Date:2017/11/23 |Thursday

चार वर्षमा २ अर्बको सुन बरामद

Posted on: November 15, 2017 | views: 13 | कौशिला कुँवर

काठमाडौं । पछिल्लो समय सुन तस्करी बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१÷७२ देखि चालु आर्थिक वर्षको हालसम्म करिब एक अर्ब ९४ करोड ८ लाख ४८ हजारबराबरको सुन बरामद भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा तस्करहरूबाट ५३ करोड ४५ लाख ७६ हजार बराबरको सुन बरामद भएको थियो । यस्तै आर्थिक वर्ष २०७२÷७३ मा ३२ करोड ७४ लाख ८८ हजार रुपैयाँ बराबरको सुन बरामद भएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा ४३ करोड ८२ लाख ५६ हजार बराबरको सुन बरामद भएको थियो भने चालु आर्थिक वर्षमा सबैभन्दा बढीमात्रामा बरामद भएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनामै ६४ करोड ५ लाख २८ हजार रुपैयाँ बराबरको सुन बरामद भइसकेको छ ।

छोटो समयमा ठूलो आर्थिक उपार्जन गर्न मानिसहरू सुन तस्करीमा संलग्न हुने गरेको पाइएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपाने बताउँछन् । सुनजस्तो महँगो बस्तुको तस्करी पैसा नभएको व्यक्तिले गर्न नसक्ने तर्क गर्दै उनी यो धन्दामा ठूला व्यापारी–व्यवसायीहरू नै संलग्न हुने गरेको बताउँछन् ।

तस्करहरूबाट बरामद सबै सुन आन्तरिक राजस्व विभागलाई बुझाउने गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । विभिन्न देशबाट अवैधरूपमा ल्याएको सुन प्रहरीले बरामद गरेको हो । नेपालमा कुनै पनि व्यक्तिले ठूलो परिमाणमा सुन ल्याउन पाउँदैन । नेपालमा बढीमात्रामा चिनियाँ नाकाबाट अवैधरूपमा सुन भित्रिने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।  

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोे महाराजगन्जको तथ्यांक र महानगरीय अपराध महाशाखा टेकुको तथ्यांकअनुसार सुन तस्करीमा २० देखि ४० वर्ष उमेर समूहका मानिस बढीमात्रामा संलग्न हुने गरेको पाइन्छ । गत भदौ १९ गते काठमाडौं अपराध महाशाखाको टोलीले २४ वर्षीय मनोज अधिकारीलाई ८८ केजी सुनसहित पक्राउ गरेको थियो । अधिकारीलाई काठमाडौंकै क्षेत्रपाटीस्थित सडकमा पार्किङ गरी राखेको बा१७च ६४२७ नम्बरको गाडीमा राखिएको सुनसहित नियन्त्रणमा लिइएको थियो । यस्तै २०७२ पुस २३ गते अपराध महाशाखाको टोलीले काठमाडौंको भूगोलपार्कस्थित लक्ष्मी ज्वेलर्सबाट ९ किलो पाँच सय आठ ग्राम सुन तस्करीमा संलग्न तीनजना भारतीय नागरिकलाई नियन्त्रणमा लियो । तीनजनामा एकजना ५० वर्षका र दुईजना ४० वर्षमुनिका छन् । 

यस्तै २०७१ फागुन २६ गते महानगरीय अपराध महाशाखाको टोलीले चीनको  खासाबाट बा१ज ४७५७ नम्बरको गाडीबाट ४ किलो १६ ग्राम अवैध सुन बरामद ग¥यो भने तस्करीमा संलग्न रामेछापका पाँचजनालाई पक्राउ ग¥यो । उनीहरू १९ वर्षदेखि ३४ वर्षसम्मका नेपाली नागरिक छन् । 

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत भदौ १४ गते काठमाडौंबाट बरामद गरेको १५ केजी सुन तस्करीमा संलग्न १२ जना नै ४० वर्षमुनिका नेपाली नागरिक छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं