Date:2017/11/25 |Saturday

यार्सा गुम्बाबाट करोड राजस्व संकलन

Posted on: September 03, 2017 | views: 68 | राजेन्द्रबहादुर सिंह

बझाङ । जिल्ला वन कार्यालय बझाङले यार्सा गुम्बाको छोडपुर्जी दिएसँगै झण्डै एक करोड राजश्व संकलन गरेको छ । विगत पाँच वर्ष देखि उत्पादनमा ह्रास आइरहेको यार्सागुम्बा यस वर्ष विगत भन्दा बढी संकलन भएको छ । यार्साको उत्पादन बढे संगै जिल्ला वन कार्यालयले उठाउने राजश्व रकम पनि बढेको हो । यो रकम गत वर्ष भन्दा झण्डै ४० लाखले बढी हो ।  

जिल्ला वन कार्यालयले जिल्ला वाहिर यार्सागुम्बा लैजाने अनुमति दिँदा प्रतिकिलो २५ हजार रुपँैया राजश्व लिने गरेको छ । यस वर्ष करिब ४ सय किलोग्राम यार्साको संकलन अनुमति लिएकोमा ३ सय ६८ किलोग्राम निकासी भैसकेको यसबाट ९२ लाख रुपैया राजश्व संकलन भैसकेको जिल्ला वन कार्यालयले जनाएको छ । बाँकी परिमाणको यार्सा पनि यसै महिना भित्र जिल्ला बाहिर गइसक्ने र यस वर्ष यार्सा गुम्बाको राजश्व मात्र १ करोडको हाराहारीमा पुग्ने जिल्ला वन कार्यालय प्रमुख अशोक श्रेष्ठले जानकारी दिए । 

यार्सागुम्बा बापत संकलन भएको यो राजश्व ६ वर्ष यता कै सबै भन्दा बढी हो । २०७० सालमा ३ सय ८२ किलोग्राम यार्सा जिल्ला बाहिर लैजान अनुमति दिएसँगै जिल्ला वन कार्यालयले ९५ लाख ५० हजार राजश्व संकलन गरेको तथ्याङ्क छ । त्यस यता बझाङमा यार्साको उत्पादन घट्दै गएर गत वर्ष सम्म आइपुग्दा २ सय ३७ किलोमा झरेको थियो । यार्साको उत्पादनमा आएको गिरावटले बझाङको हिमाली भेगमा बस्ने बासिन्दाको जनजिवनमा पनि व्यापक फेरबदल आएको छ । झण्डै १० वर्ष सम्म मजदुरीका लागी भारत जान पुर्ण रुपमा बन्द भएका काँडा, सुर्मा, दौलिचौर, दहवगर, दाँतोला लगायत अधिकांश भेगका बासिन्दाहरु पहिले झै भारतबाट फर्किन थालेका छन । कोही खेतीपाती र पशुपालन तिर लागेका छन भने कोही पुरानै सीपलाई गुजाराको माध्यम बनाइरहेका छन । 

यस अघि यार्सा लगायतका जडिबुटीको विक्रीबाट मनग्य आम्दानी हुन थाले पछि यार्सा संकलन क्षेत्रका धेरै जसोले खेतीपाती र पशुपालनका काम समेत छोडिसकेका थिए ।  

यार्साको उत्पादनमा अप्रत्यासित बृद्धी भए पछि संकलकहरु खुसी भएका छन । यो वर्ष काँडाको राइढुङ्गी, माझा, फरालखेत, स्याङ्गवन र सुर्मा गांउपालिका अन्र्तगतका जलजला, डांफेचुली, तपोवन, डांडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुङ्गा लगायतका क्षेत्रमा यार्सागुम्बा राम्रो पाइएको संकलकहरुले बताएका छन । ‘गत वर्ष दिनभर खोज्दा पनि धेरै भेट्टाउनेले २० जति मात्र पाउथ्यो’ सुर्माका एक संकलक राजेन्द्र बोहराले भने ‘यो वर्ष कसै कसैले एक दिनमै १ सय सम्म किरा भेट्टाए । अघिल्लो वर्षको भन्दा राम्रै पाइन थालेको छ । पौस महिनामा नै हिउं पर्नु र बैसाखको महिना सम्म पनि यार्सा संकलन क्षेत्रमा पटक पटक हिमपात भएको कारण यो वर्ष यार्सा सप्रिएको संकलकहरुको अनुमान छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं