15th October | 2018 | Monday | 10:42:11 PM

मापदण्डविपरीतका ग्यास उद्योगलाई कारबाही हुने

  POSTED ON : Friday, 05 January, 2018 (3:51:38 PM)

मापदण्डविपरीतका ग्यास उद्योगलाई कारबाही हुने

लेखनाथ पोखरेल

काठमाडौं । सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका ग्यास रिफिलिङ उद्योगलाई कारबाही गर्ने भएको छ । सरकारले उभपोक्ताको सुरक्षालाई ध्यानमा राखी पटकपटक मापदण्ड पूरा गर्न निर्देशन जारी गरेपनि अटेरी गर्दै आएको भन्दै अब भने ग्यास उद्योगले छुट नपाउने नेपाल गुणस्तर तथा नापतौल विभागले चेतावनी दिएको छ । 

विभागका अनुसार नेपालका अधिकांश ग्यास बोटलिङ प्लान्ट असुरक्षित छन् ।  उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर गत वर्षदेखि कार्यान्वयनमा आएको नेपाल गुणस्तर ५३३ अन्तर्गत स्टाण्डर्ड अफ एलपिजी बोटलिङ अपरेशन नामक मापदण्डप्रति उद्योगीले अटेरी गर्दै आएकाले शुक्रबारदेखि कारबाही प्रक्रिया सुरु गरिने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले हिमालय टाइम्सलाई बताए । 

महानिर्देशक पुडासैनीले उद्योगीहरुले मापदण्डअनुसार उद्योगीहरुले नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) लिन अटेरी गरेकोले कारबाहीस्वरूप उद्योग नै बन्द गराउन लागिएको बताएका छन् । मापदण्डको दायरामा आउन धेरै समय दिँदा पनि ग्यास उद्योगीहरुले अटेर गरी गुणस्तर प्रमाणपत्र लिन नमानेको उनको भनाइ छ । उपभोक्ताको ज्यान जोखिममा राखेर ग्यासको कारोबार गर्न नपाइने पनि उनले बताएका छन्  । 

उनका अनुसार विभागले सुरुमा सबै उद्योगमा अनुगमन सुरु गर्ने र मापदण्ड पूरा नगरेको भेटिए उद्योग बन्द गर्र्नेसम्मको कारबाही अघि बढाउनेछ । अनुगमनको क्रममा गुणस्तर प्रमाणपत्र नलिएका र मापदण्डविपरीतका उद्योगलाई कारबाहीको दायरामा ल्याइने उनले बताए । मापदण्डविपरीतका उद्योग शिलबन्दी गरी सञ्चालनमा रोक लगाउन तत्कालै जिल्ला प्रशासन कार्यालय, प्रहरी र नेपाल आयल निगमलाई पत्राचार गरिने उनको भनाइ छ । 

नेपालमा सञ्चालित एलपिजी ग्यास उद्योग उपभोक्ताको ज्यानसँग खेलवाड गर्दै आएको र सरकारले नियन्त्रण गर्न खोज्दा आपूर्ति ठप्प पारेर ग्यास उद्योगहरूले सरकारलाई चुनौती दिने गरेका छन् । विभागले गत वर्षको कात्तिक २९ गते राजपत्रमा प्रकाशित गरेर सोही वर्षको माघ २९ गतेदेखि मापदण्डलाई अनिवार्यरूपमा पालन गरी एनएस प्रमाणपत्र लिन उद्योगीलाई समय दिएको थियो । तर हालसम्ममा जम्मा चार उद्योगलेमात्रै यस्तो प्रमाणपत्र लिएका छन् ।

विभागका अनुसार कुल ५५ उद्योगमध्ये मनोज, नेपाल, श्रीकृष्ण र साइबाबा ब्रान्डका ग्यास उद्योगले मापदण्ड पालना गरी गुणस्तर चिहृन प्राप्त गरेका छन् । यस्तै अर्ध सरकारी संस्था साल्ट ट्रेडिङ कर्पोरेसन, बाबा, ओम, जापानी लगानी भिœयाएको एनएल ब्राण्डका ग्यास उद्योगलगायतका ११ उद्योगले गुणस्तर प्रमाणपत्र लिन आवेदन दिएका छन् । तर उल्लिखित ११ उद्योगले मापदण्ड पूर्णरूपमा पालना नगरेकाले सम्पूर्ण मापदण्ड पूरा गरेर आउन विभागले निर्देशन जनाएको छ । 

मापदण्डअनुसार हाल बजारमा रहेका कुच्चिएका, म्याद नाघेका, लिकेज हुने, बांगाटिंगा, रंग खुइलिएका सिलिण्डरको कारोबार गर्न पाइनेछैन । मापदण्डमा सिलिण्डर उत्पादन, उत्पादित सिलिण्डर प्राप्त गर्दाको अवस्था र गुणस्तर, ग्यास रिफिल गर्दा र स्टोरेज गर्दा अपनाउनुपर्ने सम्पूर्ण सुरक्षा उपायसम्बन्धी प्रावधान समावेश गरिएको छ । 

खासगरी केहीअघि बीरगंजस्थित सुपर ग्यास उद्योगमा ठूलो आगलागीको घटनापछि विभाग मापदण्ड कार्यान्वयनका लागि पुनः तातेको हो । तर उद्योगीले भने सबै उद्योगले मापदण्ड पूरा गरेरै सञ्चालन गर्दै आएको दाबी गरेका छ न् । तत्कलिन अवस्थामा सञ्चालन अनुमित लिँदा मापदण्ड पूरा गरैर लिएको उनीहरुको भनाइ छ । एक वर्षअघि आएको मापदण्डअनुसार जान आर्थिकरूपमा निकै चुनौतीपूर्ण रहेको उनीहरुले बताएका छन् । 

नयाँ मापदण्डको दायरामा आउन कतिपय ग्यास उद्योगले थप जग्गा खरिद गर्नुपर्ने, कतिपय उद्योगले थप गाडी खरिद गर्नुपर्ने भएकाले निकै खर्चालु हुने उद्योगीको तर्क रहेको छ । 


Views: 57