Date:2017/12/14 |Thursday

सोचेजस्तो सस्तो छैन विशाखापटनम

Posted on: December 07, 2017 | views: 37 |

हिमालय टाइम्स

काठमाडौं । तेस्रो मुलुकबाट सामान आयात गर्न प्रयोगमा ल्याइएको कोलकाता बन्दरगाहभन्दा प्राविधिक दृष्टिकोणले विशाखापटनम सस्तो र किफायती रहेको दाबी गरिए पनि सोचिएजस्तो सस्तो र किफायती नभएको बताइएको छ । 

विशाखापटनमको गलत व्यवस्थापन मोडलका कारण व्यवसायीले सावधानी अपनाउन नसकेमा महँगो पर्न सक्ने विज्ञले बताएका छन् । दूरीका हिसाबले विशाखापटनमभन्दा कोलकाता बन्दगाह नजिक मानिए पनि प्राविधिक दृष्टिकोणले भने विशाखापटनम निकै सस्तो रहेको दाबी गरिँदै आएको थियो । तर विशाखापटनम बन्दरगाह व्यवस्थापनमा सिन्डिकेट प्रणाली लागू गरिएकोले अपेक्षा गरिएजस्तो नहुने नेपाल पे्रmट फरवार्डस एसोसिएसनका पूर्वअध्यक्ष राजन शर्माले बताएका छन् । उक्त बन्दरगाहमा एउटै सिपिङ, एउटै क्लियरिङ एजेन्ट र एउटै रेलवेजले मात्रै काम गर्न पाउने व्यवस्था कायम गरिएका कारण सोचेजस्तो नहुने उनको भनाइ छ ।

 त्यतिमात्र होइन, विशाखापटनम बन्दरगाहबाट वीरगन्ज ड्राइपोर्टसम्म आइपुग्ने समयावधि पनि तोकिएको छैन । शर्माले हिमालय टाइम्ससँग भने– विशाखापटनम बन्दरगाह हामीले सोचेजस्तो सस्तो नहुने भयो, त्यहाँ निश्चित कम्पनीको मनोपोली चल्ने देखिएको छ किनभने एउटै सिपिङ, एउटै क्लियरिङ एजेन्ट र एउटै रेलवेजले मात्रै काम गर्न पाउने व्यवस्था गरिएको छ । उनका अनुसार यही मोडलमा सञ्चालन भएमा साना व्यवसायीले विशाखापटनबाट फाइदा लिन सक्ने छैनन् । ठूला व्यवसायीलाई भने फाइदा हुनसक्ने उनले बताएका छन् । कोलकाताजस्तो विशाखापटनमबाट दैनिकरूपमा रेलले कन्टेनर नल्याउने भएकोले पनि हतारमा सामान आयात सम्भव छैन । किनभने रेलको भारी पुगेपछि मात्रै विशाखापटनबाट प्रस्थान गर्ने अवस्था देखिएको छ । 

व्यवसायीले दूरीको हिसाबमा कोलकाता बन्दरगाह प्रयोग गरी सामान आयात गर्दा आयातित सामान निकै महँगो हुने गरेको छ । यसबाहेक कोलकाताको साँघुरो बन्दरगाहमा पर्याप्त संख्यामा रेल परिचालन नहुँदा आयातकर्ताले सामानसहितको कन्टेनर भिœयाउन र कन्टेनर फिर्ता पठाउन झण्डै साढे दुई महिना समय लाग्ने गरेको भन्दै विशाखापटनम बन्दरगाह सञ्चालन गर्न माग गर्दै आएका थिए । 

कोलकाताबाट वीरगन्जका लागि हिँडेको कन्टेनर १४ देखि २१ दिनभित्रमा पुनः कोलकाता फर्काइसक्नुपर्छ । सो अवधिमा कन्टेनर फिर्ता पठाउन नसकिँदा आयातकर्ताले विलम्ब शुल्क (डेमरेज) वापत करोडौं अतिरिक्त रकम बुझाउनुपरेको छ । जसका कारण उपभोक्ताको टाउकोमा थप महँगीको भार थपिने गरेको छ ।

 तर कतिपय व्यवसायी र विज्ञहरूले भने कोलकाताभन्दा विशाखापटनम नै सस्तो हुने दाबी गर्दै आएका छन् । विशाखापटनम बन्दरगाह सञ्चालसम्बन्धी अध्ययन गरेका नेपाल इन्टरमोडल यातायात विकास समितिका पूर्व कार्यकारी निर्देशक शरदविक्रम राणाले कोलकाताको तुलनामा विशाखापटनमबाट सामान ल्याउँदा निकै सस्तो र सुविधाजनक हुने बताए । हाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टिइपिसी) का कार्यकारी निर्देशक रहेका राणाले वैज्ञानिकरूपमा सबै विषयवस्तु र शीर्षक जोड्ने हो भने विशाखापटनम निकै सस्तो र उपयुक्त रुट रहेको जिकिर गरेका छन् । उनका अनुुसार मलेसियाबाट आउने सामानको कन्टेनर सोझै कोलकाता बन्दरगाहमा आउन सम्भव छैन ।

कोलकाता बन्दरगाह नदीको किनारमा भएकाले यहाँसम्म कन्टेनर बोकेको ठूलो जहाज सोझै आउँदैनन् । मलेसियाबाट हिँडेको कन्टेनरसहितको ठूलो जहाज कोलम्बो वा सिंगापुरको समुद्रसम्म मात्रै आइपुग्छ । त्यसपछि क्रेनको सहयोगमा ठूला जहाजबाट सामान झारेर सानो जहाजमा लोड गर्ने काम हुन्छ । यसरी यो प्रक्रियामा ठूलो रकम खर्च हुन्छ । सानो जहाजमा लोड भएको सामानसहितको सानो जहाज केही समय लगाएर कोलकाता आइपुग्छ । 

कोलकातामा आइपुगेको सानो जहाजबाट क्रेनको सहयोगमा ती कन्टेनर फेरि झारेर पोर्टमा राख्नुपर्छ, त्यसपछि रेलवेमा लोड गर्न समय तालिका मिलाउनुपर्छ । सामान्यतया एक महिनादेखि डेढ महिनासम्म कोलकाता पोर्टमै त्यस्ता कन्टेनर राख्नुपर्ने हुन्छ । यसरी धेरै दिनसम्म कन्टेनर त्यहाँ राख्दा थप शुल्क तिर्नुपर्ने हुन्छ । 

यसरी हेर्दा मलेसियाबाट कोलकातासम्म सामान ल्याउन दुईपटक जहाज फेर्नुपर्छ । दुईपटक जहाज फेर्दा क्रेनको लोड अनलोड खर्च र समय खर्च धेरै पर्न जान्छ । 

सामान्य जस्तो लागेपनि कोलकाता बन्दरगाह प्रयोग गरी सामान आयात गर्दा प्रक्रिया निक्कै झन्झटिलो, समय पनि अधिक खर्च र खर्चको भार पनि अत्यधिक छ तर मलेसियामा संसारकै ठूलो जहाजमा लोड गरेपछि एकैपटक विशाखापटनमको बन्दरगाहमा लोड अनलोड गरी रेलवेको व्यागनमा हालेर सोझै वीरगन्जको सुख्खा बन्दरगाहमा पु¥याउन सकिन्छ । उनकाअनुसार विशाखापटनम बन्दरगाहबाट वीरगन्ज ल्याउन रेलवेको रुट किफायती मानिन्छ । तर बन्दरगाहको लागि सडकमार्ग भने निकै महँगो मानिन्छ । कोलकाताबाट वीरगन्ज करिब चार सय चार किलोमिटरको दूरीमा पर्छ भने विशाखापटनमबाट वीरगन्ज झण्डै दोब्बर अर्थात एक हजार तीन सय किलोमिटरको दूरीमा पर्छ । 

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा आयातकर्ता प्रदिप केडियाले भने कोलकता रुटबाट ल्याउँदा लाग्ने डेमरेज शुल्क मात्रै नलाग्ने हो भने कोलकाता नै सस्तो भएको दाबी गरेका छन् । केडियाकाअनुसार विशाखापटनमबाट रेलवे रुटबाट सामान आयात गर्न व्यावहारिक रूपमा अहिले सहज छैन । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं