Date:2017/11/25 |Saturday

५ म्यानपावर कप्पनी बन्द

Posted on: September 07, 2017 | views: 192 |

रमेश भारती 

काठमाडौं । वैदेशिक रोजगार विभागले विभिन्न देशका ६२ वटा रोजगारदाता कम्पनीमा रोजगारीका लागि नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको छ । विभागले मलेसियाका ५२ र अन्य मुलुकका १० गरी ६२ वटा कम्पनीमा नेपाली कामदार पठाउन प्रतिबन्ध लगाएको हो ।

नेपाली कामदारलाई करारमा भएको सम्झौताअनुसार काम, तलब–सुविधा नदिने र कामदारलाई अलपत्र पार्ने त्यस्ता कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाइएको हो । यसबारे विभागले वैदेशिक रोजगार व्यवसायीलाई सूचित गराइसकेको छ । विभागका अनुसार नेपाली कामदारलाई अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ) को नियमअनुसार सुविधा नदिने कम्पनीलाई कालो सूचीमा राखिएको हो ।

मलेसियाका ५२ कम्पनीका अतिरिक्त कालोसूचीमा साउदीका ५, युएईका २, कतारका ३ कम्पनी छन् । विदेशमा कार्यरत कामदारको अवस्था र नेपाली दूतावासले गरेको सिफारिशका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखिएको विभागका महानिर्देशक विश्वराज पाण्डेले बताए । उनले भने, ‘कालो सूचीमा परेका कम्पनीमा रोजगार व्यवसायीले कामदार पठाएको पाइए व्यवसायीलाई कडा कारबाही हुन्छ । व्यवसाय चलाउन स्वतन्त्र छ तर, सरकारले प्रतिबन्ध लगाएको कम्पनीमा कामदार पठाउन भने मनाही छ ।’

केही रोजगारदाता कम्पनीलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सिफारिशका आधारमा कालोसूचीमा राखिएको महानिर्देशक पाण्डेको भनाइ छ । उनका अनुसार कतिपय रोजगारदाता कम्पनीले व्यवसायीलाई पनि दुःख दिने गरेको पाइएको छ । 

कालोसूचीमा परेका मलेसियाका रोजगारदाता कम्पनीमा केएफसि होल्डिङ कम्पनी, एमटेन विल्डरस एस बी कम्पनी, जिएससी किलिनर एण्ड म्यानटेनिङ कम्पनी, टिएसई किलिनर सर्भिस कम्पनी, खिम्मसिंङ फर्निचरलगायत छन् । यस्तै यूएईको अल हाम्ड डेप्लोपमन्ट कम्पनी, कतारको कतार अरब कम्पनी, साउदीको जोढ अल अफ प्रालिलगायत पनि कालोसूचीमा छन् । कालोसूचीमा परेका कम्पनीको नाम विभागले आफ्नो वेभसाइटमा राखेको छ । 

मलेसिया र साउदीमा पछिल्लो समयमा कामदारलाई भनेजति तलब नदिनेमात्रै होइन, समयमै तलब नदिने ठूलो समस्या छ । अहिले साउदी र मलेसियामा खराब कम्पनीमा कार्यरत ३ हजारभन्दा बढी नेपाली कामदार अलपत्र छन् । सरकारलाई औपचारिक उद्धारको अपिल गरेपनि उद्धारमा सरकारले चासोसम्म देखाएको छैन । विशेष गरेर निर्माण र सप्लाई रिक्रुटमेन्टमा ठूलो समस्या छ । सरकारले बार्षिक रूपमा विदेशबाट ५ सयभन्दा बढी नेपाली कामदारको उद्धार गर्ने गरेको छ । 

५ वटा म्यानपावर कप्पनी बन्द 

वैदेशिक रोजगार विभागले भदौ महिनामा मात्र पाँचवटा म्यानपावर कम्पनी बन्द गराएको छ । विभागले बुधबार महाराजगञ्जमा रहेको इन्टरनेशनल जब लिंक प्रालि र पानीपोखरीको युनिभर्सल इन्टरनेशनल म्यानपावर कम्पनीमा ताला लगाएर बन्द गराएको छ ।

भदौ १८ गते सिद्ध ग्लोबल म्यानपावर, भदौ ५ गते निड इम्प्लोइमेन्ट सर्भिस र साउनको अन्तिम हप्ता गैरीधारामा रहेको वाइड स्पेश इन्टरनेशनल म्यानपावर कम्पनी विभागले बन्द गरेको थियो । योसँगै एक महिनाभित्र ५ वटा म्यानपावर कम्पनी बन्द भएका हुन् । बन्द भएका म्यानपावरका कम्पनीको श्रम स्वीकृति र कारोबार रोक्का गरिएको विभागले जनाएको छ ।

सरकार दुई वर्षअघि लागू भएको ‘फ्री भिसा र फ्री टिकट’ लाई सफल बनाउन लागि परेको वैदेशिक रोजगार विभागमा सूचना अधिकारी मोहन अधिकारीले बताए । उनले भने, ‘विभागले बन्द गराएका म्यानपावर कम्पनीको सबै कारोबार बन्द गराएर छानविन सुरु गरेका छौं । अब हिजोका दिनमा जस्तो म्यानपावर कम्पनीले दबाब दिँदापछि नहटी काम गर्न विभाग लागिपरेको छ ।’

वैदेशिक रोजगारीमा पठाउँदा कामदारसँग सरकारले तोकेभन्दा बढी रकम लिएको प्रमाणसहितको उजुरी परेपछि विभागले अनुगमन गरी बन्द गरेको उनको भनाइ छ । विभागले यो आर्थिक वर्षको सुरुदेखि नै म्यानपावर कम्पनीमा अनुगमन तीव्र बनाएको छ । वैदेशिक रोजगार ऐनमा विभागले म्यानपावरमा उजुरी, कामदार विदेश पठाएको आधारमा र वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारले दिएको नियम पालन गरेर पठाएका छ कि छैन भनेर अनुगमन गर्ने गरेको छ । 

विभागले फुकुवा नगरेसम्मका लागि यी म्यानपवार कम्पनीले कुनै पनि कारोबार गर्न पाउँदैनन् । निर्णय भएको दुई वर्षपछि फ्री भिसा फ्री टिकट कार्यान्वयनको अनुगमनलाई विभागले तीव्रता दिएको छ । अहिले विभागले ७ सय ५४ म्यानपावर कम्पनीमा अनुगमन गरिरहेको छ । सरकारबाट अनुमति लिएर गत आर्थिक वर्षमा थपिएका २ सय र पुराना ७ सय ५४ गरी ९ सय ५४ म्यापावर कम्पनी सञ्चालनमा छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं