19th January | 2018 | Friday | 11:17:02 AM

मूल्यबृद्धि नियन्त्रणको मागगर्दै प्रशासनलाई ज्ञापन–पत्र

चन्द्रकान्त खनाल   POSTED ON : 2018-01-03 12:21:15

मूल्यबृद्धि नियन्त्रणको मागगर्दै प्रशासनलाई ज्ञापन–पत्र

रुपन्देही । निर्माण सामाग्रीकोे बिनाकारण उद्योगीले मुल्य बृद्धि गरेको भन्दै रुपन्देहीका हार्डवेयर व्यबसायीहरुले मूल्यबृद्धि नियन्त्रणको माग गरी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाएका छन् । 

छड तथा सिमेण्ट उद्योगहरुले बिनाकारण मूल्य बृद्धि गरेको भन्दै जिल्लाका हार्डवेयर व्यबसायीहरुको संस्था रुपन्देही सिद्धार्थ निर्माण सामाग्री व्यवसायी संघको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो । 

उद्योगीहरुले विना कारण मूल्य वृद्धि गरेपछि यसको प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर ब्यवसायीमा परेको बताउँदै मूल्यबृद्धिको चौतर्फी विरोध भईरहँदा समेत सरोकारवाला निकायवाट अनुगमन, छानविन तथा मूल्य नियन्त्रण गर्नेतर्फ कुनै कदम नचालिनु अर्को आश्चर्यको विषय बनेको संघका अध्यक्ष सुनिल मरासिनीले वताए ।

‘वर्तमान अवस्थामा नेपालमा लोडसेडिङ् भैरहेको छैन, डलरको भाउ समेत बढेको छैन, बिरगंज बाहेक अन्य नाकाबाट सहज रुपमा क्लिङ्कर आयात भईरहेको छ भने भारतमा समेत क्लिङ्करको भाउ बढेको छैन र अहिले स्वदेशमै प्रसस्त मात्रामा क्लिङ्कर मौज्दात रहेको अवस्था छ ।’ ज्ञापन पत्रमा भनिएको छ–‘यस्तो अवस्थामा समेत उद्योगीहरुले एकाएक मूल्यबृद्धि गर्नु आम उपभोक्तामाथि शोषण र अन्याय गर्नु हो भन्ने हाम्रो ठहर छ ।’

एकातर्फ उद्योगीहरुले सिमेण्ट र छडमा मूल्यबृद्धि गरेर आम उपभोक्तामाथि भार थोपर्ने काम गरेका छन भने अर्कोतर्फ ट्रक व्यवसायीहरुले समेत ढुवानी भाडा बढाएर आम उपभोक्तालाई दोहोरो मारमा पारेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

उद्योगहरुले मूल्यबृद्धि गर्नुको कारण र औचित्य पुष्टी हुने गरी सम्वन्धित उद्योगहरुको अनुगमन गरि आम व्यवसायी र उपभोक्ताहरुलाई चित्तबुझ्दो जवाफ दिन ज्ञापन पत्र मार्फत प्रशासनको ध्यानाकर्षण गराईएको छ । छानविनको क्रममा उद्योगीले मूल्यबृद्धि गर्नुको औचित्य पुष्टि गर्न नसके त्यस्ता उद्योगीलाई कारवाहीको दायरामा ल्याउन र बृद्धिगरिएको मूल्य क्षतिपूर्तिसहित फिर्ता गराउनेतर्फ कदम चाल्न समेत प्रशासनलाई आग्रह गरिएको छ । 

उद्योगीले बृद्धि गरेको मूल्यमा व्यवसायीहरुले माल उठाउन नसक्ने र उपभोक्ताहरुले समेत चर्को मूल्य तिरेर सामान खरिद गर्न नसक्ने बताउँदै अध्यक्ष मरासिनीले यही अवस्था कायम रहीरहे व्यवसाय नै वन्द गरेर आन्दोलनमा उत्रिनु बाहेकको विकल्प नरहेको वताए 

व्यवसायी व्यवसाय वन्द गरेर आन्दोलनमा उत्रिदा सरकारी, नीजि लगायतका निर्माण आयोजनामा पर्न जाने प्रत्यक्ष असरप्रति सम्वन्धित पक्ष स्वयं जवाफदेही हुनुपर्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

 ज्ञापन पत्र बुझ्दै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले व्यबसायीले उठान गरेको कुरा सान्दर्भिक भएको वताए । उनले उद्योगहरुले बिना कारण मुल्यबृद्धि गर्न नपाउने बताउँदै त्यसतर्फ प्रशासन चनाखो हुने प्रतिवद्धता व्यक्त गरे । छड सिमेन्टमा मुल्य बृद्धिभएको समाचार आएपछि प्रशासनले गरेको अनुगमनबाट पनि मुल्य बृद्धि भएको पुष्टि गरेको बताउँदै प्रशासनले कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे ।