Date:2017/10/17 |Tuesday

वार्षिक पाँच लाख खसीबोका आयात

Posted on: September 25, 2017 | views: 71 | लेखनाथ पोखरेल

काठमाडौं । नेपालमा उपलब्ध हुनै नसक्ने पेट्रोलियम पदार्थ आयात नेपालको बाध्यता भएपनि मासुका लागि समेत अर्बौं मूल्यबराबरको खसीबोका, राँगा भैँसी र माछा आयात हुने गरेको छ । त्यसो त भारतसँगको खुला सीमाका कारण कति मूल्यबरारबरको राँगा, भैँसी, खसीबोका र माछा आयात हुन्छ भन्ने एकिन तथ्यांक छैन । 

पशुपक्षी मन्त्रालयले चौपाय आयातको संख्यामात्रै राख्ने गरेको छ । तर पनि नेपालमा वार्षिक रूपमा करिब एक खर्ब रुपैयाँबराबरको खसीबोको मासुमात्रै खपत हुने गरेको बताइन्छ । भन्सार विभागको तथ्यांकअनुसार वार्षिक रूपमा डेढ अर्बदेखि अढाई अर्ब मूल्यबराबरको साढे तीन लाखदेखि पाँच लाखसम्म खसीबोका आयात हुने गरेको छ । आर्थिक वर्ष २०७०÷७१ देखि २०७४÷७५ को साउन महिनासम्ममा सात अर्ब ९१ करोड ८२ लाख ४४ हजार मूल्यबराबरको १६ लाख ४८ हजार नौ सय ३८ खसीबोका आयात भएको छ । 

खसीबोकामात्र नभई खसीबोकाको तयारी र प्रशोधित मासुसमेत आयात हुने गरेको छ । भारतबाट ७८ लाख ३३ हजार मूल्यबराबरको ३४ हजार चार सय ७५ केजी तयारी मासु आयात भएको छ । आर्थिक वर्ष २०७०÷७१ देखि चालु आर्थिक वर्ष २०७४÷७५ सम्मको एक महिनामा गरी एक करोड २४ लाख १५ हजार मूल्यबराबरको ४६ हजार नौ सय ५५ केजी तयारी मासु आयात भन्सार विभागको तथ्यांक छ ।


पशुपक्षी मन्त्रालयले भने वार्षिक रूपमा करिब ५ लाख खसीबोका आयात हुने गरेको जनाएको छ । गत वर्ष २०७३÷७४ मा ५ लाख २ हजार खसीबोका आयात भएको थियो । त्यस्तै करिब ७६ हजारको संख्यामा राँगा तथा भैँसी आयात हुने गरेको छ भने ११ मेटिकटन माछा आयात हुने गरेको छ । त्यसो त केन्द्रीय पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा. मोदनाथ गौतमका अनुसार विगत वर्षमा वार्षिक एक लाखभन्दा बढी संख्यामा राँगा तथा भैँसी आयात हुने गरेको थियो । 

पछिल्लो समय भारतले कडाइ गरेका कारण राँगा, भैँसीको आयात घटेको हो । देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुने गरेकोमा चार लाख खसीबोका स्वदेशबाटै आपूर्ति हुने गरेको छ भने ३० हजार खसीबोका भने भारत, अमेरिका र अष्ट्रेलियाबाट आयात हुँदै आएको छ । कुल आयातमध्ये करिब ९८ प्रतिशत भारतबाट हुँदै आएको छ । स्वदेशी उत्पादन चार लाख खसीबोकाबाट औसत ९६ लाख केजी मासु तयार हुन्छ । 

त्यस्तै आयातित ३० हजार खसीबोकाबाट ७२ लाख केजी मासु तयार हुन्छ । दशैँमा सामान्य अवस्थामा भन्दा बढी मासुको खपत हुने गरेको छ । चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकका अनुसार आयातित खसीबोकामध्ये ९० प्रतिशत उपत्यकामा खपत हुन्छ । स्वदेशमै खसीबोका उपलब्ध भएपनि ग्रामीण भेगसम्म पुग्न सडकको असुविधाका कारण ठूलो परिमाणमा खसीबोका आयात गर्नुपरेको चौपाया खरिद बिक्री सेवा संघका पूर्वअध्यक्ष दीपक थापाले बताए । 

संघका अनुसार भारतकोे लखनउ, बहराइच, काल्पि, जसविरनगर, कानपुर र हरियाणालगायतका स्थानबाट लाम्काने र जमुनापारी जातका खसीबोका नेपालमा आयात हुने गर्छ । पशु सेवा विभागका महानिर्देशक डा. विमल निर्मलका अनुसार दशैँको समयमा करिब ६० हजार खसीबोका खपत हुने गरेको छ । सामान्य दिनमा राजधानीमा दैनिक एक हजार खसीबोका बिक्री हुने गरेको दशैँमा करिब दैनिक तीन हजारको संख्यामा बिक्री हुन्छ । 

दशँैका करिब ६० हजार खसीबोका, १० हजार च्यांग्रा, तीन हजार भेडा र सयभन्दा बढीको संख्यामा राँगाको खपत हुन्छ । चौपाया खरिद बिक्री सेवा संघका अनुसार उपत्यकामा थोकमा खसीबोकाको वार्षिक कारोबार १५ अर्ब मूल्यबराबरको हुन्छ । जसमध्ये १० अर्बको भारतबाट आयातित र ५ अर्बको स्वदेशी खसीबोकाको कारोबार हुन्छ । महानिर्देशक डा. विमल निर्मलका अनुसार स्वदेशमा वार्षिक रूपमा एक करोड २० लाख खरी, जमुनापारी र वोयर जातको खसीबोका उत्पादन हुन्छ । यसमध्ये ४० लाख दशैँ र ५० लाख वर्षभरि खपत हुन्छ ।

 

खसीबोका आयातको अवस्था

आर्थिक वर्ष संख्या  मूल्य

                        २०७०÷७१                ४२९३३५                 १,३९,२४,६८,०००

२०७१÷७२                ३८१८१५                 १,६८,५०,१७,०००


२०७२÷७३                ४७९२९७                २,६८,३४,३०,०००


२०७३÷७४                ३२७८९७                 १,९३,९०,०८०००


२०७४÷७५                ३०४९४                  २१,८३,२१,०००

कूल ः १६४८९३८ ७,९१,८२,४४,०००

स्रोत : भन्सार विभाग


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं