17th October | 2018 | Wednesday | 6:21:52 PM

नेपालमै पहिलोपटक चियाको गणना हुँदै

लेखनाथ पोखरेल   POSTED ON : Friday, 09 February, 2018 (4:55:15 PM)

नेपालमै पहिलोपटक चियाको गणना हुँदै

काठमाडौं । सरकारले नेपालमै पहिलोपटक चियाको गणना सुरु गरेको छ ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शुक्रबारदेखि गणनाको काम सुरु गर्ने भएको हो । बोर्डले केन्द्रीय तथ्यांक विभाग र उन्नति परियोजनासँगको सहकार्यमा देशभर सञ्चालन रहेका चिया बगान र चिया कारखानाको गणना सुरु गरिने जानकारी दिएको छ । उन्नति परियोजनाले नेपाली अर्थोडक्स चियाको प्रवद्र्धनमा काम गर्दै आएको छ ।

बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार चिया गणनाका लागि ४० जना कर्मचारी टोली सम्बन्धित क्षेत्रमा खटाइसकिएको छ । गणनामा एक रोपनीभन्दा बढी चिया रोपण गरेका चिया किसान, चिया बगान र चिया कारखानालाई समावेश गरिने उनले जानकारी दिए ।

उत्पादनको अवस्था, अर्गानिक उत्पादन, रोजगारी, चियामा आबद्ध किसान, मूल्य, बजारीकरण, क्षेत्रफललगायत विषयमा किसानको घरदैलोमै गएर कर्मचारीले मोवाइल एप्समार्फत लगत लिने कार्यकारी निर्देशक गौतमले हिमालय टाइम्सलाई बताए । उनले भने, ‘कर्मचारीहरू हरेक दिन बिहानदेखि बेलुकासम्म फिल्डमा खटिनेछन् । एकदिनमै १५ देखि २० जना किसानको गणना हुने र गणनामा सफ्टवेयर प्रयोग गरिने भएकाले छिटो हुनेछ, सम्भवतः एकमहिनाभित्रमै गणना सकिने अपेक्षा गरिएको छ ।’ गणकहरूका लागि बुधबार झापामा तालिमसमेत सञ्चालन गरिएको उनले जानकारी दिए । 

गणनापछि चिया क्षेत्रको वास्तविक तथ्यांक आउनले भएकाले चिया क्षेत्रको विकास र विस्तारका लागि योजना बनाउन सहयोग पुग्ने उनको भनाइ छ । त्यसो त चिया क्षेत्रको गणनाका लागि बोर्डको कुनै पूर्वतयारी थिएन, तथ्यांक विभागले चियाको गणना गर्न लागेको थहा पाएपछि बोर्डले पनि सहकार्य गरेको हो । चियाको तथ्यांक संकलन बोर्डको जिम्मेवारी भएकाले तथ्यांक विभाग र उन्नतिसँगको सहकार्यमा गणनाको काम अघि बढाइएको बोर्डका कार्यकारी निर्देशक गौतमले बताए ।  

नेपालमा चियाखेतीको सुरुवात विसं १९२० देखि भएको थियो । विसं २०२३ सालमा नेपाल चिया विकास निगमको स्थापनापपछि व्यवसायिक चियाखेतीले मूर्तरूप लिएको हो । तत्कालीन राजा वीरेन्द्रले विसं २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमलाई चिया क्षेत्र घोषणा गरेसँगै चिया विस्तारमा उल्लेखनीय प्रगति भएको बताइएको छ । बोर्ड ऐन २०४९ अन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापनापछि भने चिया उद्योगले व्यापकता पाउँदै गएको अधिकारीले बताएका छन् । 

आव २०७२/७३ को तथ्यांकअनुसार २७ हजार ६ सय ८८ हेक्टर क्षेत्रफलमा चियाखेतीको विस्तार भएको छ । पछिल्लो समय दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङसमेत चियाखेतीको व्यापक विस्तार भएको वोर्डको भनाइ छ । पछिल्लो तथ्यांकअनुसार २ करोड ४२ लाख केजी तयारी चिया उत्पादन भएको छ । त्यसमा १ करोड ८४ लाख केजी सिटिसी तथा ५८ लाख केजी र्थोडक्स चिया रहेको छ । 

बोर्डका अनुसार नेपालबाट वार्षिक दुई अर्ब ४० करोड मूल्यबराबरको १३ हजार टन चिया निर्यात हुन्छ । आव २०७२/७३ मा २ अर्ब ४० लाख रूपैयाँबराबरको १३ हजार २ सय ८९ मेट्रिकटन चिया निर्यात भएको थियो । कुल क्षेत्रफलमध्ये १२ हजार ९ सय ५६ हेक्टरमा साना किसानतर्फको खेती विस्तार भएको छ भने साना चिया किसानको संख्या करिब १५ हजार पुगेको छ । हाल तराईमा २७ वटा सिटिसी चिया प्रशोधन केन्द्र, पहाडमा २८ वटा ठूला तथा मझौला अर्थोडक्स चिया प्रशोधन केन्द्र र ६५ वटा लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा रहेका छन् । 

चिया क्षेत्रले करिब ६० हजार श्रमिकलाई प्रत्यक्ष रोजगारी दिएको छ । वोर्डले चिया क्षेत्रको प्रवद्र्धनका नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क दर्ता, चियाको हरियोपत्तीको मूल्य निर्धारण, चियाको गुणस्तर नियन्त्रणलगायतमा जोड दिँदै आएको छ । सरकारी, निजी, सहकारी तथा दातृ निकायको संयुक्त प्रयासमा स्थापना भएका र हुने क्रममा रहेका चिया प्रशोधन केन्द्रले चियाको औद्योगिक एवं व्यावसायिक मूल्य श्रृंखलाको विकासमा योगदान दिने बोर्डको अपेक्षा रहेको छ ।

नीतिगत सुधारतर्फ नेपाल व्यापार एकीकृत रणनीति (एनटीआइएस) र कृषि विकास रणनीति (एडीएस) को मार्गनिर्देशन र कार्यक्रम अनुकुल हुने गरी चिया क्षेत्रको विकासका लागि दीर्घकालीन रणनीतिक योजना तथा नीतिगत सुधार गर्दै जाने बोर्डका कार्यकारी निर्देश गौतमले बताएका छन् ।


Views: 7