Date:2017/11/25 |Saturday

दैनिक करोडको व्यापार हुने दरबारमार्ग सुनसान

Posted on: September 08, 2017 | views: 36 | लेखनाथ पोखरेल

काठमाडौं । दरबारमार्गका व्यापारी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । उनीहरू अनुगमनको विरोधमा उत्रिएका हुन् । दरबारमार्ग क्षेत्रका व्यापारीको संस्था दरबारमार्ग विकास बोर्डले आन्दोलनको अगुवाइ गरेको छ । 

बोर्डका अध्यक्ष गोपाल कक्षपतिले सरकारले अनुगमनका नाममा व्यापारीलाई आतंकित बनाएको आरोप लगाएका छन् । आफूहरू सरकारलाई कर तिरेर व्यापार गरेको र बढी मूल्य पनि नलिएको उनले दाबी गरे । उनले सिलबन्दी गरिएका पसलहरू सरकारले नखुलाएसम्म आन्दोलन जारी रहने बताएका छन् । उनले बिहीबार हिमालय टाइम्ससँग भने, ‘सरकारले प्रक्रयाविपरीत पसलमा सिलबन्दी गरेको छ, सिलबन्दी नखुलाएसम्म दरबारमार्गका सबै पसल बन्द रहनेछन् ।’ 

आफूहरूले सरकारलाई नियमानुसार कर तिरेर व्यापार गर्दै आएको र कालोबजारी नगरेको उनले दाबी गरेका छन् । दरवारमार्गका पसलको भाडा नै महँगो भएकाले २० प्रतिशत मुनाफालेमात्रै धान्न नसक्ने अवस्था रहेको पनि उनले बताएका छन् । उनले भने, ‘दरबारमार्ग महँगो क्षेत्र हो, प्रतिवर्गफिटकै ३ सयदेखि ९ सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ ।’ पसल भाडा, कर्मचारी खर्चलगायतका कारण २० प्रतिशतले धान्नै नसक्ने बोर्ड अध्यक्ष कक्षपतिले बताएका छन् । पसल अनुगमन र सिलबन्दीले व्यापारीको गरिमामा आँच आउनुको साथै ठूलो लगानी डुव्ने खतरा बढेको उनले बताए ।

सरकारको अनुगमनका क्रममा दरबारमार्गका व्यापारीले सय प्रतिशभन्दा बढी मुनाफा लिएर उपभोक्तालाई ठगी गरेको फेला परेको थियो । कालोबजारी ऐन २०३२ अनुसार वस्तु कारोबारमा २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन । त्यसो त महँगो भाडाको व्यापारमा कति मुनाफा लिने भन्नेमा सरकारी अधिकारी पनि अन्योलमै रहेका छन् । 

आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले यसबारेमा अध्ययन आवश्यक रहेको बताएका छन् । तर पनि महँगो भाडा तिरेर व्यापार गर्नेले भाडा, कर्मचारी खर्च कटाएर २० प्रतिशत मुनाफा लिन पाउने उनको भनाइ छ । राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि व्यापारीले सबै लागत खर्च जोडेर २० प्रतिशत मुनाफा लिन पाउने व्यवस्था रहेको बताए । तर त्यस्तो मुनाफा लिन नियमानुसार भ्याटमा दर्ता भएका व्यापारीले मात्रै पाउनेछन् । उनले अनुगमनको स्वागत गर्दै अनुगमनले उपभोक्ता र व्यापारी दुवैलाई सचेत गराउने बताएका छन् । सामानको बढी मूल्यका कारणभन्दा पनि व्यापारीले कारोबारको कागजता उपलब्ध गराउन नसकेकाले अनुगमन टोली सिलबन्दी गरेको उनको भनाइ ।

जथाभावी मूल्य तोकेर उपभोक्तालाई ठगेको भन्दै सोमबार आपूर्ति मन्त्री शिवकुमार मण्डल नेतृत्वको टोलीले दरबारमार्ग क्षेत्रका करिब एक दर्जन पसलमा सिलबन्दी गरेको थियो । अत्यधिक महंगो मूल्य असुलेको, बिलबिजक र आवश्यक कागजात पेश गर्न नसकेकोलगायतका कारण देखाउँदै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले पसल बन्द गरेको हो । 

अनुगमनका क्रममा एक सय रुपैयाँ मूल्य पर्ने मोजा २ हजार ४ सय र २ हजार ६ सय मूल्य पर्ने जुत्ता २६ हजार रुपैयाँसम्ममा बिक्री गरेको भेटिएको थियो । सो क्षेत्रका नाइक, स्टोर वान, बेन्टली, पुमा, एमजीएम इन्टरनेसनल, वाच एण्ड सी, रिवक, सुलक्स, लिवाइज, लाइन्स स्टाइलमा सिलबन्दी गरिएको छ । बुधबार उपभोक्तासँग सय प्रतिशतभन्दा बढी मूल्य लिएर सामान बिक्री गर्ने घडी र जुत्ता पसलमा सिलबन्दी गरेको थियो । 

आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले दरबारमार्गस्थित वाच एण्ड सी, सुलक्स सेन्टर, लेभिज, बोसेनी र रिवोक ब्राण्डको पसल सिलबन्दी गरेको हो । विभागका अनुसार अनुगमनका क्रममा १ हजार ५ सय रुपैयाँ मूल्यको घडीलाई ११ हजार र ८७ हजार रुपैयाँको घडीलाई २ लाख ५ हजार रुपैयाँसम्म बिक्री गरेको भेटिएको थियो । त्यस्तै रिवोकले ७ हजार पर्ने जुत्ता १६ हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ । सबै पसलका सञ्चालकलाई तीन दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिँदै पसल सिलबन्दी गरिएको विभागका निर्देशक श्रेष्ठले जानकारी दिए । बोर्डका अध्यक्ष कक्षपतिका अनुसार दरबारमार्ग क्षेत्र १ सय ६० भन्दा बढी पसल रहेका छन् । जसमध्ये एक सय पसल बन्द रहेका छन् ।

दरबार क्षेत्रमा दैनिक एक करोड रुपैयाँबराबरको व्यापार हुने गरेको कक्षपतिको अनुमान छ । यसैबीच नेपाल चेम्बर अफ कमर्सले अनुगमनको विरोध गरेको छ । चाडबाडकै पूर्वसन्ध्यामा पसल सिलबन्दी गरिनु न्यायोचित नभएको भन्दै बजार यथाशीघ्र सुचारु गरी आपूर्ति सहज बनाउन सरकारसँग माग गरेको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं