Date:2017/12/14 |Thursday

स्वदेशमा रोजगारी पाए किन विदेशिने ?

Posted on: August 12, 2017 | views: 91 | रमेश भारती

काठमाडौं । पाल्पाकी सम्झना केसीले शंकरदेव क्यापसबाट एक वर्षअघि नै एमबिएस सकेर अहिले योग्यताअनुसारको नोकरीको खोजीमा छिन् । केसी अहिले रोजगारीको खोजीमा राजधानीका जब सेन्टरदेखि पत्रपत्रिका खुलाइएका आवश्यकताका विज्ञापन हेरेर निवेदन दिने गरेकी छिन् तर पनि हालसम्म सामान्य नोकरीसमेत पाउन सकेकी छैनन् । उनी भन्छिन्, ‘स्वदेशमै आफूलाई सुहाउने काम पाए, रोजगारीकै लागि विदेश जाने रहर छैन । यदि नेपालमा रोजगारी नपाए विकल्पमा वैदेशिक रोजगारीमा जाने योजना बनाएको छु ।’ यो रोजगारी मेलामा आएर रोजगारीका बारेमा धेरै राम्रा सन्देश पाएको उनले बताइन् । 

चितवनका संगम गौतमले पनि विज्ञान विषयबाट एमएससी सकेका छन् । उनी पनि अहिले योग्यताअनुसारको नोकरी पाइन्छ कि भनेर ‘जब एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) मा लागि आएको बताए । उनले भने, ‘राज्यले मेरो योग्यताअनुसारको काम नेपालमै दिए वैदेशिक रोेजगारीमा जाने इच्छा छैन, स्वेदशमै रोजगारी पाए किन विदेश जानु र ? । सरकारले स्वरोजगारीका अवसर जुटाइदिए स्वदेशमै सेवा गर्ने योजना छ ।’ यस्तै नेपाल इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियर सकेर रोजगारीको खोजीमा रहेका भुवन श्रेष्ठको पनि विदेशभन्दा स्वदेशमै सेवा सोच रहेको छ । प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा रोजगार मेलामा आएका अधिकांश युवाको चाहना नेपालमै काम गर्ने रहेको छ । राज्यले योग्यता र क्षमताअनुुसारको रोजगारीको अवसर र बाटो निर्माण गरिदिए विदेशमा पसिना बगाउने रहर नभएको उनीहरूले बताएका छन् । 

सरकारले स्वदेशमै रोजगारीका अवसर निर्माण गर्ने काम गरिरहेको मेलाको उद्घाटन गदै श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताए । उनले भने, ‘श्रम मन्त्रालयले वार्षिकरूपमै २ लाखभन्दा बढी युवालाई रोजगारी दिने योजनासाथ काम गरिरहेको छ । नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले अब रोजगारी र आर्थिक उन्नतितिर राज्य लागिपरेको छ ।’ श्रम मन्त्रालयले आगामी पाँचभित्र वैदेशिक रोजगारको विकल्प खोज्ने उनले बताए । तर तत्काल वैदेशिक रोजगारको विकल्प नरहेको उनको भनाइ थियो । आफूहरूले स्वदेशमै रोजगारी खोजिरहेका शिक्षित युवालाई एउटै छातमुनिबाट रोजगारदाता कम्पनी र व्यक्तिसँग जोड्ने प्रयासमात्र गरेको जब एण्ड करिअर फेयर’ मेलाका संयोजक शंकर भट्टराईले बताए । उनले भने– अध्ययन सकेर रोजगारीको खोजीमा रहेका र अवसर नपाएका धेरै युवालाई रोजगारी बाटोमात्र देखाउने काम गरेका छौं । मेलाबाट धेरै शिक्षित युवाले रोजगारी पाउने विश्वास लिएका छौं ।

मेलामा राखिएका स्टलमा व्यवस्थापन, विज्ञान संकाय र इन्जिनियरिङ गरेका व्यक्तिलाई विशेष प्रथामिकतामा राखिएको छ । मेलामा रोजगारीको खोजीमा अधिकांश व्यवस्थापन र विज्ञान संकायका विद्यार्थी आएको आयोजक समितिका सदस्य उत्सव वनले बताए । मेलामा रोजगारीको खोजीका आएका युवाले कम्पनीमा रोजगारीका लागि निवेदन दिन्छन् र कम्पनीले योग्यलाई छनोट गरेर रोजगारी दिने व्यवस्था गरिएको छ । मेलामा नेपालका १८ र भारतका ३० कम्पनीले सिधै रोजगारीको अवसर दिने गरी ४० वटा स्टल राखेका छन् । कम्पनीले आफूलाई आवश्यक जनशक्ति छनोट गर्ने आयोजकले जनाएको छ । 

मेलामा नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोम र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी तथा रिलायन्स होटलका स्टल रहेका छन् । मेलामा युवाले व्यक्तिगत विवरण कम्पनीलाई बुझाउने र कम्पनीले मेलाबाटै अन्तर्वार्ता लिएर योग्य कर्मचारी छनौट गर्ने गरेको छ । क्रियटिभ कन्सर्नको आयोजनामा फेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपालमा रोजगारीसम्बन्धी पहिलोपटक यस्तो मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । मेला सुरु भएकै दिन ५ हजारभन्दा बढीले अवलोकन गरेको बताइएको छ । शनिबारसम्म चल्ने मेलामा २० हजारले अवलोकन गर्ने अयोजकको अनुमान छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं