20th June | 2018 | Wednesday | 3:13:52 PM

कोरिया जाने कामदार बढेपनि रेमिट्यान्स बढेन

  POSTED ON : Thursday, 11 January, 2018 (3:51:45 PM)

कोरिया जाने कामदार बढेपनि रेमिट्यान्स बढेन

रमेश भारती 

काठमाडौं । पछिल्लो समय दक्षिण कोरिया रोजगारीमा जाने नेपाली कामदारको संख्यामा वृद्धि भएपनि त्यहाँबाट भित्रिने रेमिट्यान्स भने खासै बढेको छैन । विगत १० वर्षमा करिब ५० हजारभन्दा बढी नेपाली भाषा उत्तीर्ण गरी रोजगारीका लागि कोरिया पुगेका छन् । कोरिया रोजगारीका लागि वार्षिक सात हजारभन्दा बढी कामदार जाने गरेको वैदेशिक रोजगार इपीएस कोरिया शाखाले जनाएको छ । 

पछिल्लो समय कोरिया गएका नेपाली कामदारले पाउने पारिश्रमिकअनुसारै रकम पठाउने हो भने पनि वर्षमा अन्य देशको तुलनामै रेमिट्यान्स नेपाल भित्रिनुपर्ने कोरिया शाखाका प्रमुख बाबुराम खतिवडाले बताए । उनले भने, ‘कोरियाबाट कम्तीमा वर्षको ३०–४० अर्ब रुपैयाँ भित्रिनुपर्नेमा त्यसको एक तिहाइमात्र रेमिट्यान्स भित्रिने गरेका छ । कोरियामा कार्यरत कामदारले हुण्डीबाट रेमिट्यान्स पठाउने गरेको प्रष्ट हुन्छ ।

खतिवडाका अनुसार कोरिया गएका नेपाली कामदारको मासिक न्यूनतम तलब एक लाख ५० हजार रुपैयाँ तोकिएको छ । भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गएका कामदार र उनीहरूले प्राप्त गर्ने न्यूनतम पारिश्रमिकलाई आधार मान्दा पनि रेमिट्यान्स धेरै बढ्नुपर्ने शाखाका अधिकृत शोभाकर भण्डारीको भनाइ छ ।

नेपाल राष्ट्र बंैकको पछिल्लो तीन वर्षमा भित्रिएको रेमिट्यान्सको तथ्यांक हेर्न हो भने कोरिया जाने कामदारले कमाइअनुसारको रेमिट्यान्स पठाएको देखिँदैन । आर्थिक वर्ष ०७३÷७४ मा नेपालले प्राप्त गरेको कुल रेमिट्यान्समा कोरियाको योगदान १.६ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७३÷७४ मा नेपालले प्राप्त गरेको कुल रेमिट्यान्समा कोरियाको योगदान १.५ प्रतिशतमात्र छ, यो गत आर्थिक वर्षभन्दा कम हो । 

आर्थिक वर्ष ०७२÷७३ मा कुल रेमिट्यान्समा कोरियाको योगदान १.७ प्रतिशतमात्र थियो । त्यसभन्दा अघिल्लो वर्ष पनि कोरियाबाट भित्रिएको रेमिट्यान्स एक प्रतिशतभन्दा कम रहेको राष्ट्र बैकको तथ्यांकमा उल्लेख छ । विगत तीन वर्षमा पनि कोरियाबाट भित्रिने रेमिट्यान्समा सुधार हुन सकेको छैन । 

आर्थिक वर्ष ०७३÷७४ मा नेपालमा ६ खर्ब ९७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको बैंकले जनाएको छ । गत वर्षको तुलनामा करिब ३० अर्ब बढी रेमिट्यान्स भित्रिएको हो । विगत चार वर्षदेखि विदेशबाट भित्रिने रेमिट्यान्समा वृद्धि भइरहेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा ६५ अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिएको बंैकको विप्रेषण शाखाले जनाएको छ ।

श्रम स्वीकृति लिएर रोजगारीमा जाने कामदारमध्ये करिब ९० प्रतिशत खाडी मुलुक र मलेसिया जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । आर्थिक वर्ष ०७३÷७४ मा सबैभन्दा बढी रेमिट्यान्स कतारबाट ३१ प्रतिशत भित्रिएको थियो । नेपालले बढी रेमिट्यान्स प्राप्त गर्ने मुलुकमध्ये मलेसिया, साउदी, युएई, र ओमन रहेका छन् । नेपाल हुण्डीमार्फत ३५ प्रतिशतभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । हुण्डीमार्फत रकम पठाउँदा कम खर्च लाग्ने भएकोले पनि धेरै कामदारले हुण्डीमार्फत पठाउने गरेको बताइन्छ । हुण्डीमार्फत सबैभन्दा बढी कोरियाबाट भित्रिने गरेको सरकारको अनुमान छ । कोरिया जाने कामदारलाई अनिवार्य बंैकको खाता भने पनि बंैकमार्फत रेमिट्यान्स नपठाउने गरेको शाखाको भनाइ छ । 

रोजगारीका लागि ११ हजारभन्दा बढीको आवेदन

सन् २०१८ मा रोजगारीका लागि कोरिया जान ११ हजार ८ सय ६० परीक्षार्थीले आवेदन फारम भरेको इपीएस कोरिया शाखाले जनाएको छ । गत जेठमा लिएको भाषा परीक्षामा उत्तीर्ण १२ हजार १ सय ५ जनामध्ये ११ हजार ८ सय ६० ले रोजगार आवेदन फारम भरेको इपीएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए । 

सन् २०१८ का लागि कोरियाको मानव संशोधन विभागले मागेको १० हजार ५ सय कोटामा ७० हजारभन्दा बढी युवा भाषा परीक्षामा सहभागी भएका थिए । भाषा परीक्षा उत्तीर्ण गरेर रोजगार आवेदन फारम भरेकामध्ये मानव संशोधन विभागले स्वीकृति गरेको अन्तिम नामावली इपीएसको रोस्टरमा प्रकाशित भएपछि बल्ल रोजगारदाताले सफल हुनेलाई रोजगारीका लागि अनुमति दिने गरेको छ । सबै प्रक्रियामा पु¥याउने परीक्षार्थीले आगामी फागुनदेखि कोरिया जान पाउने इपीएसले जनाएको छ । सन् २००७ यता रोजगारीका लागि करिब ५० हजार नेपाली कोरिया पुगिसकेका छन् । कोरिया जाने कामदारको मासिक तलब साँढे एक लाखको हाराहारीमा हुने गरेको इपीएस कार्यालय जनाएको छ ।