Date:2017/11/25 |Saturday

सुपथ मूल्य पसलमा आकर्षण

Posted on: September 04, 2017 | views: 87 | कौशिला कुँवर

काठमाडौं । सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण देखिएको छ । आपूर्ति मन्त्रालयले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर शुक्रबारदेखि राजधानीलगायतका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

साल्ट टे«डिङ कर्पोरेशन, खाद्य संस्थान र दुग्ध संस्थान र खाद्यान्न संस्थानद्वारा रामशाहपथमा सञ्चालित सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण देखिएको छ । आइतबारसम्ममा करिब ३ लाखको व्यापार भएको खाद्य संस्थानले जनाएको छ । संस्थानले विभिन्न प्रकारका चामल र कर्णालीको सिमी राखेको छ । 

सबै प्रकारका खाद्यन्नमा प्रतिकेजी ५ रुपैयाँ छुटमा दिएको छ । अरुवा मोटा चामल प्रतिकेजी ४० रुपैयाँ ७० पैसा रहेको प्रतिकेजी ३५ रुपैयाँ ७० पैसामा उपलब्ध गराएको छ भने अरुवा मकवानपुर चामल खुद्रा प्रतिकेजी ४१ रुपैयामा ३६ रुपैयाँ, अरुवा मध्यम चामल खुद्रा प्रतिकेजी ४३ रुपैयाँ रहेको ३८ रुपैयाँ, अरुवा सोना मन्सुली खुद्रा प्रतिकेजी ४५ रुपैयाँ रहेकोमा ४०, अरुवा गोरखनाथ खुद्रा प्रतिकेजी ५० रुपैयाँ रहेको ४५, अरुवा जिरा मसिनो खुद्रा प्रतिकेजी ६० रुपैयाँ रहेकोमा ५५ र अरुवा बासमतिमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ । 

त्यस्तै ब्राउन बासमती खुद्रा ८५ रहेकोमा ८० रुपैयाँ, बंगलादेशी उसिना चामल खुद्रा प्रतिकेजी ३५ रुपैयाँ रहेकोमा ३० रुपैयाँमा दिएको छ । भूकम्पपीडितका लागि बंगलादेशले दिएको चामल आपूर्ति मन्त्रालयले खाद्य संस्थानलाई बिक्री गर्न दिएको थियो । खाद्य संस्थानका अनुसार व्यापारीले भने सुपथ पसलबाट खरिद गरेर सोही चामल ९० देखि ८० रुपैयाँ केजीसम्ममा बिक्री गरिरहेका छन् ।

यस्तै साल्ट टेडिङले चिनी, मैदा, आटा, नून, दाल, तेल, चामललगायतका सामान छुटमा राखेको छ । साल्ट टेडिङको स्टल इन्चार्ज सिर्जन रेग्मीले  दुई देखि २५ रुपैयाँसम्म छुट दिएको बताए । उनका अनुसार नूनमा प्रतिकेजी २ रुपैयाँ, चिनीमा प्रति २ केजी पाकेटमा १० रुपैयाँ, प्रतिबोरा चामलमा १० देखि ४० रुपैयाँ छुट दिएको छ । पोखरेली चामला २० केजीको १३ सय ४० रहेकोमा छुटमा १३ सय रुपैयाँ र नुवाकोटे त्रिशूली ब्राण्ड २५ केजीको २३ सयमा रुपैयाँ रहेकोमा २२ सय ९० मा बिक्री गरेको उनले बताए । 

नून र चिनी प्रतिव्यक्ति ६ केजीसम्म दिने गरिएको उनले जानकारी दिए । उनका अनुसार तीन दिनमै ५ लाखको  व्यापार भएको बताए । गत वर्ष डेढ करोडको व्यापार भएकोमा यस वर्ष भने  २ करोडसम्मको व्यापार हुने अपेक्षा रहेको उनले बताए । त्यस्तै दुग्ध विकास संस्थानले प्रतिकेजी ध्यूमा १० र प्रतिकेजी पनिरमा ५ रुपैयाँ छुट दिएको संस्थानका स्टल इन्चार्ज सुवास मास्केले जानकारी दिए । उनका अनुसार एक व्यक्तिलाई २ केजी दिने गरिएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं