Date:2017/12/14 |Thursday

पुनः श्रम स्वीकृति विदेशिस्थित कूटनीतिक नियोगबाटै

Posted on: November 23, 2017 | views: 38 | रमेश भारती

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा कार्यरत नेपाली कामदारको पुनः श्रम स्वीकृति विदेशस्थित कूटनीतिक नियोगबाटै जारी गर्ने भएको छ । विदेशमा कार्यरत नेपाली कामदारको करारअवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि नेपाल नै फर्किनुपर्ने बाध्यता छ । 

विदेशमा भएका कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति जारी गर्दा रोजगारीमा गएका धेरै कामदारलाई सहज हुने र नेपालमै आउनुपर्ने बाध्यताको अन्त्य हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । पुनः श्रम स्वीकृति विदेशबाट दिने प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ । पुनः श्रम स्वीकृति समयमा गराउन नसक्दा धेरै रोजगारीका लागि गएका नेपाली कामदार विदेशमा अवैधरूपमा काम गर्न बाध्य छन् । 

नयाँ व्यवस्थापछि भने रोजगारीका लागि गएका नेपाली अवैधानिक हुने क्रम घट्ने श्रम तथा रोजगार मन्त्रालयका सहसचिव भुवनप्रसाद आचार्यले बताए । उनले भने, ‘सरकारले विदेशबाट राहादानी वितरण सुरु गरेकै समयमा पुनः श्रम स्वीकृति वितरण गर्नुपर्ने हो । अहिले वैदेशिक रोजगारीमा कार्यरत कामदारको समस्या भनेको पुनः श्रम स्वीकृति नै हो । पुनः श्रम स्वीकृतिका समयमा रोजगारदाता कम्पनीले बिदा नदिँदा र नेपाल सरकारले स्थापना गरेका कूटनीतिक नियोगबाटय यस्तो सुविधा उपलव्ध नहुँदा विदेशमा नेपाली कामदारमा समस्यामा देखापर्छ ।’ 

सरकारले ढिलै भएपनि कामदारको समस्या समाधान गर्न विदेशिस्थित कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति जारी गर्नु सकारात्मक भएको पिपुल्स फोरमका सल्लाहकार सोम लुइँटेलले बताए । पुनः श्रम स्वीकृति रोजगारीमा गएका कामदार भएकै देशबाट जारी गर्दा खर्च बचत हुने ओरेक नेपालकी सल्लाहकार सञ्जिता न्यौपाने बताउँछिन् । 

नेपालबाट मलेसियाका लागि साढे तीन वर्ष र खाडी मुलुकका लागि साढे दुई वर्षका लागि सरकारले श्रम स्वीकृति दिने गरेको छ । पुनः श्रम स्वीकृतिका लागि कामदार एक महिना नै अघि आउनुपर्छ । कतिपय कामदार नेपाल आउनको झन्झटले पुनः श्रम स्वीकृति नगराई काम गर्ने गरेका छन् । वैदेशिक रोजगारीमा धेरै कामदार पुनः श्रम स्वीकृति समयमा नगराई अवैधानिक हुने गरेको परराष्ट्र मन्त्रालयको अध्यायनलेसमेत देखाएको छ । 

श्रम मन्त्रालयले मलेसिया, साउदी, ओमन, युएई, कुवेत, बहाराइन, कतार र जोर्डनबाट पहिलो चरणमा पुनः श्रम स्वीकृति वितरण २०७४ पुस दोस्रो हप्तादेखि गर्ने तयारी गरेको छ । रोजगारीका लागि कतार, मलेसिया, साउदी र युएई धेरै नेपालीको रोजाइमा पर्ने गरेको छ । विगत २० वर्षमा सरकारबाट रोजगार अनुमति लिएर ४६ लाखभन्दा बढी युवा विदेशिएका छन् । 

सरकारले रोजगार अनुमति संस्थागत १ सय ११ र व्यक्तिगत १ सय ६७ देशलाई दिएको छ । यति धेरै देशमा रोजगारीका लागि कामदार पठाउने नेपालले सीमित देशसँगमात्र श्रम दोहोरो श्रम सम्झौता गरेको छ । गत आर्थिक वर्षमा साढे ६ लाख नेपाली कामदार रोजगारीका लागि विदेशिएका थिए । नेपालको श्रम बजारमा रोजगारीका खोजीमा वार्षिक ५ लाखभन्दा बढी युवा जमात आउने गरेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं