19th January | 2018 | Friday | 11:16:01 AM

दुई ग्यास उद्योग बन्द

लेखनाथ पोखरेल   POSTED ON : 2018-01-06 05:13:22

दुई ग्यास उद्योग बन्द

काठमाडौं । सरकारले मापदण्डविपरीतका दुईवटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबार अनुगमनका क्रममा तोकिएको मापदण्डअनुसार नभएको ठहर गरी काभ्रे जिल्लामा रहेका दुई ग्यास उद्योग बन्द गराएको हो ।

नेपाल गुणस्तर ५३३ अन्तर्गतको ‘स्टान्डर्ड फर एलपिजी बोटलिङ ओपरेसन’ सम्बन्धी मापदण्ड पालना नगरेको ठहर गरी विभागले ती उद्योगमा रिफिलिङमा रोक लगाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार बनेपास्थित चण्डेश्वरी ग्यास उद्योग र सूर्य ग्यास इन्डस्ट्रिज प्रालि बन्द गराइएको छ ।

विभागले काभ्रेका तीनवटा उद्योगमा अनुगमन गरेको थियो । चण्डेश्वरी ग्यास उद्योगले सिलिन्डरसम्बन्धी हाइड्रोस्टाटिक परीक्षण नगराएको, टियरसम्बन्धी तौलको परीक्षण नगराएको र अनिवार्यरूपमा लिनुपर्ने गुणस्तरसम्बन्धी प्रमाणपत्र नलिएकाले उद्योग सञ्चालनमा रोक लगाइएको उनले बताए । 

त्यस्तै, सिलिन्डरमा सुरक्षासम्बन्धी क्याप नलगाएको, पुनः मर्मतसम्भार गरी सिलिन्डरमा भल्व प्रयोग गरेको तथा गुणस्तरसम्बन्धी प्रमाणपत्र लिन अटेर गरेकोमा सूर्य ग्यास पनि बन्द गराएको महानिर्देशक पुडासैनीले बताए ।

ती ग्यास उद्योगको फितलो सुरक्षा व्यवस्थाका कारण कामदारसमेत उच्च जोखिममा रहेकाले बन्द गराइएको उनको भनाइ छ । विभागको अनुगमन टोलीले सोही स्थानमा रहेको सगरमाथा ग्यास उद्योगमा पनि अनुगमन गरेको छ ।  उक्त उद्योगले गुणस्तरसम्बन्धी प्रमाणपत्र प्राप्त गर्न आवेदन दिएकाले सुधार गर्न निर्देशन दिइएको पुडासैनीले जानकारी दिए । 

सरकारले उपभोक्ताको सुरक्षालाई ध्यानमा राखी मापदण्ड पूरा गर्न पटकपटक  निर्देशन जारी गरे पनि अटेर गर्दै आएकाले लापरबाही गर्ने ग्यास उद्योगले छुट नपाउने विभागको भनाइ छ । विभागका अनुसार नेपालका अधिकांश ग्यास बोटलिङ प्लान्ट असुरक्षित छन् । उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर गत वर्षदेखि कार्यान्वयनमा आएको मापदण्ड कार्यान्वयनमा उद्योगीले अटेर गर्दै आएका छन् ।

महानिर्देशक पुडासैनीले उद्योगीहरूले मापदण्डअनुसार नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) लिन अटेर गरेकाले कारबाहीस्वरूप उद्योग नै बन्द गराउने क्रम सुरु गरिएको बताए । उपभोक्ताको ज्यान जोखिममा राखेर ग्यासको कारोबार गर्न नपाइने उनले प्रस्ट पारे ।

विभागले गत वर्ष कात्तिक २९ गते राजपत्रमा सूचना प्रकाशित गरी सोही वर्षको माघ २९ गतेदेखि मापदण्ड अनिवार्यरूपमा पालन गरी एनएस प्रमाणपत्र लिन उद्योगीलाई समय दिएको थियो । हालसम्ममा जम्मा चार उद्योगले मात्रै यस्तो प्रमाणपत्र लिएका छन् ।

विभागका अनुसार कुल ५५ उद्योगमध्ये मनोज, नेपाल, श्रीकृष्ण र साइबाबा ब्रान्डका ग्यास उद्योगले मापदण्ड पालना गरी गुणस्तर चिहृन प्राप्त गरेका छन् । यस्तै अर्ध सरकारी संस्था साल्ट ट्रेडिङ कर्पोरेसन, बाबा, ओम, जापानी लगानी भिœयाएको एनएल ब्रान्डका ग्यास उद्योगलगायतका ११ उद्योगले गुणस्तर प्रमाणपत्र लिन आवेदन दिएका छन् । 

मापदण्डअनुसार हाल बजारमा रहेका कुच्चिएका, म्याद नाघेका, लिकेज हुने, बांगाटिंगा, रङ खुइलिएका सिलिन्डरको कारोबार गर्न पाइनेछैन । मापदण्डमा सिलिन्डर उत्पादन, उत्पादित सिलिन्डर प्राप्त गर्दाको अवस्था र गुणस्तर, ग्यास रिफिल गर्दा र स्टोरेज गर्दा अपनाउनुपर्ने सम्पूर्ण सुरक्षा उपायसम्बन्धी प्रावधान समावेश गरिएको छ । 

यसैबीच नेपाल ग्यास उद्योग संघले सबै ग्यास उद्योगले गुणस्तरको प्रमाणपत्र लिने र यसका लागि केही दिन लाग्ने जनाएको छ ।