Date:2017/11/25 |Saturday

साउदी दूतावासले दिएन ६ सय म्यानपावरलाई परिचयपत्र

Posted on: September 09, 2017 | views: 71 |

हिमालय टाइम्स 

काठमाडौं । काठमाडौंस्थित साउदी दूतावासले नेपालका म्यानपावर व्यवसायीलाई परिचयपत्र वितरणमा कडाई गरेको छ । दूतावासले करिब ६ सय म्यानपावर कम्पनीलाई प्रवेश परिचयपत्र वितरण गर्न अस्विकार गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले बताए । 

उनले भने, ‘परिचयपत्र नपाएका म्यानपावरले दूतावासबाट भिसा स्टाम्पिङ गर्ने अवस्था छैन । जसका कारण अहिले साउदीमा धेरै म्यानपावर कम्पनीले कामदार पठाउन पाएका छैनन् । यो विषयमा सरकारको ध्यानार्षण गराएका छौं ।’ कामदार साउदी पठाउन र दूतावासबाट मिलाउनुपर्ने प्रक्रियाका लागि साउदी दूतावासले जारी गर्ने प्रवेशपत्र अनिवार्य गरिएको भएपनि दूतावासले म्यानपावर कम्पनीलाई परिचयपत्रमा कडाइ गरेको हो । 

परिचयपत्र नहुने म्यानपावरका कर्मचारीलाई दूतावास प्रवेशमा रोक लगाइएको छ । परिचयपत्र नभएकै कारण साउदीबाट कामदारको माग ल्याउन, भिसा लगाउन र कामदार पठाउन समस्या भएको संघले जनाएको छ । दूतावासबाट परिचयपत्र उपलब्ध गराई दिन म्यानपावर व्यवसायीले पटकपटक परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आग्रह गरेका छन् । इजाजतप्राप्त सबै व्यवसायीले परिचयपत्र पाउनुपर्ने भन्दै उनीहरूले मन्त्री महरालाई भेटेका हुन् । 

व्यवसायीसँगको भेटमा मन्त्री महराले दूतावाससँग छलफल गरेर समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएका थिए । यस विषयमा वैदेशिक रोजगारीका क्षेत्रमा धेरै समस्या भएको भन्दै गृह मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयसँग पनि समन्वय गरेर टुंग्ययाउनपर्नेमा महराको जोड दिएका छन् । हाल सरकारबाट इजाजत लिएर ९ सय ५४ म्यानपावर कम्पनीले कामदारलाई विदेश पठाइरहेका छन् । त्यसमा साउदीका कामदार पठाउने काम २ सयवटा म्यानपावरलेमात्रै गर्दै आएका छन् । गत वर्षदेखि साउदी दूतावासले परिचयपत्र वितरणमा कडाई गर्ने थालेको व्यवसायीले बताएका छन् ।

परिचयपत्र कडाइ उचित 

कतिपय वैदेशिक रोजगार व्यवसायीले भने दूतावासले परिचयपत्र वितरणमा गरेको कडाई उचित भएको बताएका छन् । दूतावासले कामदार म्यानपावर व्यवसायीको हितका लागि परिचयपत्र वितरणमा कडाइ गरेको उनीहरूको भनाइ छ । कामदार नपठाउने म्यानपावारको परिचयपत्र पनि खारेजै गुर्नपर्ने वैदेशिक रोजगार व्यवसाय संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले बताए । 

तामाङले भने, ‘कामदारको पासपोर्ट सुरक्षित राख्ने र म्यानपावरको पूर्वाधार हेरेर दूतावासले परिचयपत्र दिने नदिने निर्णय गर्छ ।’ पहिले ढाकाबाट भिसा लगाउने काम भएपनि करिब ५ वर्षदेखि साउदी दूतावासले काठमाडौंबाटै सबै काम गर्दै आएको छ । जसमा राम्रा काम गर्ने म्यानपावरलाई मात्र परिचयपत्र दिनुपर्छ, साउदीबाट कामदारको माग ल्याउन नसक्ने कम्पनीलाई किन दिनु परिचयपत्र ? दूतावासमा भीड बढाएर काम छैन । परिचयपत्रका लागि निवेदन दिने म्यानपावरको अनुगमन गरेर आवश्यक पूर्वाधारको व्यवस्थापछिमात्रै दूतावासले परिचयपत्र दिने व्यवस्था गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ । परिचयपत्र पाउने म्यानपावरले भिसा प्रक्रियाका धेरै काम गर्न सक्छन् ।

उनीहरूले मेसिनबाट पुनः प्रमाणीकरण गरी राहदानीमा स्टिकर लगाउनमात्रै दूतावास गए पुग्छ । सबै प्रक्रिया अनलाइनबाटै गर्न सकिन्छ, सोही आधारमामात्र दूतावासले परिचयपत्र वितरण गर्नुपर्ने उनीहरूको माग छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं