Date:2017/09/19 |Tuesday

फ्री भिसा, फ्री टिकटको छानविन हुँदै

Posted on: September 02, 2017 | views: 57 | रमेश भारती

काठमाडौं । सरकारले म्यानपावर कम्पनीले बुझाएको फ्री भिसा र फ्री टिकट (शून्यदर) को विवरणको छानविन गर्ने भएको छ । पछिल्लो समय म्यानपावर व्यवसायीले कर छली गरेको विषयमा अख्तियार दुररुपयोग अनुसन्धान आयोगले चासो देखाएपछि विभागले छानविनको तयारी गरेको हो । 

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेका अनुसार शून्यदरको विवरण बुझाएका सबै म्यानपावर कम्पनीको विवरण छानविन हुनेछ । केही म्यानपावरमा छानविन भइरहेको उनले बताए । पाण्डेले भने, ‘राज्यका आँखामा सबै व्यवसायी समान हुन्छन् । हामीले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउन छानविन गरेको हौं ।’ छानविन गरेकामध्ये ६६ वटा म्यानपावर कम्पनीलाई चेतावनीपत्र पठाएको उनको भनाइ छ । 

विभागले कम्पनीसँग मागेको विवरणमा पूर्वस्वीकृति संख्या, अन्तिम स्वीकृतिको संख्या, देश, रोजगारदाता कम्पनी, शून्य लागतमा गएका कामदार संख्या, सेवा शुल्कबापत दश हजार रुपैयँसम्म तिरेको विवरण, हालसम्म प्राप्त रकम र रकम जम्मा गरेको बैंकको विवरण मागेको थियो । त्यस्तै रोजगारदाताबाट हवाई टिकटबापत रकम प्राप्त भएको भए सो रकमको विवरण, बैंक तथा रेमिट्यान्स कम्पनीको नाम र एयरलाइन्सको नाम तथा टिकट नम्बरसहितको विवरण मागेको थियो । हालसम्म ७ सय २४ वटाले सून्यदरको विवरण बुझाएका छन् । 

निर्णय गरेको झण्डै दुई वर्षपछि फ्री भिसा, फ्री टिकटका विषयमा विभागले पहिलोपटक छानविन थालेको हो । विभागले फ्री भिसा र टिकटमा कति कामदार बाहिरिए भन्ने तंथ्याकसम्म राख्न सकेको छैन । फ्री भिसा र टिकट लागू भएपछि दुई वर्षमा कुल साढे ११ लाख कामदार बाहिरिएका छन् । 

३० म्यानपावरलाई कारबाही 

वैदेशिक रोजगार विभागले फ्री भिसा र फ्री टिकटको विवरण समयमा नबुझाउने १४ वटा र ढिलो गरी बुझाउने १६ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले विवरण नबुझाउने म्यानपावर कम्पनीलाई १ लाख र ढिलो विवरण बुझाउनेलाई ५० हजार रुपैयाँका दरले जरीवाना विभागले गर्ने भएको छ । विभागले २०७३ चैतमा फ्री भिसा फ्री टिकट लागू भएदेखि वैदेशिक रोजगारीमा पठाएका कामदारको विवरण वैशाख २० गतेसम्म पठाउन कम्पनीलाई निर्देशन दिएको थियो । 

एक लाख रुपैयाँ जरिवानामा परेका म्यानपवार कम्पनी सिद्धार्थ गौतम ओभरसिज प्रालि, युनाइटेड प्लेसमेन्ट एण्ड इम्प्लोइमेन्ट सर्भिस प्रालि, क्यापिटल रिक्रुटमेन्ट प्रालि, मुनलाइट इन्टरनेशनल प्रालि, सन रे ग्लोबल ओभरसिज प्रालि, एसके इन्टरप्राइजेज प्रालि (क्वइस्ट एसिया प्रालि), इनोभेटिव सर्भिसेज प्रालि, फिर्दोस इन्टरनेशनल ओभरसिज कम्पनी प्रालि, एसआरएस ओभरसिज प्रालि, रेडरोज इन्टरनेशनल म्यानपावर प्रालि छन् । 

यसैगरी हमिदा इन्टरनेशनल प्रालि, सार्प हृयुमनरिसोर्सेज प्रालि, नेपाल रिक्रुइटिङ सर्भिसेज प्रालि, कौशिक जनशक्ति इन्टरनेशनल प्रालि, मुस्ताङ ओभरसिज प्रालि र सिन–मल गोर्खा इन्टरनेशनल म्यानेजमेन्ट सर्भिस प्रालि पनि एक लाख जरिवानामा परेका छन् । 

५० हजार रुपैयाँ जरिवानामा परेका म्यानपवार कम्पनीमा राइजिङ स्टार ओभरसिज प्रालि, बेबी एन्जल इन्टरनेशनल प्रालि, पिस नेपाल ओभरसिज प्रालि, जब सिकर म्यानपावर प्रालि, सारथि ओभरसिज रिक्रुटमेन्ट प्रालि, एसोसिएट्स वेलकम इन्टरनेशनल प्रालि, रिजा ओभरसिज इम्प्लोइमेन्ट प्रालि, एपोलो ओभरसिज सर्भिसेज प्रालि, एबिसी ओभरसिज प्रालि, स्तूपा ओभरसिज सर्भिसेज प्रालि, मेरिडियन म्यानपावर सर्भिस, ओम श्री महाशक्ति इम्प्लोइमेन्ट सर्भिसेज प्रालि, धवनी इन्टरनेशनल प्रालि, मनकामना पावर नेटवर्कस् सर्भिस प्रालि रहेका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं