18th November | 2018 | Sunday | 5:46:11 PM

फ्री भिसा र फ्री टिकट कार्यान्वयनमा कमजोरी

  POSTED ON : Friday, 12 January, 2018 (5:23:08 PM)

फ्री भिसा र फ्री टिकट कार्यान्वयनमा कमजोरी

रमेश भारती 

काठमाडौं । रोजगारीका लागि विदेशिने कामदारका लागि सरकारले दुई वर्षअघि लागू गरेको फ्री भिसा र फ्री टिकट कार्यान्वयन हुन नसक्नु राज्यकै कमजोरी भएको सरकारले नै स्वीकार गरेको छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले फ्री भिसा र फ्री टिकट जस्तो महŒवपूर्ण निर्णयबाट वैदेशिक रोजगारीमा जाने कामदार लभान्वित हुन नसक्नुमा राज्यकै निकाय जिम्मेवार भएको हिमालय टाइम्ससँग बताए । 

मन्त्रालयले ढिलै भएपनि वैदेशिक रोजगारीमा जाने कामदारको हकहित र अधिकार सुरक्षा गर्न संस्थागत रूपमै दुई वर्षअघि फ्री भिसा र फ्री टिकटको निणर्य गरेको उनले बताए । राज्यले रोजगारीमा कामदार पठाउनेमात्र नभई ती कामदारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधा रोजगारदाता कम्पनीले दिएको छ कि छैन भनेर कूटनीतिक नियोगमार्फत जानकारी पनि राख्नुपर्ने उनको भनाइ छ । 

मन्त्री मन्सुरले भने, ‘नेपालमा विगत १० वर्षदेखि अस्थिर राजनीतिका कारण महŒवपूर्ण निर्णय भएपनि कार्यान्वयन हुन सकेका छैनन् । अब राजनीतिक परिवर्तन भइसकेकाले आर्थिक र अन्य विषयमा केन्द्रित भएर राज्यले काम गर्नुपर्छ । १० वर्षमा सरकारले गरेका निर्णय संस्थागत गर्दै अघि बढ्नुको विकल्प छैन । नेपालमा वैदेशिक रोजगारका समस्या आजकोमात्र नभई चार दशकदेखि समस्या रहेको उनले बताए । फ्री भिसा र टिकटका विषयमा सरकार र व्यवसायीबीच दुई वर्षदेखि विवाद कायमै छ । 

व्यवसायी सरकारले फ्री भिसा र टिकटको निर्णय फिर्ता लिनुपर्ने माग गर्दै आएका छन् । कुनै हालतमा फ्री भिसा र टिकटमा कामदार रोजगारीमा विदेश पठाउन नसकिने उनीहरूको भनाइ छ । तर श्रम तथा रोजगार मन्त्रालयमा सत्ता परिवर्त नै पिच्छे आउने नयाँ मन्त्रीले फ्री भिसा र टिकट कार्यन्वयनको विषयलाई शपथग्रहणसँगै अघि सार्ने गरेको पाइन्छ । सरकारले खाडीका सात र मलेसिया आठ मुलुकमा फ्री भिसा र टिकट २०७२ साल साउन १ गतेबाट लागू गर्ने निर्णय गरेको भएपनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । 

दुई वर्षमा रोजगारीको खोजीमा १२ लाखभन्दा बढी बाहिरिएका छन् । त्यसो त रोजगारीका लागि गएका कामदार हेर्दा फ्री भिसा र टिकटमै गएको पाइन्छ । वैदेशिक रोजगार व्यवसायीले सरकारले तोकेको दरमै कामदार पठाएको विवरण वैदेशिक रोजगार विभागमा बुझाउने गरेका छन् । श्रम तथा रोजगार मन्त्रालयमा वितग दुई वर्षमा चार मन्त्री, चार सचिव र चार महानिर्देशक परिवर्तन भएपनि समस्या उस्तै छ । 

युएई कतार र ओमनसँग छिट्टै श्रम सम्झौता 

श्रम तथा रोजगार मन्त्रालयले रोजगारदाता मुलुक युएई, कतार र ओमनसँग दोहोरो श्रम सम्झौताका लागि अन्तिम तयारी भइरहेको जनाएको छ । युएई कतार र ओमनसँग श्रम सम्झौताको मस्यौदा परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा पठाइसकेको मन्त्रालयले जनाएको छ । दोहोरो श्रम सम्झौता गर्ने बिषयमा सम्बन्धित रोजगारदाता देश पनि सकारात्मक रहेकाले छिट्टै टुंगो लाग्ने श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवन प्रसाद आचार्यले बताए ।

नेपालले पछिल्लो १२ वर्षमा जम्मा सातवटा रोजगार देशसँगमात्र श्रम सम्झौता गरेको छ । कानुनीरूपमा वैदेशिक रोजगारीमा १ सय १० मुलुक खुला गरिए पनि २००५ देखि हालसम्म सातवटा मुलुकसँग मात्र श्रम सम्झौता गरेको हो । मन्त्रालयका अनुसार हालसम्म कतार, बहराइन, युएई, जोर्डन, दक्षिण कोरिया, जापान र इजरायलसँगमात्रै श्रम सम्झौता भएको छ भने ओमन, कुवेत र लेबनानसँग कामदार लिने विषयमा सम्भौता भएको छ । 


Views: 77