Date:2017/10/20 |Friday

रोजगारीका लागि मलेसिया जाने बढे

Posted on: October 12, 2017 | views: 61 | रमेश भारती

काठमाडौं । पछिल्लो समय मलेसिया जाने नेपाली कामदारको संख्यामा उच्च वृद्धि भएको छ भने साउदी र कतार जानेको संख्यामा उल्लेख्य कमी आएको छ । गत वर्ष साउदीमा देखिएको आर्थिक समस्या र कतारमाथि खाडी मुलुकले लगाएको आर्थिक नाकाबन्दीका कारण नेपालबाट रोजगारीका मलेसिया जाने कामदारको संख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । 

साउदी र कतारमा देखिएको समस्याका कारण ती देशमा रोजगारीका जानको संख्यामा गिरावट आएको हो । चालु आर्थिक वर्षको पहिलो महिना ३१ हजार ३ सय ९ जना नयाँ श्रम स्वीकृति लिई विभिन्न देश गएका छन् । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा ३५ हजार ४ सय ८५ जना वैदेशिक रोजगारीमा गएका थिए । यस वर्ष मलेसिया जानेको संख्या भने बढेको छ । 

गत वर्ष सोही अवधिमा ६ हजार ७ सय ७५ जना मलेसिया गएकोमा यस वर्ष ११ हजार २ सय ३१ जना गएका छन् । तर गतवर्ष १० हजार ७ सय ८८ जना साउदी गएकोमा यस वर्ष ४ हजार १ सय ९४ जनामात्रै गएका छन् । पुनः श्रम स्वीकृति लिएर गत वर्षको पहिलो महिना १५ हजार ६ सय २२ जना गएकोमा यस वर्षको पहिलो महिना १५ हजार ७३ जना गएका छन् । साथै चालु आर्थिक वर्षको दोस्रो महिनामा सरकारबाट श्रम स्वीकृति लिएर ३२ हजार ७ सय ५२ जना रोजगारका लागि बाहिरिएका छन् । 

यस अवधिमा ९ हजार ५ सय ३५ जनाले मलेसियाका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । साउदी र कतारका लागि ८ हजार ४१ जनाले श्रम स्वीकृति लिएको विभागको तंथ्याकले देखाएको छ । गत आर्थिक यही अवधिमा ३२ हजार ३ सय जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष ०७२÷७३ को तुलनामा मलेसिया जाने कामदारको संख्या करिब १० प्रतिशतले वृद्धि भएको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए । गत आवमा ९८ हजार चार सय ३७ कामदार नयाँ श्रम स्वीकृति लिएर मलेसिया गएका थिए । 

मलेसिया जाने कामदार बढे पनि आर्थिक वर्ष ०७३÷७४ मा नेपालका लागि पहिलो गन्तव्य भने कतार थियो । आर्थिक वर्ष ०७२÷७३ मा कतार दोस्रो र साउदी अरेबिया पहिलो गन्तव्य थिए । सोही अवधिमा मलेसिया तेस्रो गन्तव्य थियो । कतार कुल कामदारमध्ये ३१ प्रतिशतको रोजाइमा परेर पहिलो गन्तव्य बन्न पुगेको हो । आर्थिक वर्ष ०७२÷७३ मा एक लाख २९ हजार ३८ कामदार गएकोमा आर्थिक वर्ष ०७३÷७४ मा एक लाख २५ हजार आठ सय ९२ जना कतार पुगेका थिए । गत आर्थिक वर्ष ०७३÷७४ मा साउदी अरेबिया जानेको संख्या ७६ हजार आठ सय ८८ जना रहेको छ । 

हाल नेपालले विश्वका एक सय १३ देशमा रोजगारीका लागि श्रम स्वीकृति दिने गरे पनि करिब ९५ प्रतिशत कामदार खाडी मुलुक र मलेसिया नै जाने गरेका विभागको तंथ्याकमा उल्लेख छ । विभागका अनुसार हालसम्म करिब ४६ लाख युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष ०७३÷७४ मा नयाँ र पुरानो श्रम स्वीकृति लिएर ६ लाख ५५ हजार युवायुवती वैदेशिक रोजगारीमा गएको विभागका निर्देशक मोहन अधिकारीले बताए । पछिल्लो महिना वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ६.९ प्रतिशतले घटेको थियो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं