Date:2017/12/17 |Sunday

एक दर्जन भन्दा बढी खसीवोका र च्यांग्रा मरे

Posted on: September 27, 2017 | views: 95 | लेखनाथ पोखरेल


काठमाडौं । नेपाल खाद्य संस्थानले दशैँका लागि १ हजार ६ सय ५२ खसीवोका र च्यांग्रा बिक्री गरेको छ । संस्थानले मंगलबारसम्म ९ सय २६ खसीबोका र ७ सय २७ च्यांग्रा बिक्री गरिएको जनाएको छ । बाँकी रहेका खसीबोका र च्यांग्रा पनि बुधबारसम्म बिक्री भइसक्ने संस्थानमा निमित्त महाप्रबन्ध श्रीमणि खनालले बताएका छन् । त्यसो त केही खसीबोका र च्यांग्रा मरेका छन् । 

ठाउँठाउँमा सडक अबरुद्ध भएका कारण लामो समय बाटैमा रोकिनुपर्दा केही खसीबोका र च्यांग्रा बाटैमा मरेका थिए भने केही संस्थानको बिक्री केन्द्रमा पनि मरेको निमित्त महाप्रबन्धक खनालले बताएका छन् । उनका अनुसार करिब एकदर्जन खसीबोका र च्यांग्रा मरेका छन् । बाटोमा मरेका खसीबोकाको दायित्व भने संस्थानले लिनुपर्दैन । त्यसो त संस्थानले यसपटक १ हजार ५ सय खसीबोका र एक हजार च्यांग्रा ल्याउने निर्णय गरेको भएपनि सडक अवरोधका कारण ढुवानी समस्या भएकाले सबै खसीबोका ल्याउन नसकिएको निमित्त महाप्रबन्धक खनालले बताएका छन् । 

उनका अनुसार दशैँमा ५० देखि ६० हजार खसीबोका बिक्री हुने गरेको भएपनि संस्थानले मूल्य नियन्त्रणका लागिमात्रै सीमितमात्रामा खसीबोका र च्यांग्रा ल्याएको हो । संस्थानले गत बिहीबारदेखि च्यांग्रा र शुक्रबारदेखि खसीबोका पनि बिक्री सुरु गरेको थियो । संस्थानले निजी क्षेत्रभन्दा प्रतिकेजी ३५ रुपैयाँ सस्तोमा खसी बिक्री गरेको जनाएको छ । जिउँदो खसी प्रतिकेजी ४ सय ५५ रुपैयाँ र बोका प्रतिकेजी ४ सय ५० रुपैयाँ मूल्य निर्धारण गरेको छ भने च्यांग्रा प्रतिकेजी ६ सय ७५ रुपैयाँ रहेको छ । निजी क्षेत्रल भने मंगलबारसम्म करिब ३० हजार खसीबोका र च्याङग्रा बिक्री गरेको जनाएको छ । 

चौपाया खरिद बिक्री सेवा संघका पूर्वअध्यक्ष दीपक थापाका अनुसार सप्तमीको अघिल्लो दिनसम्ममा करिब ३० हजार खसीबा र च्यांग्रा बिक्री भएका छन् । सर्वसाधारणले दशमीसम्म नै खरिद गर्ने भएको करिब ६० हजारभन्दा खसीबोका र च्यांग्रा बिक्री हुने उनको भनाइ छ । उनका अनुसार गत वर्षभन्दा यसपटक खसीबोका र भेडा च्यांग्रा बढी भित्रिएका छन् । गत वर्ष करिब हजार भेडा च्यांग्रा राजधानी भित्रिएको यसपटक १० हजार संख्यामा भित्रिएका छन् । 

नेपाल भित्रिने कुल २० हजार भेडा च्यांग्रामध्ये १० हजार पोखरामा खपत हुने गरेको उनले बताएका छन् । यसपटक ९० प्रतिशत खसीबोका भारतबाटै आयात भएका छन् । ढुवानी समस्याका कारण स्वदेशी खसीबोका बजारसम्म ल्याउन समस्या रहेको उनले बताए । त्यतिमात्र नभइ नेपाली खसीबोका भन्दा भारतीय खसीबोकाको मासुमा बढी मूनाफा हुने गरेकाले व्यापारीले भारतीय खसीबोका नै ल्याउने गरेको उनले बताएका छन् । तर भारतीय खसीबोका भन्दा स्वदेशी खसीबोकाको मासु स्वादिष्ट र पोशिलो हुने गरेको उनले बताए । 

सरकारले खसीको बोकालगायत चौपायाको स्वास्थ्य परीक्षणका लागि बिहीबारदेखि बनेपा, नागढुंगालगायत स्थानमा छुट्टै टोली परिचालन गरेको थियो । उपत्यकाका विभिन्न खसी बजारमा पनि बिहान–बेलुका चौपायाको स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको थियो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं