7th December | 2019 | Saturday | 7:14:10 PM

इलामभन्दा झापामा आठ गुणा बढी चिया उत्पादन

किरण पौड्याल   POSTED ON : श्रावण ६, २०७६ (४:३९ PM)

इलामभन्दा झापामा आठ गुणा बढी चिया उत्पादन

 इलाम । चियाका लागि प्रख्यात जिल्ला कुन हो ? उत्तर हुन्छ, इलाम । फेरि प्रश्न आउन सक्छ, नेपालमा सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला कुन हो ? धेरैलाई लाग्न सक्छ, इलाम हो ।

  पछिल्लो एक तथ्याङ्कअनुसार इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन हुने गरेको छ । इलाममा एक हजार ८८१ हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेकोमा झापामा छ हजार ५३४ दशमलव दुई हेक्टरमा चिया खेती हुने गरेको पाइएको छ ।

  केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणअनुसार इलाममा एक करोड ५९ लाख ७० हजार ६७२ दशमलव आठ किलोग्राम हरियोपत्ती उत्पादन हुने गरेको र झापामा आठ करोड २५ लाख १७ हजार ४१५ दशमलव छ किलोग्राम हरियो चियापत्ति उत्पादन हुने गरेको छ । 

     केन्द्रीय तथ्याङ्क विभागले ०७४र०७५ मा गरेको सर्वेक्षणमा चिया खेती गर्ने व्यवासायी भने इलाममा बढी देखिएका छन् । इलाममा पाँच हजार ५९८ चिया खेती गर्ने व्यवसायी भएकोमा झापामा भने एक हजार ६०१ चिया व्यवसायी रहेको देखिएको छ । 

यस्तै, उत्पादन दिने चियाको विरुवाको पनि झापामै बढी भएको तथ्याङ्कले देखाएको छ । झापामा छ करोड ३५ लाख ४८ हजार ५७४ उत्पादन दिने चियाको विरुवा भएकोमा इलाममा चार करोड पाँच लाख ८१ हजार ३१८ उत्पादन दिने विरुवा रहेको पाइएको छ । 

सरकारले पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरेको भएपनि अन्य जिल्लामा भने चिया उत्पादन कम मात्र हुने गरेको देखिएको  छ । सरकारले घोषणा गरेका जिल्लामध्ये धनकुटामा तीन लाख आठ हजार ९२६ दशमलव पाँच किलोग्राम, तेह्रथमुमा एक लाख ५० हजार ७४२ दशमलव छ किलोग्राम, पाँचथरमा सात लाख ६४ हजार ५५५ दशमलव आठ किलोग्राम हरियो चियापत्ति उत्पादन हुने गरेको तथ्याङ्कले देखाएको छ । 

    देशका १४ जिल्लामा अहिले चिया खेती हुने गरेको छ । कुनैबेला सीमित र कम जिल्लामा मात्र चिया खेती हुने गरेको भएपनि विस्तारै अन्य क्षेत्रमा खेती गर्ने क्रम बढेको देखिएको छ । चिया खेती सुरु भएको डेढ सय वर्षभन्दा बढी भएपनि यसले व्यवासायिक रूप लिएको भने खासै बढी समय भएको छैन । सरकारले २०३९ सालमा पूर्वका पाँच जिल्लालाई चिया क्षेत्र घोषणा गरेपछि नेपालमा चिया खेतीले व्यावसायिक रूप लिएको हो । सर्वेक्षणअनुसार नेपालमा नौ हजार दुई सय ३६ व्यावसायिक चिया खेती हुने बगान रहेकामा २९ दशमलव नौ प्रतिशत मात्र प्राङ्गारिक चिया खेती हुने बगान रहेको पाइएको छ ।


चिया खेतीमा अधिकांश पुरुष

नेपालमा हालसम्मको तथ्याङ्क हेर्दा चियाका व्यवसायीमध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत मात्र महिला रहेको देखिएको छ । सर्वेक्षणअनुसार नेपालमा सबैभन्दा बढी चिया सिटिसी चिया उद्योगबाट उत्पादित हुने गरेको पाइएको छ । 


नेपालमा १६ हजार ३६ मेट्रिक टन चिया सिटिसि उत्पादन हुने गरेको छ भने अर्थोडक्स दुई हजार छ सय ७० मेट्रिक टन, दुई सय २० मेट्रिक टन ग्रीन टी र स्पेसियल टी ३२ मेट्रिक टन तयारी चिया उत्पादन हुने गरेको छ । रासस


Views: 80

सम्बन्धित सामग्री:

मुस्ताङको स्याउ खेती

: मंसिर २०, २०७६ (४:०८ PM)

पहेँलपुर कुपिन्टार

: मंसिर १०, २०७६ (६:०९ PM)