Date:2017/12/17 |Sunday

भाषा परीक्षा उत्तीर्ण कामदार फागुनदेखि कोरिया जाने

Posted on: September 21, 2017 | views: 76 |

हिमालय टाइम्स

काठमाडौं । गत जेठमा भएको इपीएस भाषा परीक्षामा उत्तीर्ण १२ हजार एक सय आठ कामदारलाई फागुन अन्तिम सातादेखि कोरिया लैजाने भएको छ । उनीहरूको रोजगारी आवेदन फारम तिहारपछि मात्र संकलन गरिने इपीएस कोरिया शाखाले जनाएको छ । रोजगारी आवेदन फारम बुझाएपछि कोरियन रोजगारदाताले आफू अनुकूल कामदारको माग गर्ने शाखाले जानकारी दिएको छ । 

सन् २०१८ का लागि कोरियाले १० हजार पाँच सय कोटा तोके पनि भाषा परीक्षा भने केही बढीले उत्तीर्ण गरेको शाखाका प्रमुख बाबुराम खतिवडाले बताए । उनले भने, ‘कोरिया रोजगारीका दृष्टिकोणले मात्र नभई बसाइ र सुरक्षाको दृष्टिलेसमेत राम्रो भएकाले आकर्षण बढदै गएको हो । रोजगारीका लागि कोरिया सुरक्षितसमेत रहेकाले युवाको रोजाइमा कोरिया पर्ने गरेको छ ।’ भाषा परीक्षा उत्तीर्णमध्ये कृषिमा ६ हजार दुई सय र सेवा क्षेत्रमा चार हजार जना कोरिया जान पाउने छन् । 

गत चैत ९–१८ गतेसम्म अनलाइमार्फत ७५ हजार पाँच सय ८० जनाले आवेदन दिएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष कोरियाले कामदारको माग तीन गुणा बढाएको छ । सन् २००८ देखि कोरियाले कृषि र सेवामूलक क्षेत्रमा काम गर्न नेपालबाट कामदार लैजान थालेको हो । अघिल्लो वर्ष तीन हजार एक सय कोटा निर्धारण गरेको कोरियाले यसपटक १० हजार दुई सय कोेटा पु¥याएको छ । अघिल्लो वर्ष तीन हजार एक सय कोटामा करिब ६१ हजारले भाषा परीक्षामा प्रतिस्पर्धा गरेका थिए । कतिपय त स्वदेशमा पाएका अवसरसमेत त्यागेर कोरियाको रोजगारीमा जाने गरेको पाइएको छ । सन् २००८ यता ५१ हजार ४८८ नेपाली इपीएसमार्फत कोरिया गएका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं