26th April | 2018 | Thursday | 2:52:36 AM

भिएलएन र वान स्टेप सेन्टरमा अख्तियारको निगरानी

  POSTED ON : Saturday, 23 December, 2017 (1:50:12 PM)

भिएलएन र वान स्टेप सेन्टरमा अख्तियारको निगरानी

हिमालय टाइम्स

काठमाडौं । मलेसिया रोजगारीमा जाने कामदारमाथि आर्थिक भार थपिने गरी अनाश्यक शुल्क बढाउने भिएलएन नेपाल र वान स्टेप सेन्टरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्ने भएको छ । भिएलएन र वान स्टेप सेन्टरले एक वर्षमा पटक–पटक मलेसिया जाने कामदारलाई शुल्क बढाएर आर्थिक भार थप्ने काम गर्दा यी संस्थालाई नियमन गर्ने निकायले चासो नदेखाएको भन्दै गोप्य उजुरी परेपछि आयोगले छानविन गर्ने भएको हो । 

यसलाई नियमन गर्ने अधिकार पाएका श्रम तथा रोजगार मन्त्रालय, गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयले चासो देखाएका छैनन् । यस क्षेत्रलाई नियमन गर्ने तीनवटा मन्त्रालय छन् । भिएलएन र वान स्टेपका नाममा धेरै पटक आयोगमा गोप्य उजुरी आएको अख्तियार अनुसन्धान आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए । उनले भने, ‘अख्तियारले भिएलएन र वान स्टेपका विषयमा छानविन गर्नेछ । रोजगारीका लागि मलेसिया जाने कामदारलाई आर्थिक भार थपिएकै हो कि होइन भनेर अनुसन्धानपछि थहा हुन्छ । यदि आर्थिक भार थपिएकै हो भने ती संस्थामाथि कारबाही हुनुपर्छ ।’ वैदेशिक रोजगारी क्षेत्रमा धेरै विकृति छ । 

यस क्षेत्रका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर अख्तियारले अध्ययन गरिरहेको प्रवक्ता रिजालले बताए । अख्तियारले तीन मन्त्रालयलाई कागजपत्र मगाएर छानविन गर्ने जनाएको छ । अख्तियारले गृह, श्रम र परराष्ट्र मन्त्रालयमार्फत कागजपत्र मगाएर भिएलएन र वान स्टेप सेन्टरका विषयमा अनुसन्धान सुरु गर्ने जनाएको छ । वैदेशिक रोजगार व्यवसायीले पटक–पटक भिएलएन र वान स्टेप सेन्टरको खारेजीको माग गरेपनि सम्बन्धित निकायले वेवास्ता गरेपछि यस विषयमा आयोगले चासो देखाएको हो । 

भिएलएन र वान स्टेपका विषयमा व्यवसायीले श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा लिखित रूपमै परेको उजुरीका आधारमा अख्तियारले पूर्वमन्त्री, सचिव, वैदेशिक रोजगार विभागका महानिर्देशकलाई छानविनको दायरामा ल्याउने भएको छ । 

सरकारको अनुमतिविना ७ सयको भिसा शुल्कलाई ७ हजार पु¥याएको, तत्कालीन संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले २०७२ पुस १८ गते गृहमन्त्रालय, उद्योग मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयलाई दर्ता खारेजी गर्न तीनपटक निर्देशन दिइसकेको थियो । यस विषयमा सम्बन्धित निकायले वेवास्ता गर्दै आएको थियो । मलेसिया रोजगारीमा जाने कामदारबाट विभिन्न वहानामा उठाइएको रकम मलेसिया नभई अन्य देशमा भित्रिने गरेको श्रम तथा रोजगार मन्त्रालयका एक कर्मचारीले बताए ।

यी संस्था हङकङको एउटा कम्पनीबाट स्वीकृति लिएर सञ्चालन भइरहेको ती कर्मचारीको भनाइ छ । एउटै कम्पनीले मलेसिया जाने कामदारको भिसाको काम र रोजगारीमा जाने कामदारको अन्य प्रक्रियाको काम गरिएको एक रोजगार व्यवसायीले बताए । भिएलएन र वान स्टेपका नाम वार्षिक ४ अर्बको हाराहारीमा रकम बाहिरिने गरेको छ । यो समस्या समयमै समाधान नभए अन्य रोजगारदाता देशले यस्ता संस्था स्थापना गरेर रोजगारीका लागि विदेशिने कामदारलाई आर्थिक भार थप्ने रोजगार व्यवसायीको भनाइ छ । 

विनकारण मलेसिया जाने कामदारसँग भिएलएनले ३ हजार ६ सय, वान स्टेप सेन्टरले ३ हजार १ सय रुपैयाँ असुल्दै आएका छन्  । हाल मलेसिया जाने कामदारले रोजगार अनुमति पाएपछि १७ हजार रुपैयाँ भिसा शुल्क तिर्नुपर्छ ।  वैदेशिक रोजगार व्यवसायी संघले भिएलएन र वान स्टेप सेन्टरलगायतका संस्थाको खारेजीको माग गर्दै सरकारलाई ५७ बुँदे प्रतिवेदन बुझाएको थियो । यी संस्थाको खारेजीको गर्न व्यवसायीले दुई वर्षदेखि सरकारसँग माग गरिरहेका छन् ।