15th October | 2018 | Monday | 11:43:10 PM

युवालाई रोक्न वडास्तरमा १० दश उद्यमी कार्यक्रम

रमेश भारती   POSTED ON : Thursday, 28 December, 2017 (5:10:34 PM)

युवालाई रोक्न वडास्तरमा १० दश उद्यमी कार्यक्रम

काठमाडौं । सरकार र राष्ट्रिय युवा परिषद्ले युवालाई विदेश पलायन हुनबाट रोक्न नगरपालिका र गाउँपालिकाको प्रत्येक वडामा दश युवालाई उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ । उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषद्को पहलमा प्रत्येक वडामा दश युवा, एक उद्यम कार्यक्रम सञ्चालनमा यसै आर्थिक वर्षदेखि सुरु गरिने परिषद्ले जनाएको छ । स्वदेशमा रोजगारीको अवसर नहँुदा वार्षिक लाखौं युवा कामको खोजीमा विदेशिन बाध्य छन् । युवा विदेशिने क्रमलाई न्यूनीकरण गर्न सरकारले यस्तो कार्यक्रम ल्याएको राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले बताए । उनले भने, ‘प्रत्येक नगरपालिका र गाउँपालिकाका वडाबाट रोजगारीका अवसर सिर्जना ग¥यो भने  युवा विदेशिने क्रम रोकिन्छ । उद्यम कार्यक्रम सञ्चालनमा ल्याएर युवावर्गलाई उद्यमी बनाइयो भने बेरोजगार दर पनि न्यूनीकरण हुँदै जान्छ ।’ स्वदेशमै स्वरोजगार तथा रोजगारमूलक उद्योग सञ्चालनमा ल्याई गरिबी निवारण गर्ने उद्देश्यका साथ उद्योग मन्त्रालय र परिषद्बीच समझदारी भइसकेको परिषद्ले जनाएको छ  । स्थानीय तहमा भएका स्रोतसाधन स्थानीय निकायबाट परिचालन गरी उत्पादन गर्न सकेमा अर्थतन्त्रलाई सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । कृषि, वन, पर्यटन, परम्परागत सीप, हस्तकला र ग्रामीण भेगमा उत्पादन हुने सामग्रीमा आधारित उद्यमको माध्यमद्वारा गरिब तथा बेरोजगार युवालाई उद्यमशील बनाई मुलुकको आर्थिक–सामाजिक रूपान्तरणमा सहभागी गराउने उद्योग मन्त्रालयले लक्ष्य लिएको छ । युवा उद्यम कार्यक्रम तथा विकासका लागि आवश्यक पर्ने व्यवस्थापन तथा प्रविधि खरिद गर्न युवालाई राज्यबाट निव्र्याजी ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयसँग पहल गरिने उद्योग मन्त्रालय योजना शाखाका सहसचिव गोपीकृष्ण खनालले बताए । 

वैदेशिक रोजगारीमा गई ज्ञान सीप प्राप्त गरी फर्किएका र स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गरी उद्यम गर्न चाहनेलाई राम्रो अवसर हुने उनको भनाइ छ । बेरोजगार युवा तथा महिला लक्षित यसकार्यक्रममार्फत संस्थागतरूपमा समन्वय र सहकार्य भई थप रोजगारी सिर्जनाका बाटो निर्माण हुने मन्त्रालयले जनाएको छ । युवा उद्यम विकास कार्यक्रम निर्देशिका, २०७३ बमोजिम कार्यक्रम कार्यान्वयन गर्न युवा उद्यमी छनोट गरी स्थानीयस्तरमा सीप विकास तालिम सञ्चालन तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको परिषद्को भनाइ छ । उक्त कार्यक्रमले सामाजिक परिचालन, उद्यमशीलता विकास, सीप विकास, दक्ष जनशक्ति, रोजगारीका अवसर, वित्तीय पहुँचमा सहजीकरण, उपयुक्त प्रविधिमा पहुँच, बजार पहुँच र व्यावसायिक परामर्शजस्ता सेवालगायतका विषयमा सहजीकरण हुने मन्त्रालयले जनाएको छ । कार्यक्रम सफल भएमा आगामी ७ वर्षभित्र रोजगारीका खोजीमा विदेशिनेको संख्यामा कमी आउने परिषदको दाबी छ । मन्त्रालय र परिषद्को सहकार्यमा आगामी १० वर्षमा प्रत्येक नगरपालिका र गाउँपालिकामा हजारभन्दा बढी उद्यमी र ५ हजारभन्दा बढीलाई रोजगारी रोजगारी प्रदान गर्ने लक्ष्य लिएको छ । कार्यक्रम सञ्चालनका लागि करिब १० अर्ब खर्च हुने मन्त्रालयको अनुमान छ । 


Views: 566