Date:2017/11/23 |Thursday

दक्षिण एसियाली आर्थिक सम्मेलन सुरु

Posted on: November 15, 2017 | views: 11 |

हिमालय टाइम्स 

काठमाडौं । राजधानीमा १० औं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा विभिन्न मुलुकका सहभागीहरूले पारवहन, समस्या र गैरभन्सार अवरोध दक्षिण एसियाली मुलुकको व्यापार प्रवद्र्धनको प्रमुख समस्या रहेको बताएका छन् । 

राष्ट्रिय आयोजना आयोग, वाणिज्य मन्त्रालय तथा साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एन्ड इन्भारोमेन्ट (साउती) को संयुक्त आयोजनामा मंगलबारदेखि सुरु भएको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण एशियाली मुलुकहरूको आर्थिक विकास तथा व्यापार विस्तारमा पारवाहन र गैरभन्सार अवरोाध मुख्य चुनौतीका रूपमा रहेको बताए । सार्क मुलुकमा जल, स्थल र हवाइ पारवाहन सम्बन्ध तथा गैरभन्सार अवरोधका कारण आर्थिक सम्बन्धले अपेक्षित गति लिन नसकेको भन्दै उनले आगामी दिनमा सार्क क्षेत्र विश्व आर्थिक शक्तिका रूपमा हुनुपर्ने बताए । 

सार्क क्षेत्रको साझा मुद्दाको रुपमा जलवायु परिवर्तन पनि रहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनबाट सार्क क्षेत्रले समान समस्याको सामना गर्नुपरिरहेका बताए । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले पनि नेपालमा निर्यात व्यापारको पर्याप्त सम्भवना हुँदाहुँदै पनि गैरभन्सार अवरोधका कारण निर्यात प्रभावित हुँदै आएको बताए । भुटानका अर्थमन्त्री लिम्पो दोर्जीले नेपाल र भुटानको समानरूपमा जलविद्युत्को सम्भावना रहेकाले दुवै देशले मिलेर काम गर्न सक्ने बताए । 

उनले पनि सार्क क्षेत्रको आर्थिक विकासमा गैरभन्सार अबरोध प्रमुख समस्याका रूपमा बताएका छन् । राष्टिय योजना आयोगका उपाध्यक्ष डा. स्वार्णीम वाग्लले दक्षिण एसियामा समावेशी तथा दिगो विकासका निम्ति आर्थिक एकीकरणलाई बलियो बनाउन सम्पन्न सहयोगी हुने बताए । ३ दिनसम्म चल्ने सम्मेलनमा सार्क क्षेत्रका २ सयभन्दा बढी नीतिनिर्माता, विज्ञ, निजी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता रहेको आयोजकले जनाएको छ । 

आयोजकका अनुसार सम्मेलनमा सार्क राष्ट्रका वाणिज्य मन्त्री, योजनाविद्, आर्थिक क्षेत्रसँग सम्बन्धित प्रबुद्ध व्यक्तित्व तथा दक्षिण एसियाली मुलुकका उच्चपदस्थ सरकारी अधिकारीसहित दुई सयभन्दा बढीको सहभागिता रहेको छ भने युरोपियन युनियन तथा सार्क पर्यवेक्षक मुलुकको समेत सहभागिता रहेको छ । विभिन्न विधाका १८ वटा सत्र सञ्चालन हुने सम्मेलनमा अन्तर क्षेत्रीय व्यापार सम्भाव्यताको खोजी, दक्षिण एसियामा दिगो विकास लक्ष्य एवं समावेशी विकास, मौसम परिवर्तनका विषयमा क्षेत्रीय सहकार्य, दक्षिण एसियामा विद्युतीय व्यापार तत्परता आँकलन, अन्तर क्षेत्रीय लगानी सम्भाव्यताको खोजी, प्रकोप जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्यका विषयमा छलफल हुनेछ । 

त्यस्तै विश्व व्यापार संगठन (डब्लुटीओ) को आगामी ११ औं मन्त्रीस्तरीय बैठकमा दक्षिण एसियाली दृष्टिकोण, व्यापार सहजीकरण, पारवहन र आपसी सम्पर्कसम्बन्धी विषय, अन्तर्राष्ट्रिय श्रमिक आप्रवास तथा विप्रेषणबाट सिर्जित अवसर एवं चुनौतीहरूको अन्वेषण, दक्षिण एसियामा वनस्पतिजन्य बौद्धिक सम्पत्तिमाथिको अधिकारको निगरानी, क्षेत्रीय एकीकरण सार्क पर्यवेक्षकहरूको भूमिकाका विषयमा पनि छलफल हुनेछ । 

त्यसैगरी नवप्रवर्तन एवं साना तथा मझौला उद्योगहरूका माध्यमद्वारा ग्रामीण अर्थतन्त्रको सुदृढीकरण, ऊर्जा सहकार्यका मुद्दाहरू, रोजगारी सिर्जनाका निम्ति क्षेत्रीय मूल्य शृंखलाका सामथ्र्यको सदुपयोग र आर्थिक साधनको सुधारका विषयमा पनि छलफल हुने साउतीले जनाएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं