Date:2017/10/17 |Tuesday

इन्धनमा प्राविधिक नोक्सानीको क्षतिपूर्ति माग

Posted on: August 10, 2017 | views: 49 |

हिमालय टाइम्स

काठमाडौं । इन्धनमा प्राविधिक लसको क्षतिपूर्ति माग गर्दै पेट्रोलियम व्यवसायीले आन्दोलनको घोषणा गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि पेट्रोलियम पदार्थ डिपोबाट खरिद नगर्ने सरकारले माग पूरा नगरे २९ गते पेट्रोल र डिजेल दुवै खरिद नगर्ने जनाएको छ । 

आन्दोलनलाई सरकारले बेवास्ता गरे साउन ३१ गते कुनै पनि पम्पबाट पेट्रोलियम पदार्थ बिक्रीवितरण नगर्ने जनाएको छ । एसोसिएसनले यसअघि पनि आन्दोलन घोषणा गरेको नेपाल आयल निमगले असार मसान्तभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि आन्दोलन फिर्ता लिएको थियो । व्यवसायीले ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ८५ लिटर प्राविधिक क्षति हुने भन्दै क्षतिको भरपाई निगमले गर्नुपर्ने माग गर्दै आएका छन् । 

हाल निगमले ४ हजार लिटरमा ३५ लिटर क्षतिपूर्ति दिँदै आएको छ । यस्तै डिजेल ४ हजार लिटर ढुवानी गर्दा ६० लिटर क्षतिपूर्ति दिनुपर्ने माग गरेका छ । निगमले करिब २४ लिटर क्षतिपूर्ति दिँदै आएको छ । अत्यावश्यक वस्तु तथा सेवामा अन्दोलन गर्न नपाइने कानुनी व्यवस्था भएपनि व्यवसायीले कानुनी व्यवस्थालाई चुनौती दिँदै आएका छन् । अत्यावश्यक वस्तु तथा सेवा ऐन २०१७ अनुसार अत्यावश्यक वस्तुको बिक्री वितरणमा रोक लगाए दण्ड सजायको व्यवस्था गरिएको छ ।

व्यवसायीका मागप्रति राज्यले गम्भीरतापूर्वक लिइरहेका बेला विरोधका कार्यक्रम सार्वजनिक गरेर उपभोक्तालाई प्रत्यक्ष असर पार्ने काम भइरहेको उपभोक्ताअधिकारकर्मीले आरोप लगाएका छन् । तर एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले भने इन्धन ढुवानी गर्दा हुने प्राविधिक नोक्सान बढ्दै गएकाले सोहीअनुसारको क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि हालसम्म माग सम्बोधन नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको दाबी गरेका छन् । 

निगम, गुणस्तर तथा नापतौल विभाग र व्यवसायीको संयुक्त अनुगमनले इन्धन परीक्षणबाट चार हजार किलोलिटर पेट्रोलमा ९९ लिटर र चार हजार लिटर डिजेलमा ६० लिटर कम इन्धन देखिएकाले पनि व्यवसायीले सोही अनुसारको नोक्सान पाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘कि व्यवसायीका माग जायज छैनन् भनेर पुष्टि गर्नुप¥यो, नत्र सोहीअनुसारको क्षतिपूर्ति दिनुप¥यो ।’ निगम प्रवक्ता सीताराम पोखरेलले भने आपूर्ति मन्त्रालय, व्यवसायीबीच बिहीबार छलफल गरेर जायज माग पूरा गरिने बताएका छन् । 

निगमका निर्देशक दीपक बरालको संयोजकत्वमा गठित छानविन समितिले इन्धनमा हुने प्राविधिक नोक्सान विश्लेषण सुझाव समितिले सोमबार प्रतिवेदन बुझाइसकेको छ ।

 इन्धनमा हड्ताल नगर्न आग्रह

आपूर्तिमन्त्री शिवकुमार मण्डलले इन्धनको कारोबार बन्द हड्ताल नगर्न आग्रह गरेका छन् । निगम, डिलर र ढुवानी व्यवसायी जनतालाई सहज इन्धन आपूर्ति गर्न सचेत हुनुपर्ने भन्दै उनले तत्काल बन्द हड्ताल नगर्न  पेट्रोलियम व्यवसायीलाइ आग्रह गरेका हुन् । उनले बुधबार निगमको पूर्वाञ्चल डिपो अनुगमन गरेका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं