19th July | 2018 | Thursday | 1:47:11 PM

वैदेशिक लगानी डेढ खर्ब

  POSTED ON : Thursday, 04 January, 2018 (4:03:02 PM)

वैदेशिक लगानी डेढ खर्ब

हिमालय टाइम्स

काठमाडौं । नेपालमा हालसम्म एक खर्ब ५१ अर्बको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । विभिन्न २५२ वटा कम्पनीले उक्त रकम लगानी गरेका हुन् । त्यसमध्ये करिब ५४ अर्ब रुपैयाँ कम्पनीहरूको चुक्तापुँजी रहेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार वैदेशिक लगानीका उद्योगमध्ये ३७ वटा उत्पादनमूलक रहेका छन् ११ वटा निर्यातजन्य उद्योग रहेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा बुधबार राजधानीमा आयोजित उद्योग तथा व्यापार नीति विषयक कार्यशाला नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले उक्त जानकारी दिएका हुन् । 

उनले आयात र निर्यातबीचको खाडल गहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । उनले नेपालको औद्योगिक विकास एनडिसी बैंकको भूमिकाको चर्चा गर्दै निर्यात प्रवद्र्धनका लागि एक्स्पोर्ट इम्पोर्ट बैंकको आवश्यकतामासमेत औल्याए । वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सरोकारवाला सबैले निर्यात प्रवद्र्धनको कुरा गर्दै आएपनि दबाबमूलक रूपमा कसैले पनि निर्यात प्रवद्र्धनका लागि भूमिका नखेलेको बताए । 

आयातको तुलनामा निर्यात बढ्न नसक्नुमा सरकार, निजी क्षेत्र र सञ्चारमाध्यमसमेत दोषी रहेको उनको भनाइ थियो । सरकार रेमिट्यान्समा भरपर्दा निर्यात क्षेत्र ओझेलमा परेको भन्दै पछिल्लो सयम रेमिट्यान्स घट्दै गएकाले निर्यातको विकल्प नरहेको बताए । उनले सरकार र व्यवसायी र अन्य सरोकारवा निकायले मिहिनेत गरेका निर्यात बढाउन सकिने बताएका छन् । निर्यात व्यापारमा सरकारले अवलम्बन गरेको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआइएस)को महŒवपूर्ण योगदान रहेको उनले बताए । 

उनका अनुसार निर्यात व्यापार ४४ प्रतिशत योगदान एनटीआइसकै रहेको छ । वक्ताहरूले भारतसँगको स्थिर मुद्रा सटही प्रणाली पुनरावलोकन हुनुपर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, उद्यमशीलता विकासका निम्ति निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने प्राविधिक एवं भौतिक पूर्वाधारको पर्याप्त उपयोग हुनुपर्नेमा जोड दिएका थिए । अलैँची, अदुवा, चियाजस्ता निर्यातजन्य कृषि उपज भारतमात्र होइन अन्य मुलुकतर्फ निकासी गर्नेगरी ठूलो परिमाणमा उत्पादन गर्नुपर्ने तथा गलैँचा, तयारी पोशाक र पश्मिनाको बजारीकरणमा आक्रामक ढंगले लाग्नुपर्ने आवश्यकता उनीहरूले औंल्याएका थिए ।

कार्यक्रममा साउतीका अध्यक्ष डा. पोषराज पाण्डे र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मा, डा. पुस्कर बज्राचार्यले सम्बन्धित विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष अञ्जनकुमार श्रेष्ठलगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । डा. शर्माले पछिल्लो समयमा आर्थिक क्षेत्रका ऐन तथा नियममा संशोधन भई सकारात्मक बाटो लिएको भन्दै प्राविधिक तथा व्यावहारिक पक्षलाई सकारात्मक बनाउनुपर्ने बताए । 

पूर्वसचिव सूर्यप्रसाद सिलवालले निजी क्षेत्रसँग सहकार्य गरेर नै सरकारले नीति तथा नियम ल्याउने गरेको र पछिल्लो समय औद्योगिक वातावरण बन्दै गएको बताए । परिसंघका अध्यक्ष हरिभक्त शर्माले आयात प्रवद्र्धन गर्ने नीतिका कारण मुलुकका उद्योगमाथि उठ्न नसकेको भन्दै नीतिगत सुधार गर्दा त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताएका थिए ।

यसैबीच भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा आगामी एक महिनाभित्रै विद्युत् उपलब्ध हुने भएको छ । उद्योग सविच यमकुमारी खतिवडाले उक्त जानकारी दिएकी हुन् । एक महिनाभित्र विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणसँग सहमति भएको उनले बताएकी छन् । सेजमा उद्योग सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार तथा ऐन तयार भएपनि विद्युत्को व्यवस्था नहुँदा मुलुककै पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा सञ्चालनमा आउन सकेको छैन । विशेष आर्थिक क्षेत्र प्राधिकरणले २२ भन्दा बढी औद्योगिक प्रस्तावलाई सञ्चानका लागि स्वीकृत दिइसकेको छ । 

तुलनात्मक लाभका क्षेत्रलाई केन्द्रित गरी स्थापना हुने उद्योगलाई अधिकतम सहुलियत दिने सरकारको नीति खतिवडाले बताएकी छन् । सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेमात्र आर्थिक समृद्धि सहज हुने उनको भनाइ थियो ।