23rd July | 2018 | Monday | 11:03:12 PM

अनुगमन रोक्न विभागमाथि म्यानपावरको दबाब

रमेश भारती   POSTED ON : Sunday, 10 September, 2017 (4:47:50 PM)

अनुगमन रोक्न विभागमाथि म्यानपावरको दबाब

काठमाडौं । वैदेशिक रोजगार विभागले फ्री–भिसा, फ्री–टिकटको अनुगमन सुरु गरेसँगै म्यानपावर व्यवसायीले अनुगमन रोक्न दबाब दिन थालेका छन् । नयाँ आर्थिक वर्ष सुरु भए पनि एक महिनाभित्रमा विदेश जाने कामदारसँग बढी रकम लिने ५  वटा म्यानपावर  कम्पनीका कर्मचारी पक्राउ परेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा व्यवसायीको टोली विभाग पुगेर अनुगमन रोक्न दबाब दिएको विभागले जनाएको छ । 

विभागले तत्काल अनुगमन नरोके विभागको अनुगमनविरुद्ध हड्ताल गर्ने व्यवसायीले  चेतावनी दिएको  विभागका महानिर्देशक विश्वराज पाण्डेले बताए । उनले भने, ‘फ्री भिसा, फ्री टिकटको निर्णय कार्यान्वयन भए नभएको अनुगमन पहिल्यै गर्नुपथ्र्यो गरिएन, अहिले ढिलै भए पनि गरेका छौं, यसलाई निरन्तरता दिन्छौं ।’ महानिर्देशक पाण्डेले अब विभाग कसैको धम्कीले पछि नहट्ने बताए । नियामक निकायको काम नै अनुगमन भन्दै अनुगमन गरेर कारबाही गर्न नसक्ने हो भने विभागको औचित्य समाप्त हुने उनले बताए ।

पछिल्ला तीन स्टिङ अप्रेसन सफल भएकाले थप हौसला मिलेको महानिर्देशक पाण्डेले बताएका छन् । उनले भने– म्यानपावर र दलालविरुद्धको कारबाही २४ सै घन्टा चल्छ । सरकारले निर्णयअनुसार १० हजार रुपैयाँभन्दा बढी रकम लिए कारबाही हुन्छ । संघका अध्यक्ष रोहन गुरुङले समस्याका विषयमा छलफल भएको बताए पनि विभागले अनुगमन गरेर व्यवसायीलाई दबाब दिन खोजेको आरोप लगाए । उनले भने, ‘हामीले महानिर्देशक पाण्डेलाई भेटेर सोधेका थियौं, हामीले कामदारसँग कति रकम लिए लिए कारबाही गर्नुहुन्न ? ।’ महानिर्देशक पाण्डेले विभागले गरेका ‘जहाँ रकम लेनदेन गरे पनि छाड्दैनौं, ऐनभन्दा अघि बढ्न मिल्दैन, ऐनले दिएको अधिकार अब प्रयोग गर्छौं भने जबाफ दिएका थिए । म्यानपावरको बदमासीका कारण विभागप्रति नकारात्मक सोच बढेको उनको भनाइ थियो । फटाहालाई संरक्षण गर्न दबाब दिनुभन्दा आफैं सुध्रिए फाइदा हुन्छ भनेर व्यवसायीलाई पठाएको पनि बताए । पछिल्लो समय विभागले अनुगमनलाई तीव्रता दिएको छ । विगत दुई वर्षदेखि विभागले म्यानपावरमा अनुगमन गर्ने सकेको थिएन । फ्री भिसा र टिकटका विषयमा सरकार व्यवसायीबीच दुई वर्ष देखि द्वन्द्व चल्दै आएको छ ।