Date:2017/12/14 |Thursday

कुवेतमा अलपत्र ३ सय कामदारको उद्धार गर्न निर्देशन

Posted on: December 07, 2017 | views: 18 |

हिमालय टाइम्स 

काठमाडौं । कुवेतको खराफी नेसनल कम्पनीमा अलपत्र परेका ३ सयजना नेपाली कामदारलाई तत्काल उद्धार गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बुधबार बसेको बैठकले उनीहरूको तत्काल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । बैठकमा वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका पदाधिकारी उपस्थिति रहेको थियो । अलपत्र परेका कामदारलाई तत्काल खाने बस्ने र अन्य आवश्यक सुविधाको व्यवस्था गर्न कुवेतस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

 दूतावासले खराफी नेसनल कम्पनीमा तीन सयजना नेपाली कामदार अलपत्र परेको परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयमा जानकारी गराएको थियो । जसमा ९४ जनालाई दूतावासले शरण दिइरहेको जनाएको छ । श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागले कामदार पठाउने म्यानपावर कम्पनीसँग समन्वय गरी ती कामदारको उद्धार गरिने विभागले जनाएको छ । 

अलपत्र परेका कामदार कुन म्यानपावर कम्पनीबाट गएका हुन्, उनीहरूको पहिचान गरी उद्धारका लागि पहल गरिने विभागले जनाएको छ । दूतावासको शरणमा पुगेका कामदार विभिन्न पाँचवटा म्यानपावरबाट कुवेत गएका हुनसक्ने विभागको अनुमान छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं