Date:2017/09/19 |Tuesday

रत्नपार्कको आम्दानी दुई वर्षमा २ करोड

Posted on: September 10, 2017 | views: 54 | कौशिला कुँवर

काठमाडौं । धेरै वर्षदेखि कुरूप अवस्थामा रहेको रत्नपार्क अहिले अम्दानीको राम्रो स्रोत बनेको छ । रत्नपार्कलाई काठमाडौं महानगरपालिकाले पुननिर्माण गरी २०७२ असोज १५ गतेदेखि प्रवेश शुल्क लिन थालेपछि रत्नपार्कबाट चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म २ करोड १० लाख ४८ हजार २ सय ६८ रुपैयाँ आम्दानी भएको छ । त्यस्तै आर्थिक वर्ष २०७३÷७४ मा १ करोड ९ लाख ४८ हजार ९ सय ९२ रुपैयाँ असुली गरेको छ । यो गतवर्षभन्दा २४.४४ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७२÷७३ मा ८५ लाख २४ हजार २ सय ७६ रुपैयाँ असुली भएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १५ लाख ७५ हजार असुली भएको रत्नपार्क एकाइ प्रमुख हरिशरण केसीले बताए । साउनमा धेरैजसो तीजका गीतका भिडियोहरू सुटिङ हुने भएकोले अन्य महिनाभन्दा बढी असुली हुने गरेको छ । धेरैजसो जेठ, असार, वैशाख र चैतमा रत्नपार्कका प्रवेश गर्नेको संख्या बढ्ने गरेकाले बढी असुली हुने उनले बताएका छन् । रत्नपार्क आम्दानीको स्रोत मात्र नभई अधिकांशको आरामस्थल पनि बनेको छ । धेरै वर्षदेखि मकै बदाम विक्री गर्ने फोहोरी रत्नपार्क भनेर चिनिने रत्नपार्क पछिलो समय महानगरले पुनर्निर्माणपछि पढ्ने, लेख्ने, आरामस्थलका साथै फिल्म सुटिङस्थलसमेत बनेको छ । रत्नपार्क एकाइ प्रमुख केसीका अनुसार रत्नपार्क प्रवेश गर्ने धेरै आराम गर्ने र पढ्नेहरू नै रहेका छन् । पार्कमा जाडोभन्दा गर्मी महिनामा धेरै आउने गरेको उनको भनाइ छ । सर्वसाधारण नागरिकलाई २५ रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै एसियन मुलुकका पर्यटकका लागि ५० र अन्य मुलुकका पर्यटकका लागि ७५ रुपैया रहेको छ । वृद्धवृद्धा र अपांगलाई भने निशुल्क रहेको छ । रत्नपार्कभित्र छायांकन शुल्क पनि निर्धारण गरिएको छ । विदेशी चलचित्र छायांकनको १० हजार, नेपाली चलचित्रको ७ हजार, टेलिसिरियलको ५ हजार र म्युजिक भिडियोको ५ हजार रुपैयाँ रहेको छ । छायांकनबाट दुई वर्षमा ४ लाख ८५ हजार रुपैयाँ असुली भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा छायांकनबाट कुल ९५ हजार असुली भएको थियो भने आर्थिक वर्ष २०७३÷७४ मा ३ लाख १३ हजार ५ सय रुपैयाँ असुली भएको थियो ।

रत्नपार्कको थप मर्मत र सुधारका लागि नगरपालिकाले २० लाखको बजेट छुट्याएको केसीले जानकारी दिए । चालु आर्थिक वर्षमा २० लाखको बजेटबाट रत्नपार्कभित्रमा रहेको बगैंचालाई सुधारका लागि ६ लाख विनियोजन गरिएको छ भने पार्कको गेटअगाडिको पोखरीमा पानीको फोहोरा निर्माणका लागि ५ लाख बजेट विनियोजन गरिएको छ । पोखरी व्यवस्थापन र पानीको टयुबलेल निर्माणका लागि २ लाख, पर्खाल निर्माणका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं