19th January | 2018 | Friday | 11:19:40 AM

डीडीसी दूधमा पनि कोलिफर्म

लेखनाथ पोखरेल   POSTED ON : 2017-12-29 10:55:49

डीडीसी दूधमा पनि कोलिफर्म

काठमाडौं । उपभोक्ताले उपभोग गर्ने अधिकांश दैनिक उपभोग्य वस्तुमा विभिन्न कैफियत भेटिएको छ । धेरैजसो उद्योगले अखाद्य र न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री गरी उपभोक्ताको स्वास्थमाथि खेलबाड गर्ने गरेको पाइएको छ । यसैक्रममा नियमन निकाय प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न ५० उद्योग व्यवसायविरुद्ध मुद्दा दायर गरेको छ । 

विभागले चालु आर्थिक वर्ष २०७४/७५ कात्तिकसम्म उक्त मुद्दा दायर गरेको हो । दायर मुद्दामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीतर्फ ३८, दूध तथा दुग्धजन्य पदार्थतर्फ २०, खाद्यान्न तथा दलहनतर्फ १८ वटा मुद्दा रहेका छन् । त्यस्तै क्रमशः तेल तथा घ्यूतर्फ ९, गुलियो पदार्थतर्फ ९, फल तथा सागपात पदार्थतर्फ ४, दाना पदार्थतर्फ २ र अन्य रहेका छन् । सो अवधिमा अनुगमनका क्रममा संकलन गरिएका ९०३ नमुनामा ११५ वटा नमुना अर्थात् १७ प्रतिशत प्रतिकुल पाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताएका छन् । 

दायर मुद्दामध्ये १८ वटा दूषित खाद्य पदार्थ, २५ वटा न्यून गुणस्तर, ७ वटा लेवलसम्बन्धी रहेका छन् । विभागका तर्फबाट सबैभन्दा बढी १८ वटा मुद्दा दायर भएका छन् भने विराटनगरअन्तर्गतका निरीक्षण इकाइबाट ३, हेटाँैडाअन्तर्गतका निरीक्षण इकाइबाट १५, भैरहवा र अन्तर्गतका निरीक्षण इकाइबाट ८, नेपालगञ्जअन्तर्गतका निरीक्षण इकाइबाट ३ र धनगढीअन्तर्गतका निरीक्षण इकाइबाट चारवटा मुद्दा दायर भएका छन् । 

बारास्थित खानेतल उद्योग एग्रो प्रोसेसिङ एण्ड प्रालिविरुद्ध सबैभन्दा बढी आधा दजर्न मुद्दा दायर भएका छन् । उक्त उद्योगलाई खाद्य ऐनअनुसार पटके मुद्दा दायर गरिएको विभागले जनाएको छ । न्यून गुणस्तरीय तेल उत्पादन गरेको अभियोगमा उक्त उद्योग पटकपटक कारबाहीमा पर्दै आएको छ । त्यस्तै प्रशोधित पानीतर्फ काठमाडौंस्थित जलप्योर ड्रिकिङ वाटर प्रालि, भक्तपुरस्थित नचुरल स्प्रिङ वाटर, सुन्दरीजलस्थित स्तुपा इण्डष्टिज, रूपन्देहीस्थित प्रसिद्ध वाटर इण्डष्टिज रहेका छन् । 

त्यस्तै दूध तथा दुग्धजन्य पदार्थतर्फ ललितपुरस्थित मिल्कमाण्डू डेरी प्रालि, नेपाल डेरी प्रालि, भक्तपुरस्थित संजिवनी डेरी उद्योग, काठमाडौंस्थित सुजल डेरी प्रालि, काठमाडौं डेरी प्रालि, ललितपुरस्थित श्रीराम घ्यू प्याकेजिङ उद्योग रहेका छन् । त्यसैगरी खानेतेल घ्यूतर्फ सुनसरीस्थित स्वस्तिक आयल इण्डष्टिज, बारास्थित आरती भेजिटेव प्रोडक्ट प्रालि, सर्लाहीस्थित चन्द्रेश्वर किराना पसल, रूपन्देहीस्थित सिद्धार्थ आयल इण्डष्टिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ रिफाइनरी एण्ड सोल्भेन्ट इण्डष्टिज, दुर्गा मोर्डन आयल मिल र कास्कीस्थित सुजल डेरी प्रालि रहेका छन् । त्यस्तै मिठाइतर्फ ललितपुरस्थित नन्दन मिठाई भण्डार, भक्तपुरस्थित शंखधर मिठाई पसल, न्यूरोडस्थि गौतम स्वीट्स रहेका छन् भने अन्यतर्फ बालाजुस्थित गोपीकृष्ण खाद्य उद्योग, कालिमाटीस्थित युनिक चिया उद्योग, पाटनस्थित किसान दाना उद्योग, झापास्थित सागरमति फुड्स एण्ड वेभरेज प्रालि, धीरज चामल उद्योग, सुनसरीस्थित तरहरा सपिङ सेन्टर, हरिवनस्थित हिमाल सस, हेटौँडास्थित चुरियामाई बेकरी, विनोद किराना स्टोर, घर संसार, आयुसी जनरल स्टोर, नेपालगञ्जस्थित प्रसान्त चाउमिन सस, दाङस्थित एसियन सुपरमार्के, कोहलपुरस्थित रविन्द्र ब्रदर्स, कञ्चनपुरस्थित आयुष दाना उद्योगलगायत रहेका छन् । 

सो अवधिमा विभागले ११४ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरेको छ भने ७६७ उद्योगको अनुज्ञापत्र नवीकरण गरेको छ र ४३५ नयाँ उद्योग स्थापनाका लागि सिफारिश गरेको छ । खाद्य आयात नियमनतर्फ कुल १३.८०४ आयात अनुमति जारी गरेको छ भने ९० प्रकारका आहारपुरक खाद्य वस्तु उत्पादन दर्ता गरेको छ । त्यस्तै सो अवधिमा विभिन्न खाद्य वस्तुका १० लटहरू तोकिएको मापदण्डभित्र नपरेकोले आयात रोक्का गरिएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिएका छन् । 

डिडिसीविरुद्ध मुद्दा दायर

सरकारी स्वामित्वको डेरी दुग्ध विकास संस्थान (डीडीसी)को दूधमा पनि कोलिफमको मात्रा भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरेको छ । विभागले अनुगमनका क्रममा डीडीसीको प्रशोधित दूधमा हानिकारक तत्व कोलिफर्म फेला परेपछि मुद्दा दायर गरेको हो । अनुगमन क्रममा शंका लागि दूधलाई नमुना परीक्षणका लागि प्रयोगशालामा पठाएको कोलिफमको मात्रा भेटिएपछि गत कात्तिक २१ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत मदनकुमार चापागाईंले जानकारी दिए । 

गत वर्ष विभागको अनुगमन टोलीले बालाजुस्थित दुग्ध वितरण आयोजनामा म्याद गुज्रिएको लेवलमा पाउडर दूध भेटेको थियो । मापदण्डअनुसार दूधमा कोलिफर्मको मात्रा शून्य हुनपर्छ । चापागाईंका अनुसार विगतमा पनि डीडीसी कारबाही पारेको थियो । खाद्य ऐनअनुसार दूषित खाद्य पदार्थ उत्पादन, बिक्री, वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना वा ७ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । डेरी उद्योगी भने दूधमा शून्य कोलिफम सम्भव नरहेको बताउँदै आएका छन् । कोलिफमलाई नै इस्यु बनाएर कारबाही गरिए नेपालको दुग्ध क्षेत्र धरासयी हुने उनीको भनाइ छ ।