15th October | 2018 | Monday | 10:55:18 PM

दुई अस्पतालविरुद्ध ठगी मुद्दा

  POSTED ON : Wednesday, 03 January, 2018 (3:56:04 PM)

दुई अस्पतालविरुद्ध ठगी मुद्दा

हिमालय टाइम्स

काठमाडौं । बिरामीसँग अत्यधिक शुल्क असुल्ने अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्यूरोलोजी एण्ड एलाइड साइन्सेज (न्यूरो अस्पताल) र वसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालविरुद्ध मंगलबार ठगी मुद्दा दायर गरेको हो । 

प्रहरी यस्तै कसुरमा अन्य अस्पतालविरुद्ध पनि मुद्दाको तयारी गरिरहेको जनाएको छ । महानगरीय प्रहरी परिसर टेकूले बी एण्ड बी, ग्राण्डी इन्टरनेशनल, नर्भिक र बयोधाविरुद्ध पनि मुद्दा हाल्ने भएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रविन्द्र धानुकका अनुसार पहिलो चरणमा दुई अस्पतालविरुद्ध मुद्दा दायर गरिएको भएपनि अन्य अस्पताल अनुसान्धानका क्रममा रहेको र केही दिनमै मुद्दा दायर गरिनेछ । 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमविपरीत ती अस्पतालहरूले उपचारका नाममा बिरामीसँग चर्को शुल्क लिई ठगी गरेको भन्दै कारबाहीका लागि सोमबार प्रहरीलाई पत्राचार गरेको थियो । विभागका महानिर्देशक कुमार दाहालका अनुसार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल, ग्वार्कोस्थित बी एण्ड बी अस्पताल, वसुन्धरास्थित ईशान बाल तथा महिला अस्पताल र बाँसबारीस्थित न्यूरो अस्पतालविरुद्ध मुद्दाका लागि प्रहरीलाई पत्र पठाइएको हो । 

आपूर्ति विभागद्वारा अनुगमनका क्रममा इसान अस्पतालले बेड, बेड चार्ज डिलक्स गरी एकै शीर्षकमा दुईपटकसम्म बिरामीबाट शुल्क असुल गरेको, गेट पास चार्ज, अपरेशन चार्ज, प्रक्रिया चार्ज, प्रिएनेक्स चार्ज तथा बिरामी कुरुवाको समेत शुल्क असुल गरेको भेटिएको थियो । न्यूरो अस्पतालले पनि बिरामीसँग रजिस्ट्रेसन, कन्सल्टेन्ट, अपरेसन, ल्याबलगायत नाममा चर्को शुल्क असुललेपछि पनि पुनः सेवा शुल्क १० प्रतिशत असुल गरेको फेला परेको थियो । 

एउटा बिरामीको कुल खर्च एक लाख हुँदा विभिन्न सेवा शुल्कका नाममा अतिरिक्त २५ हजार रुपैयाँ थप असुल्दै आएको पाइएको महानिर्देशक दहालले जानकारी दिए । महानगरीय प्रहरी परिसर टेकूले बी एण्ड बी, ग्राण्डी इन्टरनेशनल, नर्भिक र बयोधाविरुद्ध मुद्दा हाल्ने भएको छ । विभागको अनुगमन टोली संयोजक दीपकराज पोखरेलले अन्तर्राष्ट्रियस्तरको सेवा सुविधाका नाममा धापासीस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा बिरामीसँग ठगी भइरहेको बताए । 

सरकारले स्वास्थ्य सेवामा पाँच प्रतिशतमात्रै भ्याट लिन पाउने व्यवस्था गरेको छ । तर उक्त अस्पतालले भने हरेक सेवा सुविधामा बिरामीबाट १३ प्रतिशत भ्याट असुल गर्दै फेलापरेको उनले बताए । पोखरेलका अनसार हस्पिटलको मेडिकल निर्देशकले पनि हाकाहाकी बिरामीबाट १३ प्रतिशत भ्याट असुल गर्दै आएको स्वीकार गरेको छ । अनुगमन टोलीका सदस्य उपभोक्ता मञ्च नेपालका सचिव विष्णु तिमल्सिनाले ग्राण्डीले मापदण्डविपरीत गरिब र निःसहाय बिरामीका लागि कुनै प्रकारको शैøयासमेत नछुट्याएको बताए । सरकारले हस्पिटलमा कुल शैøयामध्ये १० प्रतिशत गरिब र निः सहाय बिरामीका लागि छुट्टयाउनुपर्ने मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याएको छ ।

तिमल्सिनाका अनुसार उक्त अस्पतालले भने सरकारलाई कर तिरेपछि बिरामीबाट सेवा सुविधाबापत रकम लिन पाउने दाबी गरेको थियो । त्यस्तै विभागका अनुगमन अधिकृत रमेशकाजी श्रेष्ठको अनुगमन टोलीले बी एण्ड बी अस्पतालको एउटै स्थानमा रहेका शैøयाको फरक–फरक शुल्क असुलेको भेटेको थियो । अनुगमन सलग्न राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार फरक–फरक शैøयामा फरक–फरक चिकित्सक र नर्सले उपलब्ध गराएको सुविधाको पनि बिरामीबाट थप असुल गर्दै आएको फेलाप¥यो । उक्त अस्पतालले सरकारबाट एक सय शैøयाको स्वीकृति लिएपनि आफूखुशी एक सय २५ वटा शैøया सञ्चालन गर्दै आएको भेटिएको उनले बताए । विभागले नर्भिकमा शैøया शुल्क असुल गरेर पुनः अर्को शीर्षकमा बेड सर्भिस चार्ज, नर्सिङ सेवा शुल्कजस्ता दोहोरो खालको शुल्क र बिरामी कुरुवा बस्ने स्थानको पनि शुल्क असुल्ने भेटिएको थियो । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले निजी अस्पतालले स्वास्थ्य सेवा कर र भ्याटमध्ये एउटा शीर्षकमा मात्रै कर असुल गर्न पाउने कानुनी व्यवस्थाको खिल्ली उडाइरहेको बताए । 


Views: 56