25th May | 2018 | Friday | 9:30:09 PM

युएईमा नेपालीलाई सामान्यदेखि आजीवन कारावाससम्म

रमेश भारती   POSTED ON : Thursday, 08 February, 2018 (3:41:40 PM)

युएईमा नेपालीलाई सामान्यदेखि आजीवन कारावाससम्म

काठमाडौं । वैदेशिक रोजगारीमा युएई गएका नेपाली कामदारलाई विभिन्न अभियोगमा युएई सरकारले सामान्यदेखि आजीवन कारवाससम्मको जेल सजायसहित जरिवाना  तोक्ने गरेको छ । युएईस्थित नेपाली दूतावासले युएईका विभिन्न जेलमा रोजगारीका लागि गएका कामदारको अवस्था बुझ्न गरेको भ्रमणका क्रममा यस्तो तथ्य पत्ता लागेको जनाएको छ । दूतावासले गत हप्तादेखि युएईका विभिन्न जेलमा नेपाली कामदारका मुद्दा र उनीहरूमाथि लागेका अभियोगको विवरण संकलन गरिरहेको छ । दूतावासले युएईको कानुन मन्त्रालय र अध्यागमन विभागको सहयोगमा जेलको निरीक्षण गरिरहेको जनाएको छ । नेपाली कामदारमाथि लागेका आरोप वा मुद्दाका विषयमा दूतावासले गर्न सक्ने कानुनी सहजीकरणका लागि योजना बनाउन यस्तो अभियान सुरु गरिएको दूतावासको भनाइ छ । 

युएईका सातवटा र इमिरेट्सका आठवटा जेल पुगेर दूतावासले कैदी जीवन बिताइरहेका नेपाली कामदारमाथि लागेका मुद्दाको विषय र कामदारमाथि लागेको अभियोगका बारेमा जानकारी लिइरहेको दूतवासका द्वितीय सचिव कृष्ण अर्यालले जानकारी दिएका छन् । स्थलगत भ्रमणका क्रममा नेपाली कामदारले सामान्य चोरीदेखि ज्यान मार्नेसम्मको सहयोग गरेको अभियोगमा कैदी जीवन बिताइरहेको तथ्य भेटिएको अर्यालले बताए । उनले भने, ‘धेरै नेपाली कामदारले मादकपदार्थ सेवन गरी नासमा अनुमतिबिना अपचिरित व्यक्तिका घर अथवा कोठामा प्रवेश गरी सामान तोडफोड गरेको’ नेपाली कामदारले खुला स्थानमा मादक पदार्थ सेवन, झैझगडा र अरुको उक्साहटमा लागेर अन्जानामा जेल पर्ने गरेको सचिव अर्यालले बताएका छन् । 

युएईका धेरै जेलमा रहेका नेपाली कामदारले ब्लडमनि कुरिरहेको दूतावासले जनाएको छ । युएई सरकारले सामान्यदेखि ज्यान मारेका मुद्दामा पनि ब्लड मनीको जरिवाना तोक्ने कानुनी व्यवस्था छ । युएईका विभिन्न अभियोगमा एक हजारभन्दा बढी नेपाल जेलमा रहेको दूतावासले जनाएको छ । युएईमा एकसयभन्दा बढी नेपाली कामदारलाई सजाय स्वस्प ब्लडमनि तोकिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार जेलमा रहेका धेरै नेपालीसँग पहिचान खुल्ने परिचयपत्र पनि छैन । रोजगारीका लागि युएई पुगेका धेरै महिलाले पनि जेल जीवन बिताइरहेका दूतावासले जनाएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले चालु आर्थिक वर्षदेखि विदेशमा कैदी जीवन बिताइरहेका कामदारलाई कानुनी परामर्शका लागि सहयोग सुरु गरेको थियो । जसअनुसार कानुनी परामर्शमार्फत् जेल जीवन बिताइरहेका कामदारको उद्धार गर्न सहयोग पुग्ने बोर्डले जनाएको छ । युएईमा धेरै नेपाली कामदारले भिसा नवीकरण नगरी काम गरिरहेका कारण पनि जेलमा पर्ने गरेको दूतावासले जनाएको छ ।   

कार्यवाहक राजदूत सागरप्रसाद फुयालको नेतृत्वमा जेलको स्थलगत निरीक्षण भइरहेको दूतावासले जनाएको छ । निरीक्षणमा श्रम काउन्सुलर भेषबहादुर कार्की, द्वितीय सचिव कृष्ण अर्याल, श्रम सहचारी मोतिराम भुसाल, सेक्रेटरी आनस मोहमद मेहदीसहितको टोली रहेको छ । जेलको निरीक्षण सकिएपछि प्रतिवदेन तयार पारी श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालय बुझाइने दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयले गत माघ १० गते विदेशस्थित सबै नेपाली नियोगलाई पत्राचार गरेर रोजगारीका लागि गएका कामदार सम्बन्धित मुलुकमा कति जेलमा छन् भनी अवस्था र विवरण संकलन गर्न निर्देशन दिएको थियो ।