Date:2018/01/16 |Tuesday

३ नम्बर प्रदेश दूध उत्पादनमा सबैभन्दा धनी

Posted on: January 11, 2018 | views: 26 |

लेखनाथ पोखरेल

काठमाडौं । प्रदेश नम्बर ३ दूध उत्पादनमा सबैभन्दा धनी देखिएको छ । यो प्रदेशमा दैनिक कुल १८ लाख लिटर दूध उत्पादन हुने गरेको छ । सबैभन्दा कम प्रदेश नम्बर ७ मा १ लाख लिटर उत्पादन हुने गरेको छ । त्यस्तै प्रदेश नम्बर १ मा ३ लाख ४८ हजार लिटर र प्रदेश नम्बर २ मा ११ लाख लिटर उत्पादन हुने गरेको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।

त्यसैगरी प्रदेश नम्बर ४ मा ८ लाख लिटर, प्रदेश नम्बर ५ मा २ लाख ९५ हजार लिटर र प्रदेश नम्बर ६ मा ४ लाख लिटर दूध उत्पादन भइरहेको एसोसिएसनका अध्यक्ष सुमित केडियाले जानकारी दिएका छन् । डेरी उद्योगमा पनि प्रदेश नम्बर ३ नै धनी रहेको छ । यहाँ साना र ठूला गरी कुल ६७० वटा उद्योग रहेका छन् भने प्रदेश नम्बर १ मा २९३ वटा उद्योग रहेका छन् । 

प्रदेश नम्बर २ मा कुल १३० वटा उद्योग रहेका छन् भने प्रदेश नम्बर ४ मा १६१ वटा उद्योग रहेका छन् । प्रदेश नम्बर ५ मा ५३ वटा उद्योग छन् भने प्रदेश नम्बर ६ मा घरेलुस्तरका मात्रै १५० वटा उद्योग रहेका छन् । प्रदेश नम्बर ७ मा २०३ वटा उद्योग रहेका छन् । ठूलो उद्योगतर्फमात्रै प्रदेश नम्बर ३ मा सबैभन्दा बढी ३५ वटा उद्योग छन् भने प्रदेश नम्बर २ मा १०, प्रदेश नम्बर १ मा सात, प्रदेश नम्बर ४ मा तीन, प्रदेश नम्बर ५ मा ६, प्रदेश नम्बर ६ मा शून्य र प्रदेश नम्बर ७ मा दुईवटा छन् ।

यसैबीच एसोसिएसनले दूधमा गरिएको त्रुटिपूर्ण मूल्य समायोजनका कारण डेरी उद्योगले घाटा व्यहोर्नुपरिरहेको गुनासो गरेको छ । दुग्ध विकास संस्थानले भित्रभित्रै किसानलाई बढी मूल्य दिएर दूध खरिद गरेका कारण निजी डेरी मर्कामा परेको एसोसिएसनको भनाइ छ । एसोसिएसनका अध्यक्ष सुमित केडियाले संस्थानको बदमासीका कारण डेरी उद्योगले प्रतिलिटर २ रुपैयाँ १४ पैसा घाटा व्यहोर्नुपरिरहेको बताए । 

मूल्य समायोजन गर्दा किसानले ६९ प्रतिशत र डेरी उद्योगले ३१ प्रतिशत मूल्य पाउने गरेका छन् । सरकारले विगत तीन वर्षयता दूधमा प्रतिलिटर ६ रुपैयाँ मूल्यवृद्धि गरेको छ तर संस्थानले भने भित्रभित्रै किसानबाट निर्धारित मूल्यभन्दा बढीमा दूध खरिद गर्ने गरेकाले निजी डेरी उद्योग मर्कामा परेको केडियाले बताए । जसका कारण निजी डेरीले दूधको अभावसमेत व्यहोर्नुपरिरहेको उनको भनाइ छ । 

एसोसिएसनको शुक्रबार आयोजना हुन गइरहेको १९औं वार्षिक साधारणसभा एवं सातौं राष्ट्रिय महाधिवेशनका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष केडियाले दुग्ध क्षेत्रको प्रवद्र्धनका लागि समयसापेक्ष मूल्य समायोजनका साथै नीतिगत सुधारमा जोड दिए । 

डेरी उद्योगको लागत खर्च र कच्चा दूधको गुणस्तरमा थप सुधार, कुशल उत्पादन प्रणाली, प्रशोधन प्रणालीलगायतको प्रविधिलाई किसान तह र उद्योग तहसम्म व्यापकता दिनुपर्ने, डेरी रिसर्च इन्ष्टिच्युटको स्थापना र प्रविधि प्राविधिक सुधार गर्नुपर्ने उनले बताए । सरकारले डेरी उपकरण आयातमा सहुलियत दिँदै आएकोमा डेरी मेसिनरीहरूमा पनि सहुलियत दिनुपर्ने उनको माग छ ।

एसोसिएसनका अनुसार कृषि क्षेत्रको कूल गार्हस्थ उत्पादनमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान रहेको छ भने ४ लाख ५० हजार किसान परिवार आबद्ध रहेका छन् । त्यस्तै २० हजारभन्दा बढीले डेरी उद्योग क्षेत्रमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने दैनिक तीन करोडभन्दा बढी रकम शहरबाट गाउँतर्फ प्रवाह भइरहेको छ । 

डेरी उद्योगमा मात्रै १५ अर्बभन्दा बढीको लगानी छ । कुल ४८ लाख ५० हजार लिटर उत्पादित दूधमध्ये १५ प्रतिशतमात्रै डेरी उद्योगसम्म आपूर्ति हुने गरेको छ भने ३५ प्रतिशत अनौपचारिक रूपमा खपत हुने गरेको छ । किसान स्वयंले भने ५० प्रतिशत खपत गर्ने गरेका छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं