Date:2017/09/23 |Saturday

सरकारकै कारण सुन तस्करी बढेको मन्त्रीको स्वीकारोक्ति

Posted on: September 14, 2017 | views: 44 | हिमालय टाइम्स

काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले सरकारकै कारण मुलुकमा चोरी तस्करी मौलाएको स्वीकार गरेका छन् । सरकारको गलत नीतिका कारण सुन तस्करी बढेको उनले बताए । राष्ट्रिय उपभोक्ता मञ्चको १२ औं वार्षिक साधारणसभाको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘मुलुकमा दैनिक ५० केजी सुनको माग छ तर सरकारले २० केजीमात्रै उपलव्ध गराउँदै आएको छ । ३० केजी सुन कहाँबाट आयो ? सुनको चोरी तस्करीलाई राज्यले नै प्रोत्साहित गरेको देखियो नि ?’ सरकारले मागअनुसार सुन उपलव्ध गराएमा सुनको तस्करी निरुत्साहित हुने उनको दाबी थियो । साथै उनले कालोबजारीमा सलग्न व्यापारीलाई सरकारले छुट नदिने चेतवानीसमेत दिएका छन् । व्यापारीले राज्यको कानुन मान्न छाडेको भन्दै उनले उपभोक्ताले पनि व्यापारीको कानुन मान्न बाध्य नहुने बताए । उनले भने, ‘व्यापारीले राज्यलाई नै चुनौती दिएर उपभोक्तालाई ठगी गरिरहेका छन् । अनुगमनका क्रममा बहालवाला मन्त्रीलाईसमेत चुनौती दिएको देखियो, अब सरकार त्यस्ता व्यापारीविरुद्ध सरकार निर्ममतापूर्वक अघि बढ्नेछ । त्यसमा कुनै सम्झौता हुनसक्दैन । सामानको न्यून विजकीकरण गरेर बढी मूल्यमा बिक्री गरी उपभोक्ता ठग्न पाइँदैन ।’ उनले मन्त्रालयले बजार अनुगमनलाई वर्षैभरी निरन्तरता दिने रणनीतिका साथ अघि बढिरहेको बताए । 

मन्त्री मण्डलले भने, ‘यो मौसमी अनुगमन होइन, टेलिभिजनको स्क्रिनमा आउन लागि पनि अनुगमन गरिएको होइन, म जीवनभर मन्त्रीको कुर्सीमा टाँसिन आएको होइन, जति समय बस्छु, बजारलाई सिस्टममा राख्छु । व्यापारीमात्र नभई अनियामिततामा संलग्न कर्मचारीलाई समेत छाडिने छैन ।’ त्यसो त व्यापारीलाई आतंकित बनाउने अनुगमनको उद्देश्य नभएको उनले बताएका छन् । उनले भने, ‘अनुगमनका नाममा सबै व्यापारीलाई तर्साउने हाम्रो उद्देश्य होइन, सिम्वोलिक रूपमा मात्रै अनुगमन गरिएको हो, सिम्वोलिक अनुगमनका क्रममा कैफियत भेटिएको छ, दोषी व्यापारीलाई सरकारले छाड्ने छैन ।’ 

आपूर्ति मन्त्रालयका निमित्त सचिव मुकुन्दप्रसाद पौडेलले आपूर्ति मन्त्रालयले उपभोक्ता हितका लागि ऐन कानुन परिमार्जन गर्नुका साथै उपभोक्ता अधिकारकर्मी संस्थालाईसमेत नियमनको दायरामा ल्याउन पहल गरिरहेको बताए । उपभोक्ता जागरण र सचेतना कार्यक्रमलाई स्थानीय तहसम्म लगिने उनको भनाइ थियो । सो अवसरमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधान, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सवीन श्रेष्ठलगायतले बोलेका थिए । कार्यक्रममा नियमक निकाय, उद्योगी तथा सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं