26th April | 2018 | Thursday | 2:49:51 AM

फर्किने कामदारको विवरण राखिने

  POSTED ON : Tuesday, 02 January, 2018 (4:38:50 PM)

फर्किने कामदारको विवरण राखिने

रमेश भारती 

काठमाडौं । वैदेशिक रोजगारीमा गई करार अवधि सकिएर फर्किका कामदारको संख्यात्मक विवरण सरकारले यसै हप्तादेखि संकलन सुरु गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले अनलाइन प्रणालीमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम जाँच कक्षबाट फर्किएका कामदारको विवरण संकलन गर्ने जनाएको छ । मन्त्रालयले रोजगारीका लागि बाहिरिएका कामदारको मात्र विवरण राख्ने गरेको थियो । जसका कारण करार अवधि सकिएर फर्किएका कामदारको संख्यात्मक तंथ्याक श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका निकायसँग छैन । मन्त्रालयले फर्किएका कामदारको संख्यात्मक विवरण यसै हप्तादेखि संकलन गर्न सम्पूर्ण तयारी गरिसकेको मन्त्रालयका सचिव लक्ष्मण मैनालीले बताए । उनले भने, ‘मन्त्रालयले यो काम धेरैअघि नै सुरु गर्नुपर्ने थियो, ढिलो भयो, जसका कारण रोजगारीबाट कति कामदार फर्किन्छन् भने विवरण संकलन छुुटेको थियो । यो हप्तादेखि कति कामदार फर्कन्छन् भनेर थाहा हुनेछ ।’ फर्किएका कामदारको विवरण राख्ने विषयमा सरकारले तीन वर्षदेखि तयारी गरिरहेको भन्दै आएको थियो । मन्त्रालयले फर्किएका कामदारको विवरण रोजगारदाता देशअनुसारको राखिने सचिव मैनालीले बताएका छन् । गत आर्थिक वर्षदेखि मन्त्रालयले अनलाइन प्रणालीबाट रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति वितरण सुरु गरेको थियो । सरकारले हाल रोजगारीका लागि बाहिरिएका कामदारलाई श्रम स्वीकृति जारी गरेको आधारमा विवरण राख्ने गरेको छ । 

अहिले व्यक्तिगत र संस्थागत गरी दैनिक १८ सयभन्दा बढी रोजगारीको खोजीमा विदेशिने गरेका छन् भने सोही हाराहारीमा बिदा तथा करारअवधि सकिएका कामदार फर्किने गरेका वैदेशिक रोजगार विभागले जनाएको छ । 


५ महिनामा साढे २ लाखभन्दा बढी विदेशिए

आर्थिक वर्ष सुरु भएको ५ महिनामा रोजगारीको खोजीमा २ लाख ६० हजारभन्दा बढी नेपाली विदेशिएका छन् । पाँच महिनामा संस्थागत १ लाख ४० हजार २ सय ७५ र व्यक्तिगत १ लाख २० हजार ७ सय १० जना गरी २ लाख ६० हजार ९ सय ७९ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि बाहिरिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । रोजगारीका खोजीमा विदेशिने कामदारको संख्या मासिकरूपमै बढ्दै गएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ५ महिनामा २७ हजार बढी कामदार विदेशिएको विभागले जानकारी दिएको छ । गत आर्थिक वर्षको ५ महिनामा २ लाख ३७ हजार कामदारलाई श्रम स्वीकृति जारी गरेको विभागको तथ्यांकमा उल्लेख छ । नेपालमा रोजगारीको अवसर नहुँदा मासिकरूपमै रोजगारीको खोजी विदेशिने नेपालीको संख्या वृद्धि भइरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले बताए । रोजगारीमा गई नेपालमा केही गर्ने उद्देश्य बोकेर स्वदेश फर्किएका कामदारलाई काम गर्ने वातावरण नहुँदा पुनः रोजगारीका लागि विदेशिन बाध्य हुनुपरेको अधिकारीको भनाइ छ । 

साउनमा संस्थागत २८ हजार १ सय २१ र व्यक्तिगत १७ हजार २ सय २१ जनाले श्रम स्वीकृति लिएका थिए । भदौमा संस्थागत ३१ हजार ८६ सय, व्यक्तिगत १९ हजार ५ सय ५१ जना, असोजमा संस्थागत २४ हजार ५ सय ६९, व्यक्तिगत २४ हजार २ सय ७३ जना, कात्तिकमा संस्थागत २८ हजार ५ सय २२, व्यक्तिगत ३१ हजार ७ सय जना र मंसिरमा संस्थागत २७ हजार ९ सय ६५,व्यक्तिगत २७ हजार ९ सय ६५ जना बाहिरिएका छन् । यस अवधिमा संस्थागत ८ हजार ३ सय ९३ र व्यक्तिगत ५ हजार ९ सय ८१ जना महिला विदेशिएको विभागको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय व्यक्तिगत भिसामा विदेशिने महिलाको संख्यामा वृद्धि भएको छ । व्यक्तिगत भिसामा महिला साइप्रस, लेबलान, टर्की र जोर्डन जाने गरेका छन् । नेपालबाट ४० प्रतिशत महिला घरेलु कामका लागि जाने गरेका छन् । साउदी, कतार, र युएईमा भने महिला सुरक्षा गार्ड, सपिङ मल र ब्युटी पार्लरको भिसामा जाने गरेका छन् । नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमा कतार नै परेको छ । कतारपछि मलेसिया, युएई, साउदी र ओमनमा धेरै कामदार जाने गरेको तथ्यांकमा उल्लेख छ । साउदीमा गत वर्षबाट सुरु भएको आर्थिक संकटका कारण साउदी जाने कामदारको संख्यामा गिरावट आएको छ । पछिल्लो समय रोजगारीका लागि मलेसिया जाने कामदारको संख्या बढ्दै गएको विभागले जनाएको छ । तर कतारमाथि खाडीका अन्य मुलुकले लगाएको नाकाबन्दीपछि नेपालबाट रोजगारीका लागि जाने कामदारको संख्या घट्दै गएको छ । अहिले व्यक्तिगत भिसामा युरोपका केही मुलुकमा रोजगारीका लागि जाने नेपाली युवाको संख्या बढ्दै गएको छ । व्यक्तिगत भिसामा मासिक २० हजारभन्दा बढी बाहिरिने गरेका छन् ।