । नदी–खोलाबाट पानी सहज निकास नहुन पनि बाढी र डुबान हुने गरेको छ । 

अर्कोतर्फ मनसुन बाहेकका बाँकी आठ महिना न्यून वर्षाका कारण पानीको अभाव हुने गरेको छ । वार्षिकरूपमा नेपालमा सरदरमा हुने १.५ मिटर जति वर्षाले करिब २०० अर्ब घनमिटर पानी नेपालले प्राप्त गर्छ जसको ठूलो हिस्सा नदी खोलाहरू हुँदै बाढीको रूपमा नेपालबाट बाहिरिन्छ र हिउँदमा पानीको अभाव हुन्छ । उपयुक्त विधिबाट नेपालमा परेको पानी यहीँको माटोमा संग्रह गर्नसके पानीको अभाव टार्न सकिने देखिन्छ । साना–ठूला जलाशयलगायत ताल–पोखरीको निर्माणसँगै नदी खोल्साहरूमा चेकड्याम निर्माण र हरियाली वृद्धिबाट जलाधार संरक्षण गर्न सकिएमा हिउँदमा पानीको अभाव कम गर्न सकिन्छ । यसबाट भूमिगत जल भण्डारणमा समेत सकारात्मक प्रभाव पर्न गई भूमिगत जलस्रोतको प्रचुर उपयोग गर्न सकिने हुन्छ । 

नेपालमा मनसुनी वर्षा र धान उत्पादनमा सिधा सम्बन्ध छ । सन्तुलित वर्षा हुने वर्षहरूमा धानको उत्पादन बढ्ने गरेको छ । हाम्रो कृषि अर्थतन्त्रलाई मनसुनी वर्षाले प्रत्यक्ष असर पारेको छ । दक्षिण एशियाली मौसम वैज्ञानिकहरूले गरेको एक आकलनअनुसार यस वर्ष नेपालको पूर्वी र मध्यक्षेत्रमा (प्रदेश १, २ र ३ मा) सरदरभन्दा न्यून वर्षा हुने र बाँकी प्रदेशहरूमा सरदर वर्षा हुनसक्ने देखिएको छ । यसको अर्थ वर्षामा निर्भर रहने धान उत्पादनमा नकारात्मक असर पर्न सक्नेछ ।  

हाम्रा सिँचाइ प्रणालीहरु वर्षभरि नै सिँचाइ पु¥याउन सकिने खालका छैनन् । सिँचाइ प्रणालीको संरचना निर्माण गर्दा कृषिका लागि कमाण्ड क्षेत्रमा के कस्तो बाली प्रणाली अवलम्बन गर्दा के कति पानीको आवश्यकता पर्ने हो सोही बमोजिम नहर–कुलो बनाउनु पर्छ । जलवायु परिवर्तनका कारण मौसमी प्रणाली पनि अस्थिर र अविश्वनीय हुँदै गएको छ । तसर्थ, पानीको सदुपयोका लागि योजनाबद्धरूपमा काम गर्नुपर्छ । 

पानीको आवश्यकता पर्ने क्षेत्रहरू जस्तैः कृषि, खानेपानी, जलविद्युत, घरायसी उपयोग, उद्योग कलकारखाना, धार्मिक र साँस्कृतिक महŒवका नदी तालहरूमा हुनुपर्ने पानी, जलचर, पर्यटन, राफ्टिङ, जल यातायात, वन्यजन्तु तथा समग्र पर्यावरण र परिस्थितिक प्रणालीको प्राथमिकताका आधारमा पानीको सदुपयोग गर्नुपर्ने भएको छ । संघीय संरचनाअनुसार प्राकृतिक स्रोतहरूमा तीनवटै तहका सरकारहरूको संलग्नता हुने गरी द्वन्द्वरहित तवरले पानीको उपयोगमा पनि वैज्ञानिक योजना आवश्यक छ ।

(शर्मा जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव हुन्)


Views: 47