Date:2017/11/25 |Saturday

वैदेशिक रोजगारीबाट फर्किएर किवीखेती

Posted on: September 06, 2017 | views: 284 |

हिमालय टाइम्स 

काठमाडौं ।  १२ वर्ष वैदेशिक रोजगारीमा काम गरी फर्किएका पासाङ तेन्जिङ शेर्पाले ५० लाख लगानीमा किवी (टेकेला) खेती सुरु गरेका छन् । दोलखाको जिरीको नगरपालिका वडा नम्बर २ मा ९० रोपनी जग्गामा विगत दुई वर्षअघि उनले किवी खेती सुरु गरेका हुन् । शेर्पाले १२ सय किवीका बिरुवाबाट खेती सुरु गरेर अहिले १९ सय बिरुवा पु¥याएका छन् । (एडिपी)को उच्च हिमाली कृषि योजनाअन्तर्गत शेर्पाले किवी खेती सुरु गरेको बताए । भारत, कुवेत र युएईका स्टार होटलमा काम गरी फर्किएका शेर्पाले हाल ४ जनालाई रोजगारी प्रदान गरेका छन् । वर्षमा ६ महिना मात्र यातायात सञ्चालन हुने उक्त क्षेत्रमा उनले किवीखेती चुनौतीपूर्ण रहेको बताए । शेर्पाले भने, ‘वर्षमा ६ महिनामात्र गाडी चल्छ । यो ठाउँ उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले यहाँ धेरै समस्या छ । एकातिर यातायातको समस्या रहेको छ भने अर्कोतिर कृषि प्राविधिकको समस्या रहेको छ ।’  किवीखेती सुरु गरेको पहिलो वर्ष ७५ केजी उत्पादन भएको यस वर्ष २ सय केजीभन्दा बढी उत्पादन हुने अनुमान रहेको उनले बताए । पहाडी विकट क्षेत्र भएकाले किवीलाई बजारसम्म पु¥याउन समस्या पर्न सक्ने भन्दै सरकारले नै बजारको ग्यारेन्टी गरिदिनुपर्ने बताए । किवी स्थानीय बजारमै बिक्री भएमा बाहृय बजारको आवश्यकता नपर्ने उनले बताएका छन् । किवी नेपाली बजारमा प्रतिकेजी ५ सय रुपैयाँसम्म बिक्री हुने उनले बताए । नेपालको पूर्वी पहाडी क्षेत्रमा अहिले यो खेती निकै प्रचलनमा आएको छ । किवीखेतीमा सातवटा पोथीका बीचमा एउटा भाले रोप्नुपर्छ । त्यसो हुँदा  राम्रो फल उत्पादन हुने शेर्पाले बताए । नेपालीले कृषि पेसा अंगालेमा रोजगारीका लागि विदेशिनु नपर्ने उनको भनाइ छ । शेर्पाले श्रम तथा रोजगार मन्त्रालय दिएको उद्यमी पुस्कार पाएका थिए । 

किवी अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएर फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किवीलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ । गुणस्तरीय किवी न त धेरै गुलियो हुन्छ, न त धेरै अमिलो नै । यो निकै पोसिलो र औषधीय गुणसमेत भएकाले यसको माग बढेको हो । किवी नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने बताइएको छ ।   

किवीसँगै सतुवा खेती

शेर्पाले किवीसँगै (जडिबुटी) सतुवा खेती पनि सुरु गरेका छन् । नेपालमा लोपोन्मुख अवस्था पुगेको सतुवा खेती संरक्षणका लागि सुरु गरेको उनले बताए । सतुवा एक किसिमको औषधिजन्य जडिबुटी हो । यो पहाडी क्षेत्रमा मात्र पाइन्छ । यसलाई ज्वरो, चिसो र ग्यास्ट्रिकका बिरामीका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । शेर्पाले अब किवीखेतीसँग मौरीपालन गर्ने पनि योजना बनाएका छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं