Date:2017/12/17 |Sunday

गाडीको डिक्कीभित्र मरेका खसीबोका

Posted on: September 22, 2017 | views: 85 | लेखनाथ पोखरेल

काठमाडौं । व्यापारीहरूले मरेका खसीबोका भिœयाउने गरेको पाइएको छ । बिहीबार राजधानी ल्याउँदै गरेको अवस्थामा २९ वटा मरेका खसीबोका भेटिएको छ । आपूर्तिमन्त्रीको नेतृत्वमा कलंकी क्षेत्रमा अनुगमनका क्रममा गाडीको डिक्कीभित्र मरेको खसीबोका भेटिएको हो । 

पशु चिकित्सकको टोलीले कलंकीलगायत विभिन्न नाकामा खसीबोका, च्यांग्रा राँगाको स्वस्थ्य परीक्षण गरेको थियो । खसीबोका, च्यांगा र राँगा गरी कुल ४ हजार ३ सय ९५ संख्यामा परीक्षण गरिएकोमा ७ वटा खसीबोका र ४ वटा राँगा अस्वस्थ भेटिएको थियो । टोलीले कलंकीमा २ हजार, थानकोटमा ६ सय, बिजुलीबजारमा ३ सय, बलम्बुमा ३ सय १०, टुकुचामा ९ सय ९३ वटा चौपायाको परीक्षण गरेको थियो । 

सरकारले खसीको वोकालगायत चौपायाको स्वास्थ्य परीक्षणका लागि बिहीबारदेखि बनेपा, नागढुंगालगायतका स्थानमा छुट्टै टोली परिचालन गरेको छ । उपत्यकाका विभिन्न खसी बजारमा पनि बिहान–बेलुका चौपायाको स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको छ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले दशैंमा उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्य अनुगमन सुरु गरिएको र दशैभरी नै अनुगमन जारी रहने बताए । चौपाया व्यवसायी महासंघका अनुसार उत्यकामामात्र दैनिक औसत ८ हजारको हाराहारीमा खसीबोका र भेडाच्यांग्रा खरिद–बिक्री हुने गरेको छ । 

उपत्यकामामात्रै झण्डै ६० हजारको संख्यामा खपत हुने गरेको छ । हाल कलंकी, भृकुटीमण्डप, बबरमहल, माछापोखरी, खाद्य संस्थानको थापाथलीस्थित बाग्मती अञ्चल कार्यालयलगायतका स्थानबाट खसीबोकाको बिक्री भइरहेको छ ।

खाद्यका खसीबोका बाटोमै अलपत्र

नेपाल खाद्य संस्थानले बिहीबार ९० वटा च्यांग्रा बिक्री गरेको छ । शुक्रबारदेखि खसीबोका पनि बिक्री गर्ने भएको छ । केही संख्या च्यांग्रा आइसकेको भएपनि खसीबोका भने आइनसकेकाले बिहीबार बिक्री गर्न नसकिएको खाद्य संस्थानका निमित्त महाप्रबन्ध श्रीमणि खनालले जानकारी दिए । 

त्यसो त पहिरोका कारण सडक अवरुद्ध हुँदा खसीबोका र च्यांग्रा बाटोमै अलपत्र परेका छन् । बिहीबार २ सय खसीबोका आइपुग्नुपर्नेमा मुङलिङमा पहिरोका कारण सडक अवरुद्ध भएकाले खसीबोका बाटैमा अलपत्र परेको उनले बताए । त्यस्तै पहिरोका कारण म्याग्दीमा सडक अवरुद्ध भएपनि वैकल्पिक मार्गबाट ल्याउन लागिएको उनले बताए । सडक अवरुद्ध भएका कारण बाटैमा खसीबोका मर्ने हो कि भन्ने चिन्ता बढेको उनले बताए । 

संस्थानले बुधबार खसीबोका तथा च्यांग्राको बिक्री मूल्य निर्धारण गरेको थियो । निजी क्षेत्रभन्दा प्रतिकेजी ३५ रुपैयाँ सस्तोमा खसी बिक्री गर्ने निर्णय गरेको हो । जिउँदो खसी प्रतिकेजी ४ सय ५५ रुपैयाँ र बोका प्रतिकेजी ४ सय ५० रुपैयाँ मूल्य निर्धारण गरेको छ भने च्यांग्रा प्रतिकेजी ६ सय ७५ रुपैयाँ रहेको छ । 

संस्थानले १ हजार ५ सय खसीबोका र एक हजार च्यांग्रा ल्याउनेछ । निमित्त महाप्रबन्धक खनालका अनुसार दशैँमा ५० देखि ६० हजार खसीबोका बिक्री हुने गरेको भएपनि संस्थानले मूल्य नियन्त्रणका लागिमात्रै सीमितमात्रामा खसीबोका र च्यांग्रा ल्याउने गरेको हो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं