Date:2017/12/15 |Friday

तालिमपछि ३० प्रतिशत व्यक्तिमात्रै व्यवसायमा

Posted on: September 03, 2017 | views: 78 | कौशिला कुँवर

काठमाडौं । घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रबाट तालिम लिनेमध्ये ३० प्रतिशतले मात्रै व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ । तालिमका लागि हरेक वर्ष युवा युवतीको भिड लाग्ने गरेको भएपनि अधिकांश तालिमपछि निष्क्रिय रहने गरेको घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले जनाएको छ । 

केन्द्रले हरेक वर्ष विभिन्न विधामा निःशुल्क तालिम प्रदान गर्दै आएको छ । दलित तथा पिछडिएका महिलाका लागि कोटासमेत छुट्याएको छ । चालु अर्थिक वर्षमा तीन चरणको तालिमका लागि १ हजार ८ सय ४२ जनाको कोटा रहेको छ भने गत आर्थिक वर्षमा करिब २ हजारभन्दा बढीको कोटा रहेको थियो । केन्द्रले सिलाइकटाइ, बेकरी, खाद्य प्रशोधन, मोटरसाइल मर्मत, मोबाइल मर्मतलगायतका विधामा तालिम प्रदान गर्दै आएको छ ।

चालु आर्थिक वर्षमा पहिलो चरणको तालिमका लागि २ हजार ३ सय ५७ जनाले आवेदन दिएकोमा ४ सय ८७ मात्र छनोटमा परेको केन्द्रका शाखा अधिकृत बखतबहादुर खड्काले जानकारी दिए । केन्द्रले बुधबार नजिता सार्वजनिक गरेको हो । तालिमका लागि छनोटमा परेका मध्ये ३० देखि ४० प्रतिशतले मात्र व्यवसायी गर्ने गरेको खड्काले जानकारी दिए । तालिपछि कतिपयले घरायसी प्रयोजनका लागि मात्र काम गर्ने गरेको पाइएको उनले बताए । 

तर पनि केन्द्रले युवालाई उद्यमी बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गर्दै आएको छ । तालिमका लागि अन्तर्वार्ता र लिखित परीक्षाबाट नाम छनोट हुने गरेको छ । खड्काका अनुसार हाउस वाइरिङ र मोबाइल मर्मतमा लिखित र अन्तर्वार्ता दुवै भएको थियो भने अन्य विधामा अन्तर्वार्ता भएको थियो । हाउस वाइरिङका लागि १ सय ६३ जनाले आवेदन दिएको २८ जनामात्रै छनोटमा परेका छन् । मोबाइल मर्मतमा ४ सय २ जनाले आवेदन दिएकोमा २९ जनामात्र छनोटमा परेका छन् । अघिकांशको बेकरी तालिमका आकर्षण देखिएको खड्काले बताए । 

बेकरीको तालिमपछि वैदेशिक रोजगारमा जान पनि सहज हुने भएको र घरमै पनि विभिन्न परिकार बनाउन सकिने भएकाले आकर्षण देखिएको उनको भनाइ छ । बेकरी तालिमका ५ सय ६० जनाले आवेदन दिएकोमा १०२ जना छनोट भएका छन् । आधारभूत सिलाइकटाइ तालिमका लागि ४ सय ९३ जनाले आवेदन दिएको ६७ जना छनोटमा परेका छन् भने मेसिन इम्ब्रोइडरीमा ३३ जनाले आवेदन दिएको २४ जना, मखमल जुत्तामा ४० जनाले आवेदन दिएको ३६ जना छनोटमा परेका छन् । 

खाद्य प्रशोधनमा ६६ जनाले आवदेन दिएको ४५ जना छनोटमा परेका छन् भने डल बनाउनेमा १ सय १७ जनाले आवेदन दिएको ४० जना छनोटमा परेका छन् । मोटरसाइकल मर्मतमा १ सय २० जनाले आवेदन दिएकोमा ३४ जना, प्लम्बिङमा ४८ जनाले आवेदन दिएको १८ जना, सिलाइकटाइ एड्भान्समा १ सय २१ जनाले आवेदन दिएकोमा ३७ जना छनोटमा परेका छन् । अधिकांश उच्च शिक्षामा पढ्दै गरेका युवा युवती रहेको खड्काले बताएका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं