Date:2017/11/23 |Thursday

आवेदन छुटेका परीक्षार्थीलाई १५ दिने मौका

Posted on: November 15, 2017 | views: 21 |

हिमालय टाइम्स 

काठमाडौं । सन् २०१८ मा कोरिया रोजगारीका लागि जान कात्तिक १४ गतेदेखि आहृवान गरिएको रोजगार आवेदनमा हालसम्म करिब ९ हजारलेमात्र बुझाएको वैदेशिक रोजगार इपिएस कोरिया कार्यालय जनाएको छ । 

सन् २०१८ का लागि १२ हजार २ सयले कोरिया भाषा परीक्षा उत्तीर्ण गरेको थिए । आवेदन दिन छुटेका ३ हजार २ सय परीक्षार्थीका लागि कार्यालयले १५ दिनको म्याद थप गरेको छ । छुटेका परीक्षार्थीलाई १५ दिनभित्र आवेदन दिन कार्यालयले अपिलसमेत गरेको छ । भाषा परीक्षा उत्तीर्ण गरेका ३ सयभन्दा बढीको स्वास्थ्यमा समस्या देखिएको पनि कार्यालय जनाएको छ ।

फारम भर्ने अन्तिम मिति भने कात्तिक २७ गतेसम्म तोकिएको कार्यालयका प्रमुख बाबुराम खतिवडाले बताए । कात्तिक २७ गतेको कार्य तालिकासम्म आवेदन फारम भर्न छुटेका परीक्षार्थीका लागि कार्यालयले १५ दिनको समय थप गरेको उनको भनाइ छ । भाषा पास गरेका परिक्षार्थीले कोरिया जानुअघि स्वास्थ्य परीक्षणमा सफल भएकालेमात्रै रोजगार आवेदन फारम भर्ने पाउँछन् ।

कोरिया जाने कामदारले भरेको आवेदन फारमको आधारमा कोरियन रोजगारदाता कम्पनीले रोजगार अनुमतिपत्र दिने गरेको कार्यालयले जनाएको छ । रोजगारदाता कम्पनीले कामदारलाई स्वास्थ्य र भाषा परीक्षामा ल्याएको अंकका आधारमा भिसा दिने गरेको छ । भाषा परीक्षा उत्तीर्ण गरेको तीन वर्षभित्रमा कोरिया पुगिसक्नुपर्छ । यस अवधिभित्र पनि रोजगार अनुमतिपत्र नआए पुनः भाषा परीक्षामा दिई उत्तीर्ण गरेरमात्र जान पाइन्छ । 

सन् २०१८ मा उड्न पाउने गरी गत जेठ २७ र २८ गते भएको भाषा परीक्षामा ७० हजारभन्दा बढीले सहभागिता जनाएका थिए । कोरियाको मानव संशाधन विभागले सन् २०१८ का लागि १० हजार पाँच सय कोटा तोके पनि भाषा परीक्षामा भने १२ हजार २ सय युवायुवती उत्तीर्ण भएका छन् । सन् २००७ मा नेपाल र कोरियाको मानव ससाधन केन्द्रबीच नेपाली कामदार लिने विषयमा दोहोरो श्रम सम्झौता भएपछि भाषा परीक्षामार्फत कोरियाले नेपाली कामदार लिन सुरु गरेको थियो । भाषा परीक्षामार्फत रोजगारीका लागि कोरिया ४९ हजार नेपाली कामदार कार्यरत छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं