19th July | 2018 | Thursday | 1:44:10 PM

तरलता समस्याले औद्योगिक क्षेत्र प्रभावित

  POSTED ON : Wednesday, 03 January, 2018 (3:59:19 PM)

तरलता समस्याले औद्योगिक क्षेत्र प्रभावित

हिमालय टाइम्स

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले केही समययता मुलुकको औद्योगिक अर्थ व्यवस्थामा देखिएको तरलता समस्याले औद्योगिक क्षेत्र प्रभावित हुन थालेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । सिएनआर्ईका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री देउवासँग भेट गरी मुलुकको वर्तमान अर्थ व्यवस्थामा आएको तरलताका कारण उद्योग–व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनका लागि पहल गर्न आग्रह गरेको छ । 

प्रतिनिधिमण्डलले तरलता संकटका कारण बंैकिङ प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा उल्लेखनीय वृद्धि भई बढ्दो ब्याजदरले उत्पादन लागतमा वृद्धि भई उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिकूल असर पर्न गएको भन्दै प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको जनाएको छ । यही अवस्था कायम रहेमा आगामी वर्षभित्र मुलुकको व्यवसाय लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पुग्ने भन्दै सिएनआईले चिन्ता व्यक्त गरेको छ ।

सिएनआईले अर्थतन्त्रको आकार बढेअनुरूपको आर्थिक व्यवस्थापन पक्ष कमजोर रहेको र वित्तीयअनुशासन कायम गरी ब्याजदरलाई वान्छित सीमाभित्र ल्याउन सम्बन्धित सरोकारवाला नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, नेपाल बैंकर्स एसोसिएसनलगायतले उपयुक्त मौद्रिक नीति तथा वित्तीय उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । गत वर्ष पनि तरलता समस्यापछि राष्ट्र बैंकको पहलबाट ब्याजदर वान्छित सीमामा आई तत्कालका लागि तरलता समाधान भई औद्योगिक व्यवसायको वातावरण सहज भएकोमा पुनः समस्या छोटो अवधिमा देखिनुले केन्द्रीकरण संरचनात्मक, नीतिगत र व्यवस्थापकीय तहमै परिवर्तन गर्नु आवश्यक देखिएको सिएनआर्ईका अध्यक्ष शर्माले बताएका छन् । 

मुलुकको कठिन अवस्थामा सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्रीलाई बधाई दिँदै आर्थिक समृद्धि, लगानी र विधिको साशन सबै तहको निर्वाचन सम्पन्न भइसकेको सन्दर्भमा ठूलो अवसर भएको पनि सिएनआर्ईको भनाइ छ । सो अवसरमा प्रधानमन्त्री देउवाले आर्थिक समृद्धि तथा समग्र अर्थतन्त्रको विकासका लागि आफू कटिबद्ध रहेको भन्दै हालको तरलताको समस्या पनि सम्बन्धित सरोकारवालासँग छलफल गरी छिटै सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । सोही क्रममा सिएनआर्ईका अध्यक्ष शर्माले तरलता समस्या र समाधानका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।