Date:2017/11/25 |Saturday

सिमेन्टमा हालसम्मकै ठूलो विदेशी लगानी

Posted on: September 04, 2017 | views: 72 |

हिमालय टाइम्स

काठमाडौं । नेपालको सिमेन्ट उद्योगमा हालसम्मकै सबैभन्दा ठूलो लगानी भित्रिएको छ । चिनियाँ लगानीमा हालसम्मकै ठूलो सिमेन्ट उद्योग स्थापना हुने भएको हो । चीनको होङसी र नेपालस्थित शिवम् सिमेन्टको संयुक्त लगानीमा सिमेन्ट उद्योग सञ्चालनका लागि नेपाल लगानी बोर्ड र होङ्सी सिमेन्ट उद्योगबीच आइतबार सम्झौता भएको छ । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र होङ्सी शिभम् सिमेन्ट प्रालिका निर्देशकलाई विपेङले आयोजना लगानी सम्झौतापत्र (पीआइए) मा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार होङसीले ३६ अर्ब ८५ करोड रुपैयाँ अर्थात् ३५ करोड ९१ लाख अमेरिकी डलर लगानी गर्नेछ । होङसीको ७० र नेपालीको ३० प्रतिशत स्वामित्व रहनेछ । 

सिमेन्ट उद्योग दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ भने पूर्वाधार निर्माण सुरु भइसकेको छ । नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेकाले सन् २०१८ को सुरुदेखि सिमेन्ट उत्पादन हुने बताइएको छ । उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चापदार्थ पाल्पाको खानीबाट ल्याउन स्वीकृति पाइसकेको छ । प्रारम्भिक चरणमा दैनिक ६ हजार टन र पछि उत्पादन बढाउँदै दैनिक १२ हजार टन गरी वार्षिक ४३ लाख ८० हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उद्योगका लागि ८० मेगावाट विद्युत् आवश्यक पर्नेछ ।

उद्योगबाट ओपिसी र पिपिसी दुवै सिमेन्ट उत्पादन हुनेछ । उद्योगबाट प्रत्यक्षरूपमा १ हजारभन्दा बढीले रोजगारी पाउने अनुमान गरिएको छ । नवलपरासीमा सिमेन्ट उद्योगको स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । त्यसो त जग्गा हदबन्दीका कारण उद्योगले लामो समयसम्म खरिद गर्न सकेको थिएन । उद्योगका लागि २ सय ५० बिघा जग्गा आवश्यक पर्ने भएपनि ५० बिघा उद्योगकै नाममा खरिद गरिसकेको छ भने बाँकी १ सय ५० बिघा पनि खरिद प्रक्रिया रहेको बोर्डले जनाएको छ । 

आइतबार आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लगानी सम्झौताबाट अन्तराष्टिय जगतमा नेपालको व्यावसायिक वातावरणबारे सकारात्मक सन्देश प्रवाह भएको बताउँदै उद्योग सञ्चालनका लागि सरकारले सहजीकरण गर्ने बताए । बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले पछिल्लो सम्झौताले विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बन्दै रहेको पुष्टि भएको बताए । 

होङ्सीका निर्देशक वेइपेङ्ले सम्झौताले नेपालमा विदेशी लगानी भिœयाउन थप सहयोग पुग्ने बताए । नेपाली साझेदारकातर्फबाट सतिशकुमार मोरले उद्योगले चाँडै उत्पादन सुरु गर्ने जानकारी दिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं